साहित्य

केहीलाई त सडकमै पुर्‍याइदिएँ, अहिले सम्झँदा साह्रै पछुतो हुन्‍छ

राजाको पक्षमा सम्पादकीय लेख्‍नुपरेपछि प्रतिशोधमा ‘रक्तकुण्ड’ लेखेँ

इकागज |
माघ २४, २०७७ ८:३८ बजे

पत्रकार, गीतकार, उपन्यासकार हुँदै प्रकाशकसम्म भएका कृष्ण अविरललाई धेरैले चिन्‍ने नाम हो, ‘रक्तकुण्ड’ उपन्यास । नेपाल अध्येता प्राध्यापक माइकल हटले त्यसलाई ‘स्ट्रिट लिटरेचर’ भनेकामा अविरल असहमति जाहेर गर्छन् । ‘उकाली चढौँला, ओराली झरौँला’ जस्तो लोकप्रिय गीतका लेखेका उनी एकताका ‘असल शासन’ नामक मासिक पत्रिकाको कार्यकारी सम्पादक पनि थिए ।

सनसनीपूर्ण उपन्यास लेखेका उनले मधेसको दहेजमा आधारित ‘लालचुडी’ जस्तो सामाजिक उपन्यास, माओवादी विद्रोहमा आधारित ‘जल्लादको मन’जस्ता गरी करिब दर्जन किताब निकालिसके । ‘पहिला जोसले लेखियो यो होसले लेखेको आख्यान हो’ भन्दै उनले दासप्रथामा आधारित आफ्नो नयाँ उपन्यास ‘करिया’ बजारमा ल्याउँदैछन् । प्रस्तुत छ, उनीसितको गफगाफ :


ADVERTISEMENT

यत्रा किताब लेखिसक्दा पनि तपाईंलाई धेरैले लेखक नै मानेनन् है ?
धेरैले होइन, आफूलाई नेपाली साहित्यको टाइकुन सम्झने केहीले मात्रै । जो अरुलाई होच्याउन, अरुको अवमूल्यन गर्न पाउँदा आफू प्रतिष्ठित भएको ठान्‍छन् । तिनीहरू हातको औंलामा गन्‍न सकिने संख्यामा मात्रै छन् । तर त्यसले मलाई रौं बराबर पनि फरक परेको छैन । मैले चाहिँ उनीहरूका पनि राम्रा गुण सिकिरहेको छु ।

तपाईंसँगका वार्ता, कृति समीक्षा किन नआएका होलान् त ? पत्रिकासँग ठूलो असन्तुष्टि पोख्नुहुन्‍छ किन नि ?
म आफू शाकाहारी हुँ । रक्सी खुवाएर, आफ्नो पैसा खर्च गरेर उनीहरूको स्वास्थ्य नष्ट गर्नु अपराध हो जस्तो लाग्छ । मैले जीवनमा गर्नुपर्ने काम यति धेरै छन् कि मलाई मिडियाकर्मी साथीहरूकहाँ धाउने फुर्सद नै छैन । पत्रकारहरूले अन्तर्वार्ता लिने, कृति समीक्षा छापिदिने भनेको आफ्नो निकटमा जो छ, उसैको त हो । मेरो कसरी छापिन्‍छ त ? र, मलाई नछापिएकोमा गुनासो पनि छैन ।

तपाईंलाई आफ्ना मुख्य कमजोरी के-के हुन् जस्तो लाग्छ ?
म अलि सन्काहा छु । सामुन्‍नेमा छँदा प्रशंसाको शिखर चढाएर पिठ्युँ पछाडि कुरा काट्ने काम मबाट हुँदैन । चित्त नबुझेको कुरा मुखेन्जी भनिदिन्‍छु तर पिठ्युँ पछाडि उसका राम्रा गुणको खुलेर प्रशंसा गर्छु । सकेसम्म आफैं पनि ती गुणको अनुकरण प्रयास गर्छु । जुन कुरा धेरैजसोलाई मन पर्दैन । भोलिका बारेमा सोचेर आफ्नो थुतुनो नियन्त्रणमा राख्न नसक्नु मेरो ठूलो कमजोरी हो ।

