साहित्य

अर्कै चुनौंला बरू

शम्भुप्रसाद निरौला 'दुर्गम' |
पुस १०, २०८० मंगलबार ८:१३ बजे

धेरै खर्च भयो परिश्रम गयो सम्पूर्ण हामी जुट्यौं,
लागि नै परियो चुनाव गरियो सद्भाव बाँडी छुट्यौं,
सोचेथ्यौं अब त विकास पथका खोल्छन् । कि बाटा हरू,
खोलेनौ अब फर्क, संसद्‌महां अर्कै चुनौंला बरू  ।१ ।

पुग्छन् संसद्‌मा र सांसदहरू नीति नयाँ ल्याउलान्,
हाम्रा पीर, व्यथा कथा विरहका खोजेर निम्ट्याउलान्,
भन्ने सोच थियो भएन तर खै !बाटो समायौ अरू,
भो भो भो अब फर्क, संसद्‌महां अर्कै चुनौंला बरू ।२ ।


बिर्स्यौ राष्ट्रियता र राष्ट्र दिलको संस्कार नै बिर्सियौ।
आफ्नो रितिरिवाज चाड घरका माता पिता बिर्सियौ।
उल्टै राष्ट्र फुटाउनेतिर गयौ रैछौ फटाहाहरू  ।
लौ लौ लौ अब फर्क,  संसद्‌महां अर्कै चुनौंला बरू  ।३ ।

आफ्नो इज्जतको विचार नगरी यो देश चुस्ने तिमी  ।
मान्छे हौ ? पशु हौ ? कि दानव ? कि वा हौ देशघाती ? तिमी  ।
केही लाज शरम् रहेनछ हरे !आफन्त रोलान् बरू !!!
लाजै भो अब फर्क,  संसद्‌महां अर्कै चुनौंला बरू  ।४ ।

तिम्रो नैतिकता कतातिर गयो देखाउँछौ के मुख ?
एस्तो भ्रष्ट, गवांर सांसद हुँदा पाइन्न कैल्यै सुख ।
नेता भैकन के गर्‍यौँ भन तिमी दृष्टान्त केही अरू  ।
साँच्चै हो अब फर्क, संसद्‌महां अर्कै चुनौंला बरू  ।५ ।

छौ आफैं मतिहीन थुक्क ! कसरी थर्कांउँछौ संसद्‌ ।
हौ नालायक, भ्रष्ट, दुष्ट, छिचरो, पापिष्ठ हे सांसद !
भ्रष्टाचार गरेर देश अहिले बन्दैछ बाचूँ-मरूँ !!
लाछि हौ अब फर्क, संसद्‌महां अर्कै चुनौंला बरू ।६ ।

हाम्रो संसद्‌ हो पवित्र यसले विश्वासको केन्द्र हो ।
आस्था केन्द्र हुँदा र भ्रष्ट नहुँदा यो देशको केन्द्र भो ।
भो भो भो अब झन् नपार बिटुलो विश्वास मर्ला अरू  ।
भन्दैछौं अब फर्क , संसद्‌महां अर्कै चुनौंला बरू  ।७ ।

हाम्रो संसद्‌ यो महान छ सधैं विद्वान बस्ने थलो  ।
हाम्रो संसद्‌ नीति को घर हुँदा कानून जन्मस्थलो ।
आऊन् विज्ञ यहाँ सुपात्र गतिला नीतिज्ञ नेताहरू  ।
जाली छौ अब फर्क , संसद्‌महां अर्कै चुनौंला बरू  ।८ ।

गंवार   :  असभ्य,मूर्ख
छिचरो :   निर्लज्ज
लाछी.  :   नामर्द
जाली.  :   कपटी


Author

थप समाचार
x