मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-५

जनप्रिय प्रधानमन्त्री मनमोहनका १० बलिया र ३ कमजोर पक्ष

डा. ढाकाराम सापकोटा |
बैशाख १३, २०७८ १६:१० बजे

मनमोहन अधिकारीको ६ दशक लामो राजनीतिक जीवनका क्रममा देखिएका विशेषताहरू :

अविचलित अडान भएका अथक योद्धा :

नेपालको इतिहासमा प्रजातन्त्रका लागि वि.सं. २००७ साल र वि.सं. २०४६ साल गरी मुख्यतः दुईवटा लडाइँ भएका थिए । वि.सं. २००७ सालको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो भने वि.सं. २०४६ सालको आन्दोलनले वि.सं. २०१७ सालमा राजा महेन्द्रद्वारा खोसिएको प्रजातन्त्र पुनःस्थापना गरेको थियो । यी दुवै आन्दोलनमा मनमोहन अधिकारी सक्रिय रूपले सहभागी मात्र हुनु भएन, नेतृत्वदायी भूमिका खेल्नुभयो । 


त्यतिमात्र होइन भारत छोडो आन्दोलनमा सहभागी भएदेखि उहाँ वामपन्थी विचार र सिद्धान्तबाट प्रभावित भएर राजनीतिमा लाग्नुभयो । त्यसबाट कहिल्यै पनि विचलित हुनु भएन । बरु त्यो विचारलाई कुनै सुखसयल, कसैको दबाब र धम्कीले विचलित बनाउन सकेन । जस्तै दुःख, कष्ट र अप्ठ्यारो अवस्था भोग्नुपर्दासमेत ‘यो म आफैँले रोजेको बाटो हो, धैर्य र संयमताका साथ निरन्तर अगाडि बढ्नुपर्छ’ भन्नेमा दृढ रहनु भयो ।

स्वतन्त्रता र प्रजातन्त्रप्रति मनमोहन अधिकारीले देखाउनुभएको त्याग र निष्ठाको कदर गर्दै भारत सरकारले स्वतन्त्रता सेनानीले सम्मान गरेको थियो । लगभग ६ दशकसम्म अविचलित रूपमा अनवरत एउटै विचार र पार्टीमा लागेर पुर्‍याएको योगदान स्वरूप उहाँलाई ऐतिहासिक योद्धाको नामले समेत चिनिन्छ ।

शिखर पुरुष
भारतबाट अङ्ग्रेजलाई धपाउने आन्दोलनमा सहभागी हुनु भएका कारण मनमोहन अधिकारी भारतमै जेलमा पर्नुभयो । नेपालमा चलेको पहिलो मजदुर आन्दोलनमा नेतृत्व तहमा बसेर आन्दोलन हाँक्नुभयो । त्यो आन्दोलन पछि नै नेपालमा ट्रेड युनियन आन्दोलनको थालनी भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा अगाडि नै कम्युनिस्ट बन्नु भएका मनमोहन अधिकारीले राणा विरोधी आन्दोलन र त्यसपछि पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सधैँ अग्रपङ्तिमा उभिएर लड्नुभयो । त्यही क्रममा चौध वर्षभन्दा बढी लामो जेल जीवन बिताउनुपर्यो । 

करिब ६ दशकको नेपाली कम्युनिस्ट आन्दोलन, वाम आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा मनमोहन अधिकारीले खेलेको भूमिकाको उल्लेख नगरी नेपालको राजनीतिक इतिहास पूरा हुन सक्दैन । त्यसो हुँदा मनमोहन अधिकारी नेपालको राजनीतिक आन्दोलनका शिखर पुरुषका रूपमा रहनुभएको छ ।

शालीन व्यक्तित्व
मनमोहन अधिकारीमा जुनसुकै चिजलाई समग्रतामा हेर्ने बुझ्ने र प्रस्तुत हुने स्वभाव थियो । कुनै प्रकारको आग्रह, छिचरोपना र उत्तेजना प्रदर्शन नगरी संयम र प्राज्ञिक ढङ्गले विषयवस्तुमा प्रस्तुत हुन रुचाउनु हुन्थ्यो । उत्तेजनामा नआई विषयको गाम्भीर्यलाई बुझ्न सक्ने क्षमता रहेको थियो । जसले गर्दा उहाँमा शालीन र भद्र व्यक्तित्वको निर्माण भएको थियो ।