म अलि सन्काहा छु, खराब बानीका कारण धेरै शुभचिन्तक कमाउन सकिनँ

कसैलाई विश्वास गरेपछि मुटु-कलेजो दिन अनि मन भाँचिदिनेलाई माटोमा धसाइदिन अग्रसर हुने मेरो विगतको खराब बानीका कारण पनि मैले धेरै शुभचिन्तक कमाउन सकिनँ । केही वर्षयता पूरै आध्यात्मिक भएपछि आफूलाई ९० प्रतिशत सुधारिसकेको छु । तर मलाई चिन्‍नेहरूमा परेको सन्काहाको छाप भने मेटिन सकेको छैन । अबका केही वर्षमै मेटिनेमा ढुक्क छु ।

के तपाईंलाई कुनै कुरामा, लेखनमा, पत्रकारितामा वा सम्बन्धमा भएका केही गल्ती-भूलमा पछुतो छ ? 
पत्रकारिता गर्दा भोलिका बारेमा नसोची धेरैसँग प्रतिशोध साँध्‍ने काम गरेँ । रक्तकुण्ड लेख्दैखेरि पनि केही साथीलाई धुस्नो काढ्ने काम गरेँ । युवा जोशका कारण होला, आफ्ना कमजोरीबारे आत्मसमीक्षा गर्ने चेत आएन । भोलिका बारेमा कहिल्यै सोचिनँ । यद्यपि पत्रकारिता र साहित्यमा आफैँले अघि बढ्न साथ दिएका दुई दर्जनमध्ये केहीसँग मेरो सम्बन्ध सुमधुर हुन सकेन । एकै आमाका कोखबाट जन्मेकाहरूसँग त मनमुटाव हुन्‍छ भने त्यसलाई मैले सामान्य रूपमा लिन सक्नुपर्ने हो । मैले उनीहरूको ठाउँमा उभिएर सोच्‍ने काम किन गरिनँ भनेर पछुतो हुन्‍छ ।

तपाईं पहिला त यस्तो हुनुहुन्थेन, मतलब अति उग्र हुनुहुन्थ्यो, कसरी यस्तो शान्त हुन थाल्नुभयो ? केही त्यस्तो खत्रा केही पढ्नुभयो कि कुनै रिम्पोचे भेट्नुभयो कि वा जिन्दगीमा केकस्ता ठक्करबाट गुज्रिनुभयो ?
म नारायणगोपाल, गोविन्द वर्तमान, शिव अधिकारीहरूजस्ता आफ्नो समयमा सन्काहा र अड्बाङ्गे मानिसहरूलाई नै आदर्श मानेर हुर्किएँ । तर उमेरले चालीसको नेटो काटेसँगै मदनकृष्ण श्रेष्ठ, जीवा लामिछाने, विकासानन्दहरूलाई आदर्श मान्‍न थालेँ ।

केही महिनामै जनआस्थामा आएँ । त्यहाँ पाँच वर्ष टिकेँ । आफ्नै बदमासीका कारण छाडेर हिँडेँ ।

उहाँहरूको शालीन स्वभावसँगै आफूलाई फिटिक्कै मन नपराउनेहरूका पनि राम्रा गुणको अनुकरण गर्न थालेँ । नकारात्मक सोच भएकाहरूसँग भर्सक टाढै बस्‍न थालेँ । मुख्य कुरा केही वर्षयता आत्मैदेखि शाकाहारी भएँ । प्रचारमा आउनै नचाहने एकजना आध्यात्मिक गुरुको सानिध्य पाएँ । सायद यिनै कुराको प्रभाव होला । यद्यपि तपाईंले भन्‍नुभएजस्तो म पूरै परिवर्तन हुन भने सकेको छैन । कोसिसमा छु । जिनमै घुसेको कुरा निस्कन समय लाग्‍ने रहेछ ।

मन नपरेका केही मान्‍छेलाई पत्रकारिताको मर्यादाबाट तल ओर्लेर गालीगलौज गरेको आरोप पनि स्वीकार्नुहुन्‍छ ?
कुनै पनि मानिस अकारण विद्रोही हुँदैन । सानैदेखि मेरा बाबुआमाले भोगेको अत्याचार, उपेक्षा देखेर हुर्किएँ । विद्रोह मेरो जिनमै घुस्यो । काठमाडौं आएर पत्रकारिता थालेपछि पनि शिव अधिकारी, किशोर श्रेष्ठ, केदार खडकाजस्ता आफ्नो समयका छुरा पत्रकारहरूको सानिध्य पाएँ । जिनमै विद्रोही चेत अनि उहाँहरूजस्ता पत्रकारिता क्षेत्रकै अब्बल छुराहरूको सङ्गत ।

