संगीत

अष्ट्रेलियामा गायिका समीक्षाले मान्छे छाडेको चर्चापछि ‘द स्योडोज’ गायक भन्छन्, – मानव तस्करी गर्नेलाई बहिष्कार गरौँ

इकागज |
भदौ ७, २०८० बिहीबार १७:११ बजे

काठमाडौँ - ‘द स्याडोज’ ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले कलाकार भिसाको नाममा मानव तस्करी गर्ने अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै अष्ट्रेलियामा हप्तै पिच्छे हुने कार्यक्रम कलाकारको मागका कारण नभई तस्करीको उद्देश्यले हुने गरेको उल्लेख गरेका छन् ।

‘गैर कलाकारलाई कलाकार भिसामा अष्ट्रेलिया लैजाने र छाड्ने उद्देश्यले यी कार्यक्रम भइरहेका छन्,’ उनले लेखेका छन् । उनले यो विषयमा कलाकारहरू पनि सचेत हुनुपर्ने बताएका छन् । उनले यो सम्बन्धमा अष्ट्रेलियाको हाइ कमिसनलाई पनि जानकारी गराइसकेको र भर्खरैको नयाँ कलाकारको नाम पनि यसमा जोडिएकाले सार्वजनिक रुपमा लेखेको बताएका छन् ।


‘हाइ कमिसनले यसमा अनुसन्धान गरोस् । यो काममा कलाकार संलग्न छन् कि आयोजक,’ उनले लेखेका छन् । उनले यही कारणले इमान्दारीका साथ कार्यक्रम आयोजना गर्ने आयोजक पनि पीडित हुन थालेको बताएका छन् ।  स्वप्निल शर्माको यो चासो त्यतिबेला व्यक्त भएको छ जतिबेला गायिका समीक्षा अधिकारीले अष्ट्रेलियामा कार्यक्रम गर्दा दिदी छाडेको खबर आएको छ । यही कारण हाइ कमिसनले उनलाई तीज कार्यक्रमका लागि भिसा नदिएको चर्चा चलेको थियो । समीक्षाले भने मान्छे छाडेको खबरको खण्डन गर्दै आर्थिक कागजात नमिलेकाले भिसा लिन दोहोर्याएर आवेदन दिएको बताएकी छिन् । 

केही समय पहिले अष्ट्रेलियामा दिदी शर्मिला अधिकारीका साथ समीक्षा अष्ट्रेलिया गएकी थिइन् । समीक्षा फर्के पनि शर्मिला भने उतै नै रहेकी छिन् । समीक्षाले आफ्नो कदमको बचाऊ गर्दै दिदीको भिसा बाँकी रहेकाले उतै बसिरहेको फेसबुकमा उल्लेख गरेकी छिन् ।
 


Author

थप समाचार
x