पार्टीका सिद्धान्त, कार्यदिशा र नीतिहरूप्रति दृढ
मनमोहन अधिकारीले पार्टीका सिद्धान्त, कार्यदिशा र नीतिलाई सही व्यवस्थित र समृद्ध बनाउन आजीवन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । आफूले राखेको मत र धारणाअनुसार केन्द्रित गरेर मात्र पार्टी सञ्चालन होस् भन्ने खालको इच्छा, चाहना, आकांक्षा प्रदर्शन गर्नु भएन । राजनीतिक यात्राका क्रममा एक्लोजस्तो हुँदा पनि पार्टी र प्रजातन्त्रप्रतिको समर्पणमा कुनै कमी हुन दिनुभएन र आस्थाको दियो निरन्तर बालिरहनु भयो ।

निष्कपट, निःस्वार्थ, र निष्ठाको राजनीति
मनमोहन अधिकारीको जीवन खुला किताबको पाना जस्तो थियो । उहाँले कुनै कुरा लुकाएर र बढाइचढाई गरेर आफ्नो विशिष्ट व्यक्तित्व प्रदर्शन गर्ने भन्ने कुरा कहिल्यै सोच्नु भएन । निःस्वार्थ स्पमा क्रियाशील रहनु नै उहाँको खास समर्पण थियो । उहाँको निःस्वार्थता यतिसम्म झल्किन्थ्यो कि २०५१ सालमा प्रधानमन्त्री बन्दा समेत पदका नीम्ति आफ्नो छुट्टै चाहना र दाबी प्रदर्शन गर्नु भएन । 

आफ्नो समग्र इतिहास, त्यस आधारमा बनेको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र पार्टीले सुम्पेको अध्यक्षको जिम्मेवारीसमेतका कारण ती पदहरूले स्वयंलाई पछ्याउँदै आएका थिए । यति हुँदाहुँदै पनि वि.सं. २०४६ सालको जनआन्दोलनपछि सत्तामा पुगेका नेताहरूले नैतिकतालाई चटक्क बिर्सेकाप्रति दुःखी बन्नु भएको थियो । एकताका संसद् नै प्राडो र पजेरोमय (मूल्यवान् गाडीको नाम) बनेको अवस्थामा त्यसको विरोध मात्र गर्नु भएन, त्यसमा रमाउँदै गरेको पार्टीलाई समेत गल्ती भएको पाठ सिकाउन सफल हुनुभयो ।

राष्ट्रिय हितका पक्षपाती
मनमोहन अधिकारीको व्यक्तित्व राष्ट्रिय हितका निम्ति जीवन पर्यन्तको सङ्घर्षको उपलब्धि थियो । दिल्ली सम्झौताको विरोध गर्दै नेपाली जनतालाई राष्ट्रिय स्वाभिमान र देशभक्तिको पक्षमा शिक्षित र जागरूक बनाउने कार्यमा सधैँ सक्रिय र बडो स्पष्टताका साथ जुटिरहेको अवस्था थियो । सन् १९५० को सन्धिको विरोध सडकमा मात्र होइन, समय र मौका पाउँदा भारतीय समकक्षी पी.भी.नरसिंह रावसमक्षसमेत राखेर त्यसमा पुनरवलोकन गर्ने प्रस्ताव पहिलो पटक राख्नुभयो । रााष्ट्रियताको सावलमा कोही पक्षविपक्ष बन्नु हुँदैन भन्ने स्पष्ट दृष्टिकोण रहेको थियो ।

सादा जीवन र धैर्यशील स्वभाव

उहाँको जीवनशैली सरल र सादगीपूर्ण थियो । रिक्सामा चढेर घुमफिर गर्ने, साधारण कार्यकर्तासँग बस्ने, जहाँ जे पाकेको छ त्यही खाने, आफैँ खाना पकाउने, भाँडा माझ्ने, कपडा धुनेजस्ता अत्यन्त सादा जीवनशैली थियो । कार्यकर्तालाई भेट्न र सङ्गठन विस्तारका क्रममा जाँदा फर्कने भाडा नभएर साथीभाइसँग चन्दा उठाएर पनि हिँड्ने गर्नु हुन्थ्यो । 