म कसरी नारायण ढकाल, हरिहर विरही, राजेन्द्र दाहाल वा श्री आचार्यजस्तो शालीन हुन सक्थेँ ! आखिर मानिस आफू जस्तासँग संगत गर्छ उस्तै न हुने हो ! यसो भन्दैमा अकारण वा निहुँ खोज्दै कसैमाथि कहिल्यै जाइलागिनँ । तर मलाई होच्याउने, आत्मसम्ममानमा ठेस पुर्‍याइदिनेहरू कसैलाई पनि बाँकी राखिनँ । केहीलाई त सडकमै पुर्‍याइदिएँ । तर अहिले सम्झँदा आफूलाई साह्रै पछुतो हुन्‍छ ।

उदाहरणका रूपमा कमल दीक्षित, हरि अधिकारीहरूबारे यहाँले जे-जस्ता शब्द प्रयोग गरी जसरी लेख्नुभयो त्यो पत्रकारिता हो कि साहित्य कि वा समालोचना हो कि अरू केही ? तिनमा तपाईं अझै अडिग हुनुहुन्‍छ वा आज केही संशोधन-पश्चात्ताप गर्न चाहनुहुन्‍छ ?
मैले तल्लो स्तरमा ओर्लेर गाली लेखेको देखे, धेरै जनाले । तर त्यसको पछाडिको कारण के थियो भनेर सोच्ने, खोज्ने काम कहिल्यै गरेनन् । म फेरि पनि भन्‍छु, अकारण मैले कहिल्यै कसैप्रति ढुङ्गा हान्‍ने काम गरिनँ । हरि अधिकारीको हकमा भन्‍नुपर्दा इँटाको जवाफ पत्थरले दिएको थिएँ ।

कमल दीक्षितको हकमा चाहिँ मेरो सन्काहा बानीलाई कसैले दुरूपयोग गर्‍यो । यदि ती व्यक्तिले ह्यान्ड्स फ्रिमा फोन गरेर कमल दीक्षितका मुखबाट गाली गराएर मलाई त्यो स्तरको हेयभाव प्रकट नगराइदिएको भए म त्यो स्तरको गाली पक्कै लेख्‍ने थिइनँ । आफूले अति आदर गरेका कमल दीक्षितका मुखबाट त्यति तल्लो स्तरको हेयभाव सुनेपछि मेरो रगत नै उम्लिएको थियो । यद्यपि असावधानीवश ती व्यक्तिको गोटी बनेकामा भने साह्रै पछुतो छ ।

ती व्यक्तिको नाम लिन सक्नुहुन्‍छ ?
तिनको नाम छपाएर इकागजलाई अपवित्र पार्न चाहन्‍नँ । ती व्यक्ति आफूलाई नेपाली साहित्यको ठेकेदार सम्झन्‍छन् । अनेक नामका थुप्रै पुरस्कार र पदकहरूको पसल फिँजाएर बसेका छन् ।

प्रज्ञा-प्रतिष्ठान, पुरस्कारदाता, समालोचक, पत्रकारहरूप्रति किन सधैँ रुखो सुनिनुहुन्‍छ तपाईं ?
यो तीन-चार वर्षअघिको कुरा हो । त्यो बेलाको मेरो बोलीका आधारमा गरिएको प्रश्न हो यो । त्यो बेला संस्थाभन्दा पनि प्रवृत्तिप्रतिको असन्तुष्टि पोखिन्थ्यो, मेरो मुखबाट । मेरो अखबारी लेखनमा पनि त्यही झल्किन्थ्यो । तर केही वर्षयता म कसैको आलोचना गर्नुअघि शान्त दिमागले एकपटक उनीहरूको ठाउँमा उभिएर सोच्न थालेको छु । अचेल सङ्गत गर्नुस् मलाई, फिटिक्कै मन नपराउनेहरूको समेत राम्रा गुणको प्रशंसा गरेको सुन्‍न पाउनु हुन्‍छ ।

