शरद शृंखला
इन्द्रबहादुर राईको तेस्रो लीला
इन्द्रबहादुर राई (आईबी सर) लाई नजिकबाट चिनेको ढोङ गर्दिनँ म । किनकि, उहाँलाई आत्मीय रूपमा चिनेको पक्कै होइन । सानै उमेरदेखि सरलाई देखे पनि बोल्न डर लाग्थ्यो हामीलाई । अलिक गम्भीर स्वभावको भएर पनि होला, बोल्न हिचकिचाउँथ्यौँ हामी । तर उहाँकै समकालीन राजनारायण प्रधान चाहिँ साथी जस्तो ।
करिब ३० वर्षअघि सरको लोचनगरपथस्थित निवासस्थानमा गएको थिएँ । काठमाडौंको कुनै पत्रिकाका निम्ति अन्तर्वार्ता भनेर एकजना लेखकले पठाएका प्रश्न बोकेर । पुस्तकै पुस्तकले घेरिएर बसेका सरसँग भलाकुसारी भए, एक घण्टा जति । सरले क्वान्टम सिध्दान्तको कुरा गरे, शून्यवादको चर्चा गरे, बौध्द दर्शनको व्याख्या गरे, नौलो साहित्यिक सिध्दान्तको परिचर्चा गरे । करिब एक घण्टा बितेको थाहा नै भएन तर मैले आधा कुरा मात्र बुझेँ । हुन पनि ती कुरा बुझ्ने क्षमता ममा थिएन त्यसबेला, अहिले पनि कमै छ । छरपस्टिएका किताबहरूमा मैले जे कृष्णमूर्तिदेखि जेन पल सात्र्को किताब देखेँ ।
दोस्रो भेट भयो, सर जगदम्बाश्री सम्मान लिन काठमाडौँ आउँदा कमलमणि दीक्षितज्यूको निवासमा । म र लेखक पिटर जे. कार्थक भेट्न गएका थियौं । पुराना कुरा गरे उनीहरूले दार्जिलिङको । म सुनिरहेँ केवल । तेस्रो पल्ट जम्काभेट भयो, सन् २०११ मा आयोजित पहिलो नेपाल लिटरेचर महोत्सवमा । आईबी सर थिए, प्रमुख वक्ता । अनि उहाँको परिचय दिने काम देवेन्द्र भट्टराईलाई सुम्पिएको थियो । तर त्यो दिन नेपाल बन्द भएकाले देवेन्द्र कार्यक्रममा आउन सक्नुभएन । अब परेन फसाद ! आयोजकका तर्फबाट लेखक शेखर खरेलले मलाई गुहारे । नाइँ पनि भन्न सकिनँ । १५ मिनेटको समयमा मैले आईबी सरको सानो परिचय तयार पारेँ अनि त्यही बोलेँ ।
त्यसपछि सुरु भयो, आईबी सरको धाराप्रवाह प्रवचन । सबैजना मन्त्रमुग्ध । अहिलेसम्म नेपाल लिटरेचर महोत्सवमा सुनेको प्रवचनमा यतिको राम्रो, मीठो र ओजपूर्ण कुनै लागेको छैन मलाई । पाश्चात्य साहित्य र दर्शन अनि नेपाली साहित्यबारे उनले दिएको लामो व्याख्यानले सबैलाई आश्चर्यचकित पार्यो । उनको साहित्य, संगीत, दर्शन, चित्रकलासम्बन्धीको ज्ञानले सहभागीलाई चकित पारेको थियो ।
आईबी सर लीला लेखन जस्तै लाग्छ मलाई । कसैका निम्ति उहाँ समालोचक हो भने कसैका लागि तेस्रो आयाम र लीला लेखनको प्रवर्तक । कसैका निम्ति आज रमिता छ को उम्दा उपन्यासकार हो भने, कसैको निम्ति दुरुह कथाकार । ऊर्जावान् निबन्धकार त उहाँ हो नै, एक कुशल सम्पादक पनि हो । सरल व्यक्तित्वका धनी, मधुर स्वरमा कठिन विषयमा बोल्न सक्ने सरस मान्छे ।
सन् ६० को दशकमा आईबी सरले दुई चरणमा आफूलाई व्यस्त राखे । पहिलो चरणमा कुमार प्रधान र राजनारायण प्रधानसँग मिलेर बौध्दिक कसरत गरे । नेपाली साहित्य परिषद् खोले, आईबी सर अध्यक्ष, कुमार सर उपाध्यक्ष अनि राजनारायण सर महासचिव बने । सरले परिषद्कै ब्यानरमा २०२६ सालमा भानुभक्तको शतवार्षिकीमा भानुभक्तका कृति : अध्ययनहरूजस्ता मानक कृतिको सम्पादन गरे जुन कार्य भानुभक्तमाथि गरिएका सबैभन्दा गहन र बृहत्तर अध्ययन थियो ।