कुनै प्रकारको आग्रह, छिचरोपना र उत्तेजना प्रदर्शन नगरी संयम र प्राज्ञिक ढंगले विषयवस्तुमा प्रस्तुत हुन रुचाउनु हुन्थ्यो । उत्तेजनामा नआई विषयको गाम्भीर्यलाई बुझ्न सक्ने क्षमता थियो ।

उहाँमा नेताहरूले जनताले प्रश्न उठाउने तहको जीवनयापन गर्न अग्रसर हुनै हुन्न भन्ने स्पष्ट मान्यता थियो । साङ्गठनिक रूपले कमजोर रहेको अवस्थामा पनि सादा जीवनकै कारण पञ्चायती शासक उहाँसँग डराउँथ्यो । उहाँको जीवनशैलीबारे पत्रका विजय कुमारले ‘बरालिँदा बरालिँदै एक दिन टेबहालको लजमा मनमोहन अधिकारीसँग भेट भयो । कुचुक्क सानो कोठा, प्रभात स्टोभमा दम हानेर उनले चिया तयार पारे । 

पञ्चायती शासकले दिएको यातना, आफूले जीवनमा भोगेको दुःखकष्टका बाबजुद मनमोहन अधिकारीको व्यक्तित्वमा कुन्ठारहित शालीनता थियो’भनी उल्लेख गर्नु भएको छ । पटक पटकको कष्टसाध्य जेल जीवनका क्रममा होस् वा भूमिगत अवस्थामा उनको धैर्यशील स्वभावका थुप्रै दृष्टान्त पाउन सकिन्छ । त्यतिमात्र होइन राजकीय सुविधाको उपयोग गरेको स्थितिमा समेत आफ्नो निजी सुख, सुविधा र हितका लागि राष्ट्रलाई बोझ बोकाउने काम गरेको पाइँदैन ।

मार्क्सवाद र समाजवादको अटुट आस्था :
मनमोहन अधिकारी मार्क्सवादप्रति आकर्षित भएदेखि अनवरत र अटुट रूपमा त्यसप्रति आस्थावान् र क्रियाशील रहनु भयो । सन् १९४२ मा भारत छोडो आन्दोलनमा जेल परेदेखि २०५६ सालमा काठमाडौंको गोठाटरमा पार्टीको कार्यक्रममा जनसमुदायलाई सम्बोधन गर्दासम्म निरन्तर र मार्क्सवादको प्रचार र समाजवादको स्थापनाका पक्षमा लागिरहनु भयो । 

कम्युनिस्ट पार्टीमा आएको व्यापक विभाजन, देशभित्र दमनकारी शासन व्यवस्था आदिजस्ता जटिल परिस्थितिमा पनि आफ्नो आस्थामा अडिग रहनु भयो । हुनत उनी त्यति कट्टर कम्युनिस्ट होइनन्, काङ्ग्रेस वा पञ्च हुन नसकेका कारण नै कम्युनिस्ट भए जस्तो लाग्छ भनेर मूल्याङ्कन गर्ने पनि भेटिन्छन् । तथापि पूँजीवादले सिर्जना गरेका तमाम विचार, विकृति र सङ्कटहरूको समाधान समाजवादले मात्र दिन सक्छ भन्ने स्पष्ट अडान थियो ।

आर्थिक रूपमा पारदर्शी

मनमोहन अधिकारीले आफ्नो जीवनकालमा निकै आर्थिक कठिनाइहरूको सामना गर्नुपरेको थियो । पुख्र्यौली  जायजेथा राणा शासकले खोसेपछि आफ्ना पिताले दुःखजिलो गरी कमाएको थोरै आयआर्जनले परिवार धान्नुपरेको थियो । आर्थिक रूपमा कमजोर भएकै कारण रोग लाग्दासमेत समयमा उचार गर्न पाउनु भएको थिएन । खस्कँदो उमेर, रातदिनको मिहिनेत, नैतिकवान् चरित्र, आर्थिक कमजोरी आदिले गर्दा उनको रोगी शरीर झन्झन् शिथिल हुँदै गएको थियो । तथापि स्वस्थ मानसिकता र राष्ट्रप्रतिको प्रेममा कुनै कमी आएको थिएन । त्यसलाई रोक्न पनि सक्नुभएको थिएन । दृढ इच्छा शक्तिका अगाडि धन सम्पत्तिका हिसाबले कमजोर रहेका सबै विषयवस्तु फिक्का बन्दै गएका थिए ।