पैसा तिर्दा पनि विज्ञापन छापेन भन्‍नुहुन्‍छ, तपाईंलाई मात्र किन हेप्छन् होला त ?
रक्तकुण्ड निस्कँदाको कुरा हो, यो । थियो होला, केही कारण । त्यसमा म उनीहरूको दोष देख्दिनँ । खेद्ने, हेप्ने भन्दा पनि कुनै समाचारमा मेरो नाम देखियो भने नियतवश काटिदिने । मेरा पुस्तक जतिसुकै बिके पनि बहुसंख्यक बिक्री भएका पुस्तकबारेको समाचार लेख्दा तिनको नामै नलिने । मैले छापेका पुस्तक पनि अरुले छापेको भनेर लेखिदिने । यस्ता काम पटकपटक हुँदै आयो ।

म आफैँले सिफारिस गरिदिएपछि सम्पादक भएका एकजनाले त मैले केही सामग्री पठाएँ भने पनि ठीक उल्टो सामग्री छापिदिन्थे । ती मेरा नातेदार पनि हुन् । पटकपटक यस्तो काम भएपछि मेरो मन भाँचियो । त्यसपछि त्यहाँका रिपोर्टरले समाचार माग्दा भनिदिएँ- ती सम्पादक छँदै म मरेँ भने मेरो समाचार पनि त्यहाँ नआओस् । त्यसमा म उनीहरूलाई दोष दिन्‍नँ । किनकि विगतको मेरो उग्र र अराजक प्रवृत्तिका कारण उनीहरूका मनमा मप्रति घृणा भाव पलाएको हो । अचेल त कुनै मिडिया या मिडियाकर्मीले उपेक्षा नै गर्‍यो भने पनि थप नयाँनयाँ काम गर्ने ऊर्जा प्राप्त हुन्‍छ ।

तपाईंले जागिरकै रूपमा वा कन्ट्रिब्युटरका रूपमा धेरै पत्रिकामा काम गर्नुभयो, किन टिक्नुभएन ?
झापाको स्वाधीन सम्वादबाट सुरु भएको हो, मेरो पत्रकारिता । २०४८ सालमा । त्यो बेला ल क्याम्पस पढ्दै गरेका शिव गाउँले काठमाडौंबाट रिपोर्टिङ गर्थे । म कार्यालय रिपोर्टर । २०४९ सालमा काठमाडौं आएसँगै ठूलोबुबा डा. तुलसी भट्टराईले कान्तिपुरी म्यागेजिनमा काम लगाइदिनु भयो । काङ्ग्रेस नेता लोकेश ढकाल थिए, सम्पादक । तीन महिना काम लगाए । तोकिएको मासिक पाँच सय रुपैयाँ तलब पनि पाइएन । त्यसपछि ठूलोबुबाले नै शिव अधिकारीको सानिध्यमा पुर्‍याइदिनु भयो । दुई वर्ष काम गरेपछि एकजना साथीको लहैलहैमा लागेर किशोर नेपालसँग काम गर्न गइयो, जनस्वतन्त्रतामा । दसैँका बेलामा घर जाने खर्च छैन भन्दा समेत तलब दिएनन् ।

बिर्तामोडकै पत्रिका पसलमा लिनू भने । तर पत्रिका पसले केशव धिताल, जो पत्रिकाका रिपोर्टर पनि थिए-ले किशोर दाइले केही भन्‍नुभएको छैन भने । काठमाडौं आएर व्यवस्थापन हेर्ने समज्ञ लाकौल दाइसँग गुनासो गर्दा किशोर नेपालले उल्टै हप्काए ।

पत्रकारहरूले अन्तर्वार्ता लिने, कृति समीक्षा छापिदिने भनेको आफ्नो निकटमा जो छ, उसैको त हो । मेरो कसरी छापिन्‍छ त ?

त्यसपछि सोमनाथ घिमिरेको पत्रिका ‘युगसंवाद’मा गएँ । गुणराज लुइँटेल दाइ रिपोर्टर थिए । केही महिनामै जनआस्थामा आएँ । त्यहाँ पाँच वर्ष टिकेँ । आफ्नै बदमासीका कारण छाडेर हिँडेँ । मैले छाडेपछि जनआस्था गएका थिए, चूडामणि भट्टराई । त्यसपछि प्रस्फुटन मासिकमा काम गरेँ । आफैं कार्यकारी सम्पादक भएर २०५६ मा सुप्रिया मासिक निकालेँ । तर टिकाउन नसकेपछि केदार खडकासँगै असल शासनमा गएँ । अनलाइन खबरमा साहित्यिक सामग्रीको संयोजक बनेँ । मधुपर्क, नेपाल म्यागेजिनमा पनि लेखेँ । जे होस् नेपालका धेरै मिडिया चहारेँ ।

