संगीत

सिस्नुपानी नेपालद्वारा गायिका मेनुका पौडेल सम्मानित

इकागज |
चैत २७, २०८० मंगलबार १०:४८ बजे

काठमाडौँ- सिस्नुपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई रु एक लाख रूपैयाँले सम्मान गरेका हुन् ।

कार्यक्रमा टिकाराम यात्रीको स्वरमा वृत्तचित्र प्रस्तुति, सात प्रदेशका प्रतिनिधि संगीत, अन्तरा समूहले सुनाएको थियो । ‘राष्ट्र ‘ शीर्षकको गीत शिशिर योगीले गाएका थिए भने उक्त गीतको शब्द भने टंक आचार्यको रहेको थियो ।


संगीत संयोजन अशोक राईको रहेको थियो। सीता सुवेदी र सरोज लामिछानेले विशेष नृत्य र चित्रकला देखाएका थिए भने लक्ष्मण गाम्नाग्गे र अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए ।

अबको नेपालबारे प्रेन्सा रेग्मीले आफ्नो विचार प्रस्तुत गरेकी थिइन् भने मिथिला नाट्य परिषद्ले देशभक्त झल्किने मिथिला नृत्य देखाएको थियो । कार्यक्रममा सम्मानित चर्चित गायिका पौडेलले राष्ट्र गायन गरेकी थिइन् भने नेपाली सेनाले जय जय जय गोर्खाली शीर्षकको गीतमा राष्ट्र भक्ति नृत्य देखाएको थियो। मनोज गजुरेल र चक्र दवाडीले शहिदगेट शीर्षकममा प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो। दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए ।

संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको भन्दै भूगोल जनता सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए ।

‘राष्ट्र भन्नु मुर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो। आज यति सुन्दर राष्ट्र छोडेर जिविकोपार्जनका लागि विदेशीने कर्मशील नेपाली र सँधैको लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ ।

कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रुमलिएको पाइन्छ । राष्ट्र निर्माणमा अतुलनीय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्ट्र र राष्ट्रियता प्रतिको भकक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा कार्यक्रम गरिएको हो। मानवमूल्य र इतिहिप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरि साहित्य कला र विचारको कार्यक्रम गरिएको हो।‘


Author

थप समाचार
x