साहित्य

पुस्तक चर्चा

यतै कतै प्रवाहित कविताको सप्‍तकोशी

डा. सुमनराज ताम्राकार |
पुस २५, २०७७ शनिबार ११:१२ बजे

‘अम्लेट बनाउन नआए पनि, अम्लेट मिठो, नमिठो भन्‍न सके’ जस्तै वा अम्लेटमाथि कमेन्ट गर्ने अधिकार राखेजस्तै कविताको मामिलामा पनि पाठक, स्रोताको हक हुन्‍छ । साहित्यका विभिन्‍न विधा विशेषतः नेपाली साहित्य अध्ययन गर्ने क्रममा कविता पनि नियमित पढिन्‍छ ।

यसै मेसोमा पछिल्लो पटक एउटा संयुक्त कविता संग्रह हात पर्‍यो, ‘यतै कतै’ । पूर्वीय समाज वा दर्शनमा सात समूहको निकै महत्व छ । सप्तर्षि, सप्ततारा, सप्तकोशी त केही उदाहरण मात्र हुन् । अनौठो संयोग भनौं वा नियोजित प्रयास, यो कविता कृति सातजना स्थापित कविहरूको संयुक्त प्रयास रहेछ । आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर बेल्बासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनी गरी सात कविको अनुपम प्रयास हो- यो कविता संग्रह । यस संग्रहमा आरएम डंगोलले अन्तर, फूल, घडी/ समय, घर, गुनासो, जिन्दगी, सत्य, घृणा, क्रमशः शीर्षकमा कविता रचेका छन् ।


एक-एक पाइलाको 
हिसाब हुँदो रहेछ उकालोमा
उकालोको सपनाको उचाइ
र, यथार्थको जग नाप्‍न सिकाउँदो रहेछ ।
 (जिन्दगीको उकालो, आरएम डंगोल)
त्यसैगरी गोविन्द नेपालले बा, फेसबुक, किस्‍ने, कवि पूर्णविराम, भुइँमान्‍छे, नदी/समुद्र, तर्क, खोला, आलस्य, सुर्तीसेवी विषयक कविता रचेका छन् ।

छोराछोरी
फेसबुक पढ्छन्
र, फेसबुकमै निदाउँछन्
बिहान उठेर फेसबुकमै नित्यकर्म गर्छन्
श्रीमतीजी चिया, खाना फेसबुकमै बनाउँछिन्
म पनि पल्लो कोठामा बसेर 
फेसबुकमाथि कविता लेखिरहन्‍छु । 
(फेसबुक फिभर, गोविन्द नेपाल)

यी सात कविहरूले मानव जीवन, मानव सम्बन्ध एवं व्यवहार, प्रकृति, जनजीविका, विज्ञानको उपलब्धि, राजनैतिक घटनाक्रम तथा विश्व परिवेशमै केन्द्रित भएर कविता रचेका छन् । यसै क्रममा छविरमण सिलवालले बा, यात्रा, आमा, देश, समय, आस्था, टाउको, मजाक, मान्‍छे, नयाँ वर्षबारे काव्यरचना गरेका छन् ।

कसले बुझिदिने हो !
वृद्ध बा-आमाको काख उजाडेर
बन्द बाकसमा भित्रिनु
कसलाई रहर होला र ! 
यहाँ मेरो देशमा सबै खाले तन्त्र आए 
तर, कसलाई आए ती तन्त्रहरू
जनतालाई वा बुंगाहरूलाई ?
यो कस्तो दोधार ? 
(बुंगाको देश, छविरमण सिलवाल)

एवं रीतले टंक उप्रेतीले आफ्नो कविताको शीर्षक इनार, ढोका, उदासी, म, बुकमार्क, न्यातपोल, फिंगरप्रिन्ट, काँचुली, सिक्का, जेठ १५ दिएका छन् । 
सर्प त पसिसकेछ
शक्तिशाली राजनीतिक दलभित्र
डसिरहेको होला
जनताको सपना । (काँचुली, टंक उप्रेती)
यी कविहरूका धेरैजसो कविता चोटिलो, मार्मिक, प्रतीकात्मक एवं मानवीय संवेदनायुक्त छन् । यस संग्रहमा ठाकुर बेल्बासेले पीडा, भोक, तस्बिर, मान्‍छे, ईश्वर, तिमी, स्मृतिदंश, मृत्यु, आमा, यात्रा, यस्तो मान्‍छेको तस्बिर शीर्षकमा कविता कोरेका छन् ।

विभिन्‍न प्रयोग समेटिएको यस संग्रहमा एक-दुई जना नारी हस्ताक्षरहरूका रचना समेटेको भए सुनमा सुगन्ध हुने थियो ।