यद्यपि कुनै पनि संस्थामा लामो समय टिक्नुलाई नेपालमा मात्रै सफलताको रूपमा लिइन्‍छ जस्तो लाग्छ मलाई । आफ्नो क्षमताको विकासका लागि पनि हरेक मानिसले कम्तीमा तीन वर्षमा संस्था परिवर्तन गर्नुपर्छ भन्ठान्‍छु म त ।

पत्रकारितामा आफू सन्तुष्ट भएका आफ्ना स्टोरी के-के सम्झिनुहुन्‍छ ?
स्वाधीन संवादमा छँदा २०४८ सालमा लेखेको काकरभिट्टा सीमा नाकाको तस्करी, ०५० सालमा सुरुचिमा लेखेको झापाका सडक बालबालिकाहरू बारेको, पूर्वका देहव्यापार स्पट बारेको सचेत मासिकमा लेखेको, सीमा क्षेत्रको छिन्ताइ धन्दा बारे ०५१ म अस्मिता मासिकमा लेखेको रिपोर्टको खुब याद आउँछ । मैले जनआस्थामा लेखेको एउटा रिपोर्टिङकै कारण अहिलेको मेचीनगरका घघडान एमाले नेताहरूको लगानीमा खुलेको कन्काइ नर्सिङ होम बन्द भएको थियो ।

बहुविवाह गर्ने बहुचर्चितहरूबारे, नेताहरूका महलहरूबारे जनआस्थामा लेखेका रिपोर्टको पनि खुब याद आउँछ । असल शासन मासिकका लागि खोज रिपोर्टिङसँगै अन्तर्वार्ता लिन जाँदा जानकी मन्दिरका महन्तले दिएको अपहरणको धम्की, अनि सर्लाहीको सीमावर्ती क्षेत्रबाट हुने तस्करीबारे रिपोर्टिङ गर्न गएका बेला तस्करीकै डनसँग भएको जम्काभेटको सन्दर्भ, द्वन्द्वकालमा माओवादीकै आधार इलाकामा गएर गरेका रिपोर्टिङ, बर्दियाको बाँसगढीमा पुलिसको हिरासतबाट बल्लतल्ल उम्केको जस्ता घटना मेरो जीवनका अमूल्य अनुभव हुन् । युवराज दीपेन्द्रको विवाहबारे सुप्रिया मासिकमा लेखेको कभरस्टोरीको त युवराज स्वयंले कुरा गरेका थिए रे ।

‘उकाली चढौँला, ओराली झरौँला’ जस्तो लोकप्रिय गीत लेखेको तपाईं अरू गीत खै ? 
६० वटा जति रेकर्ड भएका छन् । केही गीत चर्चित पनि छन् । कसैसँग कुरा गर्दा तपाईंको हो र ? भन्‍छन् । गीत रचनाबापत नाम पनि नपाउने भएपछि अचेल रहर लाग्‍न छाड्यो ।

रक्तकुण्ड किन लेख्नुभयो ? राजधानीमा घर-घडेरीधनी हुन कि चर्चा कमाउन कि ? राजतन्त्रसित जोरी खोज्‍न कि गणतन्त्र ल्याउन कि वा नेपाली साहित्यमा योगदान दिन ? 
खासमा त्यो प्रतिशोधको नतिजा हो । राजाको सक्रिय शासनकालमा म आन्दोलनकारी थिएँ । असल शासन पत्रिकामा राजाको कदमबारे प्रशंसा गर्दै सम्पादकीय लेख्नु मेरो बाध्यता थियो । त्यति नगरे म बाँच्‍न सक्दिनथेँ । तर म गणतन्त्रको आन्दोलनकारी भएकै निहुँमा पटकपटक मेरो फोन काटेर खुल्दै नखुल्ने बनाएर दु:ख दिएपछि ममा प्रतिशोध उम्रियो । रिपोर्टिङमा जिल्ला जाँदा बाटाबाटामा सेनाले दिएको सास्ती र गरेको अपमानलाई मैले राजासँग जोडेँ । पख्, अब म तिम्लाई मेरो तागत देखाउँछु भनेर लेख्‍न सुरु गरेँ । ०६२-६३ मा राजतन्त्र निलम्बन भइदियो र सहज वातावरणमा निकाल्न पाएँ । नत्र त मैले किताब निकाल्ने र इन्डियातिर गएर बस्ने तयारी गरेको थिएँ ।

