संगीत

कन्सर्टको आम्दानी भूकम्प पीडितलाई दिँदै गायक सुनिल सिंह ठकुरी

इकागज |
कात्तिक १९, २०८० आइतबार १४:११ बजे

नेपालगन्ज -  नेपालगन्जमा कात्तिक २४ गते हुन लागेको ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने भएको छ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको उक्त कन्सर्टमा पप गायक सुनिल सिंह ठकुरी र स्थानीयले कलाकारले आफनो प्रस्तुति राख्ने तयारी गरिरहेका छन् ।

सुनिलको पहिलो पटक आफनो गृह जिल्लामा एकल कन्सर्ट हुन लागेको हो । यसअघि उक्त कन्सर्ट आयोजनाबाट भएको आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने भनिएको थियो । तर गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुममा धेरै मानवीय क्षति भएकोले प्रभावित क्षेत्रका जनताको लागि उठेको सहयोग गरिने गायक सुनिल सिंह ठकुरीले बताए । प्रभावित जिल्लामा गएर जिल्ला प्रशासन कार्यालयको अनुमति र समन्वयमा सहयोग गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताएका छन् । 


आगामी कात्तिक २४ गते रामलीला मैदान नेपालगन्जमा हुने कन्सर्टमा स्थानीय म्युजिक ब्यान्ड आवाज द ब्यान्ड, स्थानीय कलाकारको एकल तथा सामूहिक नृत्य लगायतको प्रस्तुति रहनेछन् । कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टलसमेत राखिनेछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टमा स्थानीय कलाकारलाई प्रोत्साहने गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुति दिनेछन् ।

कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाईन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाइभ देखाइनेछ । गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यू गरेका थिए ।

ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।

 


Author

थप समाचार
x