आफ्नै पीडाको आँधीमा आफैँ लछारिएको
यस्तो मान्‍छेको तस्बिर
पीडाले चपाइएका
अभावले विरूप बनेका
मान्‍छेका तस्बिर
यस्तै मान्‍छेका जिन्दगीको
व्यापार गर्नु छ-सरकारलाई
यस्तै मान्‍छेका जीवनबाट
उद्योग चलाउनुछ-व्यापारीलाई । 
(तस्बिर खिचाउन लामबद्ध हामी, ठाकुर बेल्बासे)

प्रोल्लास सिन्धुलीयले मधेस, पहिरो, खड्गबहादुर, हायुनी बूढी, फाल्गुणी गुरु, गाउँ, सहर, ढुंगो, बा, तिम्रो लोग्ने विषयक कविता रचेका छन् ।
छेउमै चौकी छ
पुलिस आँखा छल्छ अनि ध्वाँसे बोको घिसार्छ
हायुमी बूढी
चाउरिएका गालामा आँसु झार्छिन्
र, उम्रेको रहर मरेको खत देखाउँछिन् -
खायो नि नानी चितुवाले ध्वाँसेलाई ! 
(हायुनी बूढी, प्रोल्लास सिन्धुलीय)
र, मणि लोहनीले मृत्यु, गणतन्त्र नेपाल, परिचय, उज्यालो, जीवन, इच्छामृत्यु, मानचित्र, अँध्यारो, प्रेम, दर्शनढुंगामाथि काव्यरचना गरेका छन् ।
जो आफ्ना थिए; ती त
थाहै भएन कुन बेला पराई भइसकेछन् !
यतिखेर 
यो अस्ताउँदै गरेको सूर्यसँग
कामना गरिरहेछु-इच्छा मृत्युको । 
(इच्छा मृत्यु, मणि लोहनी)

यसरी प्रत्येक कविका १०-१० वटा रचना समेटिएका छन् यस संग्रहमा । नेपाली साहित्यमा यसअघि पनि दुई वा दुईभन्दा बढी स्रष्टा मिलेर यसरी नै संयुक्त कृति निकाल्ने चलन थियो नै । उपन्यास, कथा, गजलभन्दा कविता संग्रहको हकमा यो चलन अलि बढी छ ।

यसअघिका संयुक्त कृतिहरूभन्दा यसमा मिलेसम्म धेरै प्रयोग गर्न रुचाएका छन् । कविता कृतिको मुखाकृतिमा सप्तकविको सामूहिक फोटोदेखि, प्रत्येक कविको खण्ड अगाडि एक कविले अर्को कविको परिचय प्रस्तुत गर्ने तौरतरिका अनि अन्तिम पृष्ठमा तीनै कविहरूको कविता संग्रहको नाममा आधारित रहेर रचेको कविताकै सवालमा किन नहोस् ?

विगतमा स्रष्टाहरूले निकाल्ने गरेको संयुक्त संग्रहले खासै निरन्तरता पाएको देखिँदैन । यस मानेमा यी सप्तकवि पृथक् साबित होस् अर्थात् अन्य दुई, तीन कृति यसैगरी प्रकाशनमा ल्याउन पहल होस् । त्यसो त सात जना कविको समूहको हिसाबले त सातवटै कृति भन्‍नुपर्ने हो ।

विभिन्‍न प्रयोग समेटिएको यस संग्रहमा एक, दुई जना नारी हस्ताक्षरहरूका रचना समेटेको भए सुनमा सुगन्ध हुने थियो । पक्कै पनि यी सप्तकविले प्रयोग नै सही एकाध पटक अन्य नारी स्रष्टालाई समेटेर सप्त समूहबाट नव वा दस समूहको पनि काव्यकृति प्रकाशन होस् । समकालीन नेपाली कवितावृत्तको साँध-सिमानामा हामी यतै कतै छौं भनेर लघुताभाष गर्नै पर्दैन ।

किनकि तपाईंहरूको यो समूहले आधुनिक नेपाली कविता क्षेत्रको राम्रै प्रतिनिधित्व गर्छ । जेहोस्, कविता विधामा अल्छीपना देखाउने स्रष्टाहरूलाई जीवन जगत्का कविता यसरी पनि कोरिन सक्छन् वा कोरिनुपर्छ भन्‍ने पाठ पनि सिकाएको छ, यो संयुक्त कविता संग्रहले । 
यतै कतै (कविताहरूको संयुक्त-संग्रह)
प्रकाशक : बीएन पुस्तक संसार प्रालि
पहिलो संस्करण : २०७७ भदौ
मूल्य : रु ३००/-


Author

थप समाचार
x