इतिहासकै लोकप्रिय प्रधानमन्त्री

मनमोहन अधिकारी आधुनिक नेपालका तमाम प्रधानमन्त्रीहरूमध्ये सबैभन्न्दा लोकप्रिय र सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ । हुन पनि उहाँले कहिल्यै पनि आफूलाई ठूलो मान्छे बनाउने कोसिस गर्नुभएन बरु ‘मलाई एक जना असल व्यक्तिका रूपमा सम्झिदिए पुग्छ’ भन्ने हिसाबले काम गर्नुभयो । 

छोटो समय देशमा शासनको नेतृत्व गर्न पाउँदा वृद्धवृद्धालाई भत्ता, गाउँका जनतालाई ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्दै सोझै बजेट गाउँमा पठाउने, अपाङ्ग, दलित पिछडिएका जाति आदिलाई राज्यको मूलधारमा ल्याउने गरी भएको नीतिगत निर्णय र तिनलाई कार्यान्वयन गराउनु भयो । त्यसैको परिणाम स्वरूप लोकप्रियताको शिखर चुम्न पुग्नुभयो । जुन कुरालाई आजसम्म पनि कसैले चुनौती दिन सकेका छैनन् । कुनै पनि मानिस कुराले होइन, काम र व्यवहारबाट आदर्श बन्न सक्छन् भन्ने कुरा मनमोहन अधिकारीले आफ्नो जीवनमा काम गरेर देखाइदिनु भयो ।

०००

मनमोहन अधिकारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण गर्ने क्षमता रहेको थियो । उहाँको ऐतिहासिक व्यक्तित्वलाई आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, अन्य दलका नेता कार्यकर्ताले पनि सम्मानका साथ हेर्ने गरेका थिए । 

उहाँको चिन्ता देश विकास गरी गरिबीमा रहेका नेपाली जनताको वनशैली बदल्ने कुरामा रहेको थियो । उहाँमा निःस्वार्थपन, निर्भीकता, स्वाभिमान, इमानदारी, धैर्यशील जस्ता गुण रहेका थिए । बालक, युवक, वृद्ध सबैलाई राज्यले त्यहीअनुसार सम्मान गर्नुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो । स्वयम् सबै उमेर समूहका र वर्गका व्यक्तिहरूसँग मिलेर बस्न सक्ने गुण रहेको थियो ।

०००
मनमोहन अधिकारीमा केही मानवीय दुर्बल पक्ष पनि रहेका थिए । उहाँको सबैभन्दा कमजोर पक्ष पार्टी सङ्गठन र सञ्चालनमा पुष्पलाल, तुल्सीलाल आदिले जस्तो निरन्तर प्रयत्न गरेको देखिँदैन । नेपालमा खुला रूपमा लामो समय बसेर पनि पार्टी सङ्गठन र सघन र व्यापक हुन सकेको थिएन । कुनै बेला पार्टीको सर्वोच्च तहमा पुगेको नेतालाई पार्टी खिइँदै जानु, साङ्गठनिक रुपले कमजोर हुनुजस्ता कुराले जति गम्भीर हुनुपर्दथ्यो त्यति बनाएको देखिँदैन । उहाँमा रहेका दुर्बल पक्षलाई यसरी उल्लेख गर्न सकिन्छ :

नकारात्मक पक्ष
सैद्धान्तिक तथा वैचारिक पाटोमा कमजोर

भन्ने गरिन्छ राजनीति नीतिमा चल्छ, नेतामा आधारित भएर होइन । मनमोहन अधिकारीले आफ्नो ६ दशक लामो जीवनमा हुने अविस्मरणीय सैद्धान्तिक एवम् दार्शनिक छाप छाडेर जान सक्नु भएन । विचारको क्षेत्रमा कहिले राजापरस्त जस्तो देखिने तर त्यसलाई खण्डन नगर्नुले उक्त आरोपबाट मुक्त हुन सक्नु भएन । 

सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणलाई दस्तावेजीय सङ्ग्रहका रूपमा सुरक्षित राखिदिनु भएका भए सायद उहाँ उक्त आरोपबाट आलोचित भइरहनुपर्ने थिएन । सैद्धान्तिक तथा दार्शनिक विचार प्रवाह गर्ने वैचारिक नेताका रूपमा स्थापित हुन नसक्नु कमजोरी थियो । 

