फिचर

ज्ञानेन्द्र मल्लः जसको कप्तानी खोसियो, टिमबाट नामोनिसान मेटाइँदै छ

सञ्जीव शाह |
असार १२, २०७९ आइतवार १९:११ बजे

काठमाडौँ – क्रिकेटर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान गरेपनि नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय खेल ९९ रनले पराजित हुन पुग्यो । सो खेल थियो, युएईमा भएको आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको । 

नेपाल, पपुवा न्यूगिनी र युएई सम्मिलित उक्त सिरिज अन्तर्गतको नेपाल र युएईबीच मार्च २१ मा भएको थियो । र ज्ञानेन्द्रले नेपालका लागि जोडेको सर्वाधिक ३० रन नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि अन्तिम नै हुन सक्ने खतरा बढेको छ । युएईपछि सिरिज अन्तर्गत नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेलेको थियो र उक्त खेलका लागि ज्ञानेन्द्र प्लेइङ-११ मा समेटिएनन् । उक्त खेल नेपालले सात विकेटले जितेको थियो । 


युएईमा भएको त्रिकोणात्मक सिरिजपछि नेपाली पुरुष टिमले ५ वटा क्रिकेट सिरिज खेलिसक्यो तर ज्ञानेन्द्र टिममा अटाउन सकेनन् । त्यतिमात्र नभएर नेपालले जुलाईमा क्यानाडामा एकदिवसीय सिरिज तथा स्कटल्यान्डमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ तर ती दुबै सिरिजका लागि ज्ञानेन्द्रलाई टिममा समेटिएको छैन ।
युएईमा भएको सिरिज लगतै नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २५ र २६ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय सिरिज आयोजना गर्‍यो तर ज्ञानेन्द्र टिममा अटाएनन् । 

लगतै त्रिवि मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपाल, मलेसिया र पीएनजीबीच त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भयो, त्यसका लागि पनि छनोटकर्ताले ज्ञानेन्द्रलाई नेपाली टिममा स्थान दिएनन् । 

त्यसपछि क्यानले त्रिवि मैदानमै मे १ देखि ९ तारिखसम्म जिम्बावे ‘ए’ सँगको टी-ट्वान्टी र एकदिवसीय सिरिज आयोजना गर्‍यो र ती दुबै सिरिजमा पनि ज्ञानेन्द्रले स्थान बनाउन सकेनन् ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि भर्खरै नेपाली टिमले अमेरिकाको भ्रमण गर्‍यो । नेपाल, ओमान र अमेरिकाबीच भएको सिरिजका लागि पुनः ज्ञानेन्द्रलाई टिम बाहिरै राखियो । 

नेपाली टिमले जुन २८ मा क्यानाडाविरुद्धको दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानाडाको भ्रमण गर्दैछ । त्यसलगतै जुलाई ११ देखि स्कटल्यान्डमा हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम स्कटल्यान्ड पुग्नेछ । तर ती दुबै सिरिजका लागि नेपाली टिमको घोषणा हुँदा ज्ञानेन्द्रको नाम छैन अर्थात उनी फेरी पनि टिममा स्थान बनाउन असफल भएको मान्नुपर्छ । 

खासमा खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले २०२१ डिसेम्बर १५ मा ज्ञानेन्द्रको कप्तानी पद खोस्यो । 

कप्तान पद गुमाएका ज्ञानेन्द्र भने फेब्रुअरी ११ देखि १४ तारिखसम्म ओमानमा भएको चारदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा घोषणा भएको टिममा समेटिएसाथै ओमानमै फेब्रुअरी १८ देखि भएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोटका लागि ज्ञानेन्द्र टिममा समेटिएका थिए । 

त्यसपछि उनी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि युएईको भ्रमण गर्ने मौका पाए र पछिल्लो समयमा नेपाली टिमका लागि भइरहेको खेलाडी छनोटले ज्ञानेन्द्रका लागि युएई भ्रमण नै अन्तिम हुन सक्ने संभावना देखिदैछ ।

तर क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल भने ज्ञानेन्द्रको नेपाली टिममा पर्ने सम्भावनाको अन्त्य नभएको बताउँछन् । ‘खेलाडीले खेलुन्जेल छनोट हुने सम्भावना सकिदैन,’ मल्लले भने । 

मल्लका अनुसार खेलाडी छनोटमा मुख्य प्रशिक्षक तथा छनोट समितिको हात हुन्छ ।

‘खेलाडी छनोटमा क्यानको कुनै हात हुँदैन, मुख्य प्रशिक्षक तथा छनोटकर्ताले विभिन्न आधार हेरेर छनोट गर्छन्,’ प्रशान्त विक्रम मल्लले थपे । 

यता ज्ञानेन्द्रले पनि टिमका लागि खेल्न जहिले पनि तयार रहेको बताइरहेका छन् । र उनी अहिले नै क्रिकेट छाड्ने अवस्था नआएको समेत बताउदै आएका छन् । 

अर्कोतर्फ नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बारम्बार नेपालमा प्रतिभाशाली युवा खेलाडीहरु रहेको तथा उनीहरुलाई टिममा मौका दिइने बताइरहेका छन् र यही धारणा कप्तान सन्दीप लामिछानेको पनि रहेको छ । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x