अहिले हेर्दा रक्तकुण्डबाट आफूलाई भएको घाटा के हो ?
घाटा केही भएन । साहित्यिक मूल्यका दृष्टिले केही कमजोर छ । तर आम मानिसका नजरमा मेरो चिनारी नै त्यही बनेको छ । लोकले मानिसकेपछि केहीले त्यसलाई सस्तो लेखाइ भनेर के अर्थ ? मैले लेखेकै आम मानिसहरूले बुझ्ने गरी । साहित्यिक मूल्यवत्ता खोज्नेहरूले ‘जल्लादको मन’, ‘लालचुडी’, ‘रक्तबीज’ पढून् न । ‘...हरूको देशमा ...तन्‍नेरी’ हुन आएको एउटा विदेशीले आफूलाई मात्रै बुज्रुक ठान्‍नेहरूका कुरा सुनेर सडक साहित्य पनि भने । किन र के उद्देश्यले लेखिएको थियो अनि राजतन्त्रप्रतिको विश्वास धुलिसात् बनाएर मुलुकमा गणतन्त्रको बीजारोपण गर्नमा रक्तकुण्डको भूमिका कति थियो भन्‍ने कुरा थाहा पाएका दिन तिनलाई आफैँ पछुतो हुनेछ ।

गम्भीर पाठक, समालोचक, पुरस्कारदाताले यहाँलाई रक्तकुण्डको लेखक भनेर चिन्‍छन्, हल्काफुल्का सनसनीपूर्ण लेख्‍ने भन्‍छन् । के भन्‍नुहुन्‍छ ?
हरेक मान्‍छेले आफ्नो चेतनास्तर अनुसार सोच्‍ने हो । यसमा मेरो भन्‍नु केही छैन । यद्यपि मेरा हरेक लेखन उद्देश्यपूर्ण र अरुले लेखिआए भन्दा फरक विषयमा हुन्‍छन् । अरुले के भन्‍छन् भन्‍ने कुरामा मतलब नराखी आफ्नो लेखनप्रति इमानदार हुनुपर्छ भन्‍ने कुरामा म सचेत हुने कोसिसमा छु ।

लेखकको चेतनास्तर, ज्ञानस्तरभन्दा पाठक अलि अघि पुगिसके कि ?
पक्कै । त्यही कारण हरेक कृति निकाल्नुअघि मलाई असाध्यै डर लाग्छ ।

दरबारपछि तपाईं फेरि भद्दा (क्षमाप्रार्थी छु) कभरसहित यौनजन्य ‘विषपुरुष’ लिएर आउनुभयो ।तपाईं लेख्नुहुन्‍छ सस्तो अनि उचित मूल्यांकन भएन भनेर दु:खी किन हुनुहुन्‍छ ? मेरो किताब धेरै बिक्यो, अरुलाई उछिनेँ भनेर खुसी भएर बसे भएन र ? (तपाईंका सबै किताब नपढी प्रश्न सोधेकामा क्षमा चाहन्‍छु ।)

समाजमा पुरुषले मात्रै होइन, महिलाले पनि रखैल राख्‍न सक्छन् भन्‍ने कुरा छ, ‘विषपुरुष’मा । गहिरिएर हेर्ने हो भने समाजमा भइरहेको विकृतिको चिरफार छ । महिला सशक्तीकरणको पक्षमा आन्दोलन छ, त्यहाँभित्र । अर्चना थापाले मात्रै देख्नुभयो, विषपु्रुष उपन्यासभित्रको गुदी । पेशेवार पुरुष यौनकर्मी समाजको सत्य हो । तर केही मानिसले पुस्तकको आवरणको भरमा नाक खुम्च्याइदिए ।