साङ्गठनिक जीवनमा कमजोर
मनमोहन अधिकारीको ६ दशक लामो राजनीतिक जीवन निरन्तर र अथक देखिए पनि साङ्गठानिक जीवन कमजोर रहेको देखिन्छ । नेकपाको प्रथम महाधिवेशनबाट पहिलो निर्वाचित महासचिव चुनिएपछि सङ्गठनमा पकड राख्ने र सङ्गठन विस्तार गर्ने काममा जति भूमिका खेल्नु सक्थे, त्यति खेलेको देखिँदैन । त्यसपछिको दिनमा पनि सोहीअनुसारको गतिविधि गरेको देखिन्छ । फलतः उहाँको नेतृत्वमा न बलियो पार्टी सङ्गठन बन्यो, न असंख्य प्रशंसकहरू नै बने । यही कमजोर साङ्गठानिक जीवनका कारण शिखर पुरुष भए पनि अधिकार सम्पन्न शक्तिशाली नेताका रूपमा रहन सक्नु भएन ।

निर्णय क्षमताको अभाव
उहाँको अर्को कमजोरी यो पनि थियो कि उहाँ ऐनमौकामा स्पष्ट निर्णय दिन सक्नु हुँदैनथ्यो । सकेसम्म विवादमा नपरी उम्कन खोज्ने हुँदा कतिपय सवालमा निर्णय क्षमतामा कमजोर अवस्था पनि रहेको छ । त्यसैले जेलबाट निस्कँदा दिएको व्यक्तव्यपछि कम्युनिस्ट पार्टीका कतिपय नेताहरूले दरबारिया देखे भने दरबारियाहरूले जहिले पनि क्रान्तिकारी (कम्युनिस्ट) देखिरहेका थिए । समय र कालखण्डमा ठोस विश्लेषण गरी निर्णय लिएर काम गर्न नसक्नु राजनीतिक जीवनको कमजोर पक्ष थियो ।

यी माथि उल्लेख गरिएका सकारात्मक तथा नकारात्मक पक्षलाई हेर्दा मनमोहन अधिकारी सिद्धान्तवादी, निरन्तर आफ्नो उद्देश्यमा लागिरहने, कम्युनिस्ट पार्टीको नेता भइकन पनि प्रजातन्त्रका लागि लडिरहने अथक योद्धा, राष्ट्र र रष्ट्रियताका अनुयायी तथा जनताका पक्षधर नेताका रूपमा रहेको पाइन्छ । उहाँ कम्युनिस्ट पार्टीको शासन सत्ताका लागि भन्दा पनि प्रजातन्त्रकै लागि लड्नुभयो भन्ने ६ दशक लामो राजनीतिक घटनाक्रमबाट स्पष्ट हुन्छ ।

नेकपा एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद निर्माणमा परोक्ष वा प्रत्यक्ष रूपमा मनमोहन अधिकारीको चिन्तनले भूमिका खेलेको पाइन्छ । संसारमा कम्युनिस्टहरू शक्तिहीन बन्दै गएको अवस्थामा नेपालमा जनताबाट निर्वाचित भएर पटकपटक सत्तामा पुग्नमा मनमोहन अधिकारीको त्याग र चिन्तनले काम गरेको देखिन्छ ।

उहाँमा रहेको समर्पण, त्याग, निष्ठा, आदर्श र राजनीतिक निरन्तरताका कारण राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्थापित गर्यो । आजको पुस्तालाई तिनै सर्मपण, त्याग, निष्ठा, आदर्श र नैतिकता राजनीतिक शिक्षाका रूपमा छाडेर जानुभएको छ । जसको सान्दर्भिकतालाई आजका युवाशक्तिले बुझ्न सके राजनीतिक सफलताको पाटो बन्नेछ । 

(विद्यावारिधि शोधमा आधारित ढाकाराम सापकोटाको पुस्तक ‘मनमोहन अधिकारी : नेपाली राजनीतिमा ६ दशक’बाट ।)

मनमोहन मीमांसा-१ : शालीन र विनम्र नेता

- मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन

- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन

-मनमोहन मीमांसा-४ : प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...



Author

थप समाचार
ad
x