साहित्य

मान्छे हरायो कता ?

शम्भुप्रसाद निरौला 'दुर्गम' |
असार २२, २०८१ शनिबार ७:४५ बजे

देखिन्छन् बटुवा खचाखच सधैं पाइन्न बाटो पनि।
भेटिन्छन् नटुवा भटाभट यतै खोजिन्न को हो भनी।।
साह्रै शून्य उराठ लाग्छ किन हो ? नैराश्य झन् झन् यता।
मान्छेकै मन भित्र-भित्र रहने मान्छे हरायो कता ?

नौला काम भए धमाधम यहीँ सर्वत्र भो सुन्दर।
आविष्कार भए हजार थरिका संसार भो भर्भर।।
माया प्रेम बढ्यो जनावरसँगै सद्‌भाव जागो यता।
सच्चा भाव बगाउने मन दिइ मान्छे हरायो कता?


भाँचिन्छन् मनका टुसा विरहले जोगाउने को छ र?
काटिन्छन् दिलका मुना दिनदिनै हेर्ने यहाँ को छ र?
पीडा दर्द छरी रुँदै मनभरी बस्ने सयौं छन् यता।
हामी मानव हौं भनेर चिनिने मान्छे हरायो कता?

स्वार्थै स्वार्थ छ यो विशाल भवमा खै जोगिने के गरी?
धोका शौम्य बनेर घुम्दछ यहीँ हेर्नै नसक्ने गरी।।
कालो लोलुपता रहन्छ सबमा सद्‌भाव भो बेपता।
मान्छेका दिलमा सदैव रहने मान्छे हरायो कता?

खोजौँ खै कुन देशमा म कसरी ‘विश्वास’ भागेछ है।
छैनन् शान्ति अरे गइन् कुन दिशा टुङ्गो हराएछ है।।
सोधौँ को सँग खै ? गएर कसरी ? आफैँ भएँ बेपत्ता।
बाँचौं विश्व बनाउँदै भनिदिने मान्छे हरायो कता?

निरौलाका यसअघिका कविताहरू


Author

थप समाचार
x