यसपालि तपाईंले छापेको आत्मकथाका कारण पद्मश्रीजस्तो प्रतिष्ठित पुरस्कार नै स्थगित भयो, के भन्‍नुहुन्‍छ ?
मैले आवश्यक खोज गरेर शारदा भुषाल झा वास्तवमै पीडित हुन् भन्‍ने पुष्टि भएपछि मात्रै ‘धरातल’ छाप्‍ने आँट गरेको हुँ । यसो भन्दैमा मोदनाथ प्रश्रितप्रति मनमा कुनै पूर्वाग्रह छैन । उनका पुस्तक पनि पढिरहेकै छु । बेचिरहेकै छौं । उनको भूमिका भएको कृष्णराज वर्माको मधेस र मधेसी आन्दोलन पुस्तक पनि मबाटै छापियो । तर मेराविरुद्ध उहाँहरू जसरी लाग्‍नुभयो, त्यसैको नतिजा हो पुरस्कार स्थगन । किनकि कोही कसैप्रति चरमको हदमा घृणा प्रकट गर्‍यो भने त्यसले उल्टै आफैँलाई हानि गर्छ भन्‍ने कुराको प्रमाण पनि हो ।

आफ्‍ना किताबमध्ये सबभन्दा माया लाग्‍ने कुन किताब हो ? 
अहिले करियाको लागिरहेको छ । किनकि अघिल्ला कृति जोशमा लेखेँ तर यो पूरै होसमा लेखेको छु । त्यसपछि चाहिँ ‘जल्लादको मन’को लाग्छ । माओवादी लोकप्रियताको चुलीमा पुगेका बेला उनीहरूको स्खलनमाथि लेखिएको यो उपन्यास बजारमा निकालेका कारण अपेक्षित पाठकको नजर परेन । तर साहित्यिक मूल्यवत्ता ख्याल गर्नेहरूले अहिले पनि प्रशंसा गर्नुहुन्‍छ ।

आफ्‍ना किताबमध्ये यो त कसैले नाम नलिइदिए हुन्थ्यो भन्‍ने पनि छ कि ?
छैन । म सबै कृतिको नाम गर्वसाथ लिन सक्छु ।

मञ्जरी प्रकाशनमार्फत प्रकाशक पनि हुनुभयो, कस्तो छ हाम्रो किताबी बजार ? 
समाजोपयोगी, साहित्यिक मूल्यवत्ता भएका थुप्रै पुस्तक बजारमा अप्राप्य थिए । तर प्रकाशकहरू जम्मै सेलिब्रेटीहरू मात्रै खोज्दै हिँड्ने । त्यस खाले किताब छाप्न सुझाउँदा कसैले चासो नदिने । यसो भएपछि र मैले चार वर्ष लगाएर लेखेको रक्तबीज छाप्ने प्रकाशक नपाएपछि मञ्जरी सुरु गरेको हुँ ।

यहाँले पुराना धेरै किताब बाहिर ल्याउनुभो, किन नयाँ किताब-नयाँ लेखक नबिक्ने भएर हो ?
रोशन दाहालको पहिलो उपन्यास काँचुली हामीले नै छापेको हो, जो पछि लुम्बिनी बौद्ध विश्वविद्यालयको पाठ्यक्रममा पनि पर्‍यो । अरु केही स्रष्टाका पनि छापेका छौँ । तर खास मलाई नयाँमा विश्वासै भएन । कसैको पाण्डुलिपि पढेर यो यो कुरा मिलाएर लिएर आउनु भनेर पठायो, मकहाँबाट निस्कनासाथ अर्को प्रकाशककहाँ पुग्‍ने । उपन्यास लेख्न सुरु गरेको छैन, प्रकाशक खोज्दै हिँड्ने ।

आफूकहाँ आउने हरेक नयाँ लेखकलाई दुईवटा प्रश्न सोध्छु- पछिल्लो समय पढेको कृति कुन हो ? अनि अहिलेसम्म पढेमध्ये सबैभन्दा मन परेको कृति कुन हो ? यी दुईवटा प्रश्नको उत्तर सुनेपछि मलाई प्रस्ट भइहाल्छ, त्यो लेखकको धरातल कति हो । यो कुरामा धेरैले मलाई निराश बनाएपछि नयाँप्रतिको मेरो मोहभङ्ग भएको हो । र, पुराना कालजयी कृति यति धेरै भेटिए कि नयाँतिर फर्केर हेर्ने फुर्सद पनि भएन ।

नेपाली साहित्यको सबैभन्दा ठूलो दु:ख के हो ?
लेखक हुँ भन्‍नेहरूले आफूबाहेक अरुका कृति नपढ्नु । यदि हरेक लेखकले आआफ्नो विधाका राम्रा कृति मात्रै किनेर पढिदिने हो भने साहित्यकारहरू यति मानसिक र आर्थिक गरिब पक्कै हुने थिएनन् ।