आईबी सरको धेरैजसो पुराना कृतिहरूमा कुमार प्रधान वा राजनारायण प्रधानले भूमिका लेखेका छन् । परिषद्ले नै प्रकाशित गरेको इन्द्रबहादुर राई सरको कथास्था कथा एवं निबन्ध संग्रहको (सन् १९७२) भूमिकामा राजनारायण प्रधान लेख्छन्, ‘श्री इन्द्रबहादुर राई आधुनिक नेपाली साहित्यका निर्माताहरूमा अन्युतम छन् । साहित्यमा उनको योगदान एक कथाकारका रूपमा मात्र होइन, तर नेपाली भाषालाई नयाँ शक्तिले उज्याल्नमा, त्यसलाई विशेष अभिव्यक्ति गाम्भीर्य प्रदान गर्नमा उनले जुन भगीरथ प्रयत्न गरेका छन्, त्यसका निम्ति नेपाली भाषी साहित्यकारहरू उनका ऋणी रहनेछन् ।’
समालोचनामा पनि अब्बल साबित भएका इन्द्रबहादुर राई सर नेपाली भाषालाई दिएको प्रथम भारतीय साहित्य अकादमी पुरस्कार पाउने पहिलो व्यक्ति थिए अनि कृति थियो नेपाली उपन्यासका आधारहरू । सन् १९७४ मा प्रकाशित यो कृति पनि नेपाली साहित्य परिषद्ले नै छापेको थियो । यस कृतिको भूमिकामा कुमार प्रधान लेख्छन्, ‘पाठकलाई यी समालोचनामा आकृष्ट गर्ने अर्काे वस्तु हुुन्छ, राईज्यूको भाषा । टिपेका टिप्पणीमा प्रयुक्त भाषा रमणीय छ, तर यहाँ प्रयुक्त भाषा बहुपक्षी विचारसँगै परिपक्व र आयामिक छ । उहाँ पाठकलाई आफूसँग घोरिन लगाउनुहुन्छ ।
नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउने काममा आईबी सरको ठूलो भूमिका छ ।
यस्तै भाषा प्रयोग भएर यहाँ शब्दशब्दमा अल्मलिँदै, त्यसलाई नियाल्दै त्यो शाब्दिक भूमि प्रदेशलाई अघि बढ्छौँ । यसरी नियाल्दा हामी आविष्कार गर्छौँ, अनेक स्थान उहाँको भाषा अनेकार्थी भएको । शब्द, अर्थ, बाहुल्यको पाउँछौँ र प्रयुक्त भाषाले बोधका आयाम निर्देश गर्छ । दृष्टिकोण र भाषा प्रयोगको मौलिकतामा राईज्यूको आफ्नै समालोचना प्रणाली जन्मेको छ । नेपाली समालोचनालाई यो उहाँको देन हो ।’ यो पुस्तकले नेपाली साहित्यमा लेखिएका १२ वटा किताबलाई सिध्दान्तका आधारमा समालोचना गरेको छ । यो किताब नेपाली साहित्यको समालोचना विधामा मानक पुस्तकका रूपमा लिइएको छ ।
इन्द्रबहादुर राई, कुमार प्रधान र राजनारायण प्रधान (इकुरा)ले जति नेपाली साहित्यमा बौध्दिक चिन्तन र चेतना प्रयोग गरे, त्यो दार्जिलिङमा सायदै अरूले गरे होलान् । तेस्रो आयाममा होमिए पनि आईबी सर, कुमार सर र राजनारायण सरसँग सहकार्य गरिरहे । नेपाली नाटक, जनजीवन, संस्कृति र परम्परामाथि सबैले बुझ्ने लेख लेखिरहे ।
आईबी सरको दोस्रो ‘टर्निङ पाइन्ट’ हो, तेस्रो आयाम । मेरो जन्म हुनुभन्दा एक वर्षअघि सुरु भएको आयामेली आन्दोलन आईबी सरको नवीनतम सोच, नयाँपनको खोज र गहन अध्ययनको उपज थियो । सन् ६० को दशकमा दार्जिलिङमा लेखिने कवितामा प्रायः भावुकता, जागरण र जातिवाद धेरै बाहुल्य थियो ।
