साहित्य

भर्चुअल माध्यमबाटै लिटरेचर फेस्टिबल

अनिष भट्टराई |
पुस ४, २०७७ शनिबार १८:३३ बजे

पोखरा : ‘प्रत्येक वर्ष, उही अनुहार, उही विषय’ नेपाल लिटरेचर फेस्टिबलमाथि यस्तै आलोचना लगाइन्थ्यो । तर, यस संस्करणमा भने आयोजक बुकवर्म फाउन्डेसनले त्यस्ता आलोचना नआउने गरी युवालाई प्राथमिकता दिएर महोत्सव चलाउने भएको छ । 

महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र युवा वक्तालाई राजनीति, साहित्य एवमं समाजका अन्य पाटासँग जोडेर कार्यक्रम गर्ने भएको हो । तपाइँहरुले खेपेका आरोपहरु केके हुन् ? महोत्सवका निर्देशकलाई अजित बराललाई प्रश्न गर्दा भन्छन्, ‘हामी सक्दो समावेशी भएर कार्यक्रम चलाउँछौं, तापनि समावेशी नभएको, वक्ता दोहोरिएको, सानो वृत्तको वक्ता ल्याएको भनेर आलोचना गरिन्छ ।’ 


बराल यस संस्करण पहिलाका संस्करण भन्दा धेरै फरक हुने र वक्तामा धेरै युवा समेटिएको बताउँछन् । बराल तथा आयोजक बुकवर्मले अहिले युवालाई प्राथमिकता दिएपनि प्रत्यक्ष मञ्चमा भने देखाउन पाउने छैनन् । यस संस्करण कोभिड महामारीलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट गरिनेछ । 

पुराना साहित्यकार तथा अन्य वक्ता यस संस्करणमा दोहोरिएका छैनन् । केबल ‘चलाउन मात्र चलाउने’ भन्दा पनि यसवर्ष धेरै पृथक तरिकाले आयोजना गरिने बरालको भनाइ छ । ‘खासमा कोरोना कालमा निरन्तरता दिनुनै गाह्रो कुरा थियो, तापनि हामी चलाउन मात्र चलाउँदैनौं, पृथक विषय र वक्ता हामीमाझ हुनेछन्,’ बरालले भने । 

आफूहरुले खेपेका आलोचना पूर्णतः मेट्ने गरी यस संस्करणका योजना बनाएको बराल बताउँछन् । ‘काम गर्दा आलोचना आउनु स्वभाविक हो, तर हामी आलोचना भन्दा पनि एउटा संस्कृतिको विकास गर्न सकेकोमा बढी गर्व गर्छौं,’ बरालले भने । आफूहरुसँग उनी ठोस उपलब्धि देखाउन तथ्यांक नभएपनि पठन संस्कृतिको विकासमा धेरै प्रभाव पारेको उनको अनुभव छ ।

लेखकलाई पाठकसँग ‘कनेक्ट’ गराउन महोत्सव प्रभावकारी भएको र महोत्सव विचार उत्पादनको थलो बनेको बरालले बताए । ‘यो विचारको थलो पनि हो, तपार्इँ महोत्सव जानुहुन्छ, त्यहाँ वक्ताको विचारले हजुरको विचार बन्छ, नयाँ विचार मन्थन हुन्छन्,’ बराल भन्छन्, ‘प्रजातान्त्रीक बहस पद्धति पनि बढाएको अनुभव हाम्रो छ ।’

यस संस्करणमा स्थापित भन्दा पनि उदाउँदा सर्जकलाई ठाउँ दिइएको आयोजकको दावी छ । पर्यटकीय सहर पोखरामा साहित्यको पनि उर्वर भूमि बन्न सक्ने बराल बताउँछन् । ‘यो महोत्सव यस्तो हो, जहाँ लेखक, सर्जक भेटिन्छ, उनीहरुको बहसले पठन संस्कृति र लेखन संस्कृति बढाउँछ,’ बरालले भने । 

पोखरालाई साहित्यिक पर्यटनको सहरका रुपमा चिनाएको नेपाल लिटरेचर फेस्टिबल पुस १४ र १५ गते आयोजना हुँदैछ । पुस १३ मा फेस्टिबलको शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदिप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुनेछ । यसअघि ५ दिनसम्म चल्ने लिटरेचर फेस्टिबल यस वर्ष भने कोरोनाका कारण २ दिनमात्र आयोजना हुनेछ । 

२०११ मा काठमाडौंमा सुरु भएको महोत्सव २०१६ देखि पोखरामा हुँदै आएको छ । यसअघिका संस्करण लेकसाइडमा हुने गरेकोमा यस संस्करण सराङकोटमा आयोजना हुने छ । सर्वसाधारणको उपस्थिति बिना आयोजक पक्ष सराङकोटमा रहने र भर्चुअल रुपमा महोत्सव चलाइने महोत्सवका कार्यकारी निर्देशन नीरज भारीले बताए । 

‘हामीले स्वास्थ्य प्रोटोकल अपनाएर सामाजिक दूरी कायम गर्न सराङकोटबाट भर्चुअल गर्नेछौं,’ महोत्सवबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा भारीले भने, ‘कोठाभित्र बसेर गर्नुभन्दा पृष्ठभूमिमा हिमाल राखेर कार्यक्रम गर्दा पोखराकै प्रवद्र्धन पनि हुन्छ ।’

विगतका वर्षमा आफूहरुलाई आर्थिक रुपमा धेरै समस्या परेपनि अहिले प्रदेश र महानगरले अपनत्व लिएको भारीको भनाइ छ । ‘संघीयता आएपछि प्रदेश र महानगरले पनि हामीलाई सहयोग गर्न बजेट नै छुट्याउनु भएको छ,’ भारीले भने ।

आयोजक पक्षकै र्‍याण्डम रिडर्स कर्नरका अध्यक्ष केशव शरण लामिछानेले पोखरालाई साहित्य जात्राका सहरमा चिनाउन लागिएको बताए । महोत्सवले पोखरालाई पर्यटकीय सहरको मात्र नभई साहित्य जात्राको सहरका रुपमा स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो । 

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । 

यस संस्करणमा उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, राजकुमार बानियाँ, निश्चल बस्नेत, आयुसी केसी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्री किरण गुरुङ, यज्ञश, निरन्जन कुँवरलगायत वक्ता उपस्थित हुनेछन् । 


Author

थप समाचार
x