मञ्जरी प्रकाशनबाट धेरै किताब निकालिसकेका तपाईं अर्काे प्रकाशनतिर लाग्‍नुभएको सुनियो, के हो कुरो ?
रत्न पुस्तकले रोशन बुक्स, साङ्ग्रिला बुक्सले युरेका सुरु गरेजस्तै हामीले पनि अजम्बरी सुरु गरेका हौँ । यसबाट साहित्यिक मूल्यवत्ता भएका अजम्मरी कृति मात्रै छाप्ने सोच हो । यद्यपि मञ्जरीबाट छापिएका १४४ वटामध्ये अधिकांश गर्व गर्नलायक कृति छन् ।

म अलि सन्काहा छु । विगतको खराब बानीका कारण पनि मैले धेरै शुभचिन्तक कमाउन सकिनँ ।

तिनमा पनि सूर्यविक्रम ज्ञवालीको पृथ्वीनारायण शाह, ईश्वरबल्लभको आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्, त्रिरत्न मानन्धरको नेपालको इतिहासमा जङ्गबहादुर, शिवकुमार राईको डाक बंगला, मदनमणि दीक्षितका भूमिसूक्त र हिन्दू संस्कृतिको परिशीलन, डा. तारानाथ शर्माको नेपालदेखि अमेरिकासम्म र बेलाइततिर बरालिँदा, पूर्णप्रकाश नेपाल यात्रीको सिजाको ऐतिहासिक रूपरेखा र जनकलाल शर्माका कृतिहरू अजम्मरी कृति नै हुन् । यस्ता किताबको प्रकाशक हुँ भन्दा मलाई गर्व छ ।

आउँदै गरेको उपन्यास करिया कस्तो उपन्यास हो ?
सय वर्षअघिको सामाजिक इतिहास हो । लकडाउनलाई सदुपयोग गर्दै मैले यो किताब लेखेँ । यसबीच मैले लेखेका अरु पनि किताब छन् । चन्द्र शमशेरले करिया मोचन गर्नुअघिको हाम्रो समाज कस्तो थियो भन्‍ने कुराको चित्रण छ, यसमा ।

बिक्‍ने विषय रोज्‍ने, त्यस्तै बिकाउ शैलीमा लेख्‍ने तपाईं किन यस्तो रुखो विषयतिर लाग्‍नुभयो त ?
बिकाउ विषय होइन, नेपाली साहित्यमा अरुले नलेखेका भर्जिन विषय मेरो रोजाइमा पर्छन् । करिया पनि त्यसैको सिलसिला हो ।

करियाबाट तपाईंले खोजेको सन्तुष्टि वा सफलता कस्तो हो ?
यसले मेरा आलोचकहरूको मुख बन्द गर्छ भन्‍नेमा आशावादी छु ।

तपाईंलाई मन परेका केही किताबको नाम भन्‍नुस् भने भनेँ ? 
इतिहास र आख्यान मेरो रुचिका विषय हुन् । उपन्यासमा घामका पाइलाहरू, उलार, प्रेतकल्प, कोपिला आश्रम, रिडी र राँची (हाँस्दै-रुँदै), शरणार्थी मेरा प्रिय उपन्यास हुन् । भाषिक शिल्पका दृष्टिले डा. ताना शर्माको नेपालदेखि अमेरिकासम्म पनि अब्बल लाग्छ । जनकलाल शर्माको हाम्रो समाज : एक अध्ययन र कौतुकमय डोल्पो मन पर्छ । यस्तै नेपालको महाभारत, जङ्गबहादुरको बेलाइत यात्रा, समाज संस्कार र शासन अनि त्यस बखतको नेपाल मेरा प्रिय कृति हुन् । गीतमा किन्‍नर किन्‍नरीको अर्को जोडा छैन भन्‍ने लाग्छ ।

जुन किताब धेरै पढिएन, धेरैले पढून् भन्‍ने लागेका किताब के छन् ?
हरेक मानिसले आफ्नो रुचिअनुसारका कृति पढ्ने हुन् । एउटालाई मन परेको कृति अर्कोलाई झूर लाग्‍न सक्छ । यद्यपि जनकलाल शर्माको हाम्रो समाज : एक अध्ययन र जोसमनी सन्तपरम्परा र साहित्य चाहिँ हरेक नेपालीले पढिदिऊन् भन्‍ने लाग्छ ।



Author

थप समाचार