कवि अगमसिंह गिरी, नरेन्द्र कुमाई, तुलसीबहादुर क्षत्री, गुमानसिंह चाक्लिङ, भीम थापा, बुध्दकुमार मोक्तान, सावित्री सुन्दास, सानुमती राई, भाइचन्द प्रधान, कवि ध्रुव, कवि वीरेन्द्र आदिका कविताहरूमा गहनता र सम्पूर्णताको अपूर्णता पाएर होला, आईबी सरले ईश्वर बल्लभ र वैरागी काइँलासँग सहकार्य गरी तेस्रो आयाम सुरु गरे सम्पूर्णता लेखौँ भनेर । तेस्रो आयामका त्रिमूर्तिमध्येका एक उनी आयामेली आन्दोलनका प्रणेता मात्र थिएनन्, वास्तवमा आयामेली आन्दोलनका धरोहर पनि थिए ।
त्यसको वैचारिक व्याख्या गर्न सक्ने क्षमतावान् व्यक्तित्व थिए । उनको सुरुवाती कथा लेखन अंग्रेजी लेखक समर सेटमबाट प्रेरित भए पनि तेस्रो आयामपछि कथा लेखनमा वस्तुता र सम्पूर्णता समेटिएको छ । आयामिक लेखनसम्बन्धी आइबी सरको एउटा लेख सन् १९६६ मा रूपरेखामा छापिएको थियो । उनी लेख्छन्, ‘सम्पूर्ण मानिसको एक प्रक्षेप हो, आधुनिक मानिस । आधुनिक मानिस एउटा व्यावहारिक परिचय, सम्पूर्ण मानिस दार्शनिक धारा हुन्छ ।’
तेस्रो आयाम पत्रिकाको प्रथम सम्पादकीयमा आईबी सर लेख्छन्, ‘अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो । र, अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ । दुःख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दुःख पाएको कथा वा कवितामा मात्र सीमित नरहोस् । त्यसले उठ्न सकेर त्यो टुक्रा कुराको पछि विशाल विचार बसेको होस् । उँभोतिर एउटा दर्शनको आकाश टांगियोस्, त्यो एउटा टुक्राले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो । त्यो ‘मात्र’ भन्दा धेरै धेरै ‘अरू’ कुरा होस् । यही ‘धेरै’हरू हो- तेस्रो आयाम ।’
प्रबुध्द समालोचक एंव कवि गुमानसिंह चामलिङले सिक्किममा आयोजित तेस्रो आयामको रजत जयन्ती कार्यक्रम ‘आयामेली लेखन’माथि बोल्दै भन्नुभएको थियो, ‘तेस्रो आयाम लेखन परम्पराले दार्जिलिङको रोमान्टिक साहित्यधारालाई बदल्ने ठूलो भूमिका खेलेको छ । त्यसबेला बौध्दिकताको पक्षमा उहाँहरूले जुन योगदान दिनुभयो, त्यो स्तुत्य छ, अभिनन्दनीय छ ।’ तेस्रो आयाम सुरुआती दिनहरूमा चामलिङ यसको कट्टर विरोधी थिए । त्यही कार्यक्रममा चामलिङले नबुझेर आलोचना गरेकामा क्षमा माग्नुभएको थियो, उहाँका गुरुहरू आईबी सर र ईश्वरवल्लभ सरसँग ।
तर तेस्रो आयामले बौध्दिक जगत्मा जति हलचल मच्चायो त्यसले साधारण नेपाली पाठकमाझ प्रभावकारी भूमिका खेल्न सकेन । यो आन्दोलन तीन व्यक्तिमा नै सीमित रह्यो । हुन त तारानाथ शर्माले भानुभक्तदेखि तेस्रो आयाम पुस्तकै लेखे अनि कैँयन् समालोचकहरूले यसको राम्रो र नराम्रो पक्षमा लेखे । तर यसको असामयिक अवसान हुनुमा यसले साधारण पाठकलाई कुनै असर नपार्नु थियो । अर्को चाहिँ अरू कवि र लेखकहरूले यसको अनुसरण गर्न नसक्नु पनि ।
उनको समालोचनाबारे इतिहासकार तथा साहित्यकार डा. कुमार प्रधान लेख्छन्, ‘आईबी राईको लेखनमा आएको पहिलो ‘टर्निङ प्वाइन्ट’ तेस्रो आयाम हो भने दोस्रो लीलालेखन हो । तेस्रो आयामले उनलाई युवा अवस्थामा साहित्यिक ऊर्जा दिएको थियो ।’
तेस्रो आयाममा जस्तै लीला लेखनमा पनि सिध्दान्तमा मात्र नअडिएर कथामा पनि नयाँपन दिएका थिए । यसबारे आईबी सर लेख्छन्, ‘लीलादृष्टि आयामिक वस्तुता धारणाबाट बढेको छ । वस्तुमा विशेषण देखिन्छ । सब मानव अनुभूत, मानव कथित, मानव कल्पित- सब मानवापेक्ष । मानिसका अनुभूति, बोध, चेत सब यसै लीला हुन्छन् : मानिसमा उम्रेका, मानिसको जिउनुले उम्रेका ।’
