संगीत

पप गायकको कमजोर कमब्याक

इकागज |
असोज १७, २०७८ आइतबार १३:३४ बजे

काठमाडौँ -  ५०/६०को दशकमा चर्चामा रहेका पप गायकले गायनमा अझै हार मानिसकेका छैनन् । फाट्टफुट्ट गीत निकालिरहेका छन् । तर, उनीहरूका गीतले पहिलाको तुलनामा बिर्सन लायक स्रोता र दर्शक पाइरहेका छन् । 

पहिलो पप गायकको रुपमा सम्बोधित हुँदै आएका ओमविक्रम बिष्टले दुई दिनअघि मात्र नयाँ गीत सार्वजनिक गरेका छन् । ‘उनी आउने’ बोलको यो गीतमा अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन् । नेपालका थुप्रै अनलाइनमा यसको समाचार पनि आएको छ तर यो गीतको भ्युज मुस्किलले ४ हजार कटेको छ । 


फिल्मभन्दा कम प्रचार थिएन निमा रुम्बाको स्वरमा सार्वजनिक भएको ‘पागल प्रेमी २’ गीतको । टिजर नै फिल्मको जस्तो थियो । यो पनि अमेरिकामामै छायांकन भएको थियो । हप्ता दिनअघि सार्वजनिक भएको निमा रुम्बाको यो गीतले पनि दर्शक भेट्न सकेको छैन । यो गीत पनि मुस्किलले २ लाख कटेको छ । 

थकाइ नमारी सक्रिय रहेका नबिन के भट्टराईले पनि एक महिनाकै बीचमा दुई दुई गीत सार्वजनिक गरेका थिए । तर, नबिनका दुवै गीतमा दर्शकले पहिलेको जादु महसुस गर्न सकेनन् । बजारमा प्रेमी–प्रेमिकाको रुपमा रहेका वर्षा सिवाकोटी र राज कटुवाललाई खेलाउँदा पनि भिडियोमा भ्युज छैन ।

‘सम्झिरन्छु’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र उनका प्रेमी राज कटुवाल फिचर्ड छन् । रिलिजको एक महिनामा बल्ल यो गीतले १ लाख भ्युज पाएको छ । यो पछि रिलिज भएको नबिनकै ‘खाली यो मनमा’ बोलको गीतको त झनै माया लाग्दो स्थिति छ । यो गीत अहिलेसम्म बल्ल ३७ हजारले हेरेका छन् । 

नबिन के भट्टराईले संगीतमा कमब्याक गरेको भन्न मिल्दैन । नबिन के भट्टराई निरन्तर गीत निकालिरहेका छन् । तर ओमविक्रम बिष्ट र निमा रुम्बा भने लामो समयपछि गायनमा फर्किएका हुन् । युट्युबको भ्युजलाई कुनै पनि गीतको सफलताको मापक मान्नु गलत हुन्छ तर माथि उल्लेखित तीनै गायकका अडियोमा पनि ताजापन महसुस गर्न सकिन्न । अडियो कमजोर हुँदा पप गायकको कमब्याक फितलो देखिएको छ । 


Author

थप समाचार
x