‘व्यावहारिकतामा आधारित लेखनमा जीवन अनुभूति हुन्छ, त्यति नै प्रशस्त होइन । जीवन बुझिँदैन तर जीवनलाई पराभूत गर्न सकिन्छ । प्रत्येक कृति जीवनलाई पराभूत गर्न अभियान बन्छ । आधुनिक व्यक्ति चोक्टालाम्टा बनेको छ । खण्डित व्यक्तित्व भएको छ । तर, मानिस जुन सिंगो हो, सधैँ यस्तो रहँदैन, थिएन । आधुनिक व्यक्तिलाई लेख्न जानेका छौँ, कारण लेखिएका छन् । सम्पूर्णतालाई व्यावहारिकता उक्लनुपर्छ तर व्यावहारिकता त्यागेर सम्पूर्णता रहँदैन ।’ आईबी सर लेख्छन् ।
सरको नेपाली साहित्य र विश्व साहित्यप्रति धारणा निकै फराकिलो छ । २०६० सालमा विराटनगरमा वनिता पत्रिकाले आयोजना गरेको एउटा कार्यक्रममा आईबी सर नेपाली साहित्य कसरी विश्व साहित्यबाट लाभान्वित भयो भनेर लेख्छन्, ‘हाम्रो नेपाली साहित्यमा फ्रायडवाद आयो, कहाँ अस्ट्रियामा जन्मेको लाभान्वित नै भयौं । विश्वेश्वरप्रसाद कोइरालाले यसलाई नेपाली साहित्यमा भित्र्याइदिनु भयो । नेपाली साहित्य एक प्रकारले धनी भएर गयो । हामीले बुझ्नुपर्ने, जान्नुपर्ने कति कुरा फ्रायडबादी लेखनबाट जान्न पायौं ।
त्यसपछि अस्तित्ववादी लेखन आउनुपर्छ भनेर पारिजात, उहाँहरूले यतापट्टि ल्याइदिनु भयो । त्यो पनि एउटा ठूलो चाहिएको माग थियो नेपाली साहित्यमा, स्वागत्य चीज बन्यो, त्यसरी नै उहाँ डी.पी. अधिकारीज्यूले, खगेन्द्र संग्रौलाले मार्क्सवाद, समाजवाद विकासित गर्नुभयो । यस प्रकारको विचारधारा नेपाली साहित्यमा आउनुपर्छ, यो एउटा ठूलो खाली अवस्था हामीमा रहेको थियो, त्यो पनि आयो । त्यो पनि स्वागत्य बन्यो । हामीलाई अरू देशहरूको बराबरीमा जान, फलानो राष्ट्रका लेखकहरूको बराबरीमा पुग्न अरू राष्ट्रका पाठकहरूले जुनजुन कुरा पढ्दैछन्, ती कुराहरू हाम्रा पाठकहरूलाई पढाउनु हाम्रो कर्तव्य थियो । यसरी नयाँनयाँ कुराहरू आउँदै गए । अहिले धेरै नयाँ थोकहरू जुन अरू साहित्यमा छन्, हामीले पाएका छौं ।’
उनको अधिकांश जीवन दार्जिलिङको सेरोफेरोमै बिते पनि २०१० सालतिर नेपालको इलामको कर्फोकमा दुई वर्ष जति शिक्षकका रूपमा बिताएका थिए । नेपालमा बिताएको दुई वर्षको अनुभव ‘आज रमिता छ’ उपन्यासमा प्रतिविम्बित भएको पाउँछौँ । नेपाली जनजीवनलाई टपक्क टिपेर लेख्न सक्ने क्षमता भएका लेखक नेपाली साहित्यमा धेरै कम छन् । नेपालबाहिर बसेर पनि नेपाली साहित्यलाई धनी बनाउने काममा उनी निरन्तर गरिरहे । सन् १९५५ को भारती पत्रिकामा छापिएको पूर्वी नेपाल तराईका धिमालहरू शीर्षक लेखले नै उनी समयभन्दा कति अघि थिए भन्ने कुराको पुष्टि गर्छ ।
इन्द्रबहादुर राई, कुमार प्रधान र राजनारायण प्रधान (इकुरा)ले जति नेपाली साहित्यमा बौध्दिक चिन्तन र चेतना प्रयोग गरे, त्यो दार्जिलिङमा सायदै अरूले गरे होलान् ।
सन् १९४५ मा १० कक्षा पढ्दादेखि नै कथा लेखन सुरु गरे पनि त्यसको १२ वर्षपछि मात्रै विपना कतिपय कथा संग्रहका कथा लेख्न सुरु गरे । विपना कतिपयको सरल लेखक कथास्थामा आइपुग्दा निकै दुरुह भएको पाउँछौं । लीला लेखनमा आधारित कथाहरू विनिर्माण र विकथा भएको अनुभव गर्छन् पाठकहरू ।
आईबी सरको उदय भएको बेला दार्जिलिङको वातावरण कला, संगीत, साहित्यका निम्ति निकै उर्वर थियो । लेखकहरूमा रूपनारायण सिंह, शिवकुमार राई, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, ईश्वर बराल, कमलकुमार शर्मा, भाइचन्द प्रधानहरू लेखनमा सक्रिय थिए भने संगीतमा अम्बर गुरुङ, जितेन्द्र र नवीन बर्देवाहरूले बामे सर्दै थिए । चित्रकलामा गोरे डगलस, भोटु प्रधान, वीरेन्द्रहरूले नाम कमाउन थालेको थियो । नाटकमा भने धनवीर मुखिया, भरतकुमार गहतराज, हर्षधोज लामा, हीराकुमार सिंह, तुलसी ‘अपतन’, भैया सिंहहरूले नयाँ आयाम थपिरहेको थियो । यस्तो माहोलमा आईबी सर सिर्जनशील नहुने कुरै थिएन ।
सरको अंग्रेजी भाषामा पनि त्यत्तिकै दक्खल थियो । भारतीय साहित्य अकादमीले प्रकाशित गरेको प्राची पत्रिकाको नेपाली भाषाबाट अंग्रेजीमा अनुवाद गरेका साहित्यिक कृतिको उनी सम्पादक थिए । उनका कृतिहरू अंग्रेजीमा पनि अनुवाद भएर विश्वसाहित्यमा मिसिन गएको छ । हुन त, उनको लेखनशैली शब्द संयोजन, विषयवस्तुको प्रस्तुतीकरणलाई अन्य भाषामा अनुवाद गर्न निकै कठिन भए पनि अनुवादकहरूले यसलाई न्यायपूर्ण ढंगमा अंग्रेजी भाषामा अनुवाद गरेका छन् ।
नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउने काममा आईबी सरको ठूलो भूमिका छ । कहिले पनि मद्यपान नगर्ने सर भाषाले मान्यता पाएको दिन एउटा समारोहमा एक चम्ची ब्रान्डी खाएको राजनारायण सर उल्लेख गर्नुहुन्छ, एउटा लेखमा । सन् १९७२ मा गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङले भानु जयन्तीको अवसर पारी विराट नेपाली साहित्य सेमिनार आयोजना गरे । त्यही भेलाले ‘अखिल भारतीय नेपाली लेखक संघ’को तदर्थ समिति गठन गर्यो जसको अध्यक्ष भए इन्द्रबहादुर राई, उपाध्यक्षमा कुमार प्रधान अनि आयोजकमा जगत क्षेत्री, रामलाल अधिकारी र मनबहादुर मुखिया । यसले नेपाली भाषालाई भारतीय संविधानमा मान्यताका निम्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र चढाउने प्रस्ताव पनि पारित गरे ।
आईबी सर लेखनमा लाग्ने बेला रूपनारायण सिंहको भ्रमरले निकै तहल्का मच्चाएको थियो । नामुद वकिल सिंहको पदचाप पछ्याउँदै आईबी सरको दौंतरी गणेशलाल सुब्बा, बल देवान, प्रेमकुमार आले वकील बने, आईबी सर पनि प्रभावित नहुने कुरै थिएन । सरको पिताजीले चाहना पनि छोरा वकील बनोस् भन्ने थियो । आईबी सरले पनि पास गरे तर वकालत गरेनन् ।
सबैले चिनेको तर थोरैले बुझेको आईबी सर ९० वर्षको उत्पादनमूलक ऊर्जाशील जीवन बिताएर २०७४ इहलीला त्यागे । नयाँ पुस्ताका निम्ति प्रेरणाको स्रोत आईबी सर भारत र नेपालको नेपाली साहित्यको बलियो साँघु थिए जसलाई मेचीवारि र मेचीपारि सबैले श्रध्दाले नमन गर्छन् ।
शरद-शृङ्खला
- पारिजातका प्रेमी धनुवरदेखि उनले जलाएका चार उपन्याससम्म
- प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया