छिमेक

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

इकागज |
साउन ८, २०८० सोमबार १४:० बजे

कोलकाता- भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ ।

उनले भने, 'सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।' पुख्र्यौली घर रामेछाप भई पछि बसाई सरेर सर्लाही पुगेका र काठमाडौँमा पनि घर बनाएका उनी  कोलकातास्थित ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का ‘चेयरम्यान’ को जिम्मेवारीसहित विभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् ।


भारतको कोलकोतामा रहेका नेपाली र नेपाली भाषी भारतीयको आर्थिक र सामाजिक अवस्थाबारेको जिज्ञाशामा हाल काकुरगाछी निवासी श्रेष्ठले भने,  'मानिसले जीविका चलाएका छन् तर आगामी दिनमा भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू भएपछि समस्या हुन पनि सक्ने भएकाले सजग हुनुपर्छ । अब यहाँ हाम्रा लागि स्कोप घटेको छ ।'

उनले नयाँ पुस्ताका नेपालीलाई अब यहाँ व्यवसाय वा रोजगारीमा पहिला जस्तो फाइदा हुँदैन । नेपालमै केही गर्न वा तेस्रो मुलुकमा गएर आफ्नो दक्षता देखाउन उनको सुझाव छ । श्रेष्ठको कम्पनीमा कोभिड–१९ महामारी अघि ४० नेपाली श्रमिक थिए भने हाल घटेर १३ जना मात्रै बाँकी छन् ।​

कोलकोतामा नेपाली भाषी चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटेल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इञ्जिनियरिङ पेसामा समेत संलग्न छन् । अबका दिनमा दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्न हालसम्म समस्या नभए पनि एक मुलुकको नागरिकता त्याग्नुपर्ने जस्ता प्रावधान आएमा कानुनी समस्या पर्न सक्ने देखिन्छ ।

नेपाली भाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरुले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् ।

हरेक वर्ष वडा दसैँका अवसरमा नवरात्र सुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिँदै आएको छ । गत वर्ष समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरेको सो समितिका महासचिव नरविक्रम थापाले जनाए । थापाको सम्पादनमा हरेक दसैँका अवसरमा ‘मौलो’ पत्रिका प्रकाशन गर्दै आएको छ ।

यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरुको सहभागिता हुने गरेको छ । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा २१० औँ भानुजयन्ती मनाएको छ । यो समितिले ‘नौलो बिहानी’ वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ । खिमराज बराल अध्यक्ष रहेको भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्ष अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्दै आएको छ ।

जानकी माता नेपाली धार्मिक सङ्घ’ ले समय समयमा रक्तदान, होलीमिलन, स्वास्थ्य शिविर, हरेक शनिबार गरिब तथा न्यून आय भएका समुदायलाई निःशुल्क भोजन गराउँदै आएको छ । सङ्घले  दुई वर्षअघि मेलम्ची बाढीपीडितलाई रु चार लाख र हालै रामेछापका मिर्गाैला पीडित नवनाराण श्रेष्ठलाई रु ७३ हजार सहयोगलगायतका कार्य गरेर सामाजिक सद्भावको सन्देश दिँदै आएको उक्त संस्थाका सभापति गुञ्जदास श्रेष्ठले बताए । यो संस्थाले आपसमा चन्दा उठाएर बारानगरमा कार्यालयका लागि घर पनि किनिसकेको छ । सामाजिक सेवाको भावनाले काम गरिरहेकाले यस संस्थालाई यहाँको सरकारले एम्बुलेन्स सञ्चालनको पनि जिम्मेवारी दिएको छ । आपत विपत्मा परेका स्थानीयले यसबाट सेवा पाउँछन् ।

कोलकोताको ‘इलेक्ट्रिसिटी सप्लाइ कर्पाेरेशन’ मा ३४ वर्षदेखि कार्यरत बारानगर निवासी तिलकराम शर्माले यतै स्थायी बसोबास गर्न थालेका छन् । अर्घाखाँचीमा जन्मिएका शर्माका श्रीमती रमा शर्मा पौडेल नेपालको शिक्षण पेसा छाडेर श्रीमान्का साथमा सामाजिक सेवाका कार्यमा सक्रिय छिन् । तिलकराम ‘जानकी माता नेपाली धार्मिक सङ्घ’ का मा महासचिव र श्रीमती शर्मा जानकी माता महिला कल्याणकारी कोष’ का अध्यक्ष हुन् । श्रीमती शर्माले आफूहरुले कोषबाट गर्भवती महिलालाई माइतीको अनुभूति दिलाउन दही–चिउरा खुवाउनेजस्ता कार्यक्रम आरम्भ गरिएको जानकारी दिइन् ।

संयुक्त नेपाली वेलफेयर ट्रष्टले न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा करिब भारु ३० को लागतमा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माण कार्य सुरु गरिसकेको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ । मन्दिर बनाउन केशव अधिकारी क्षेत्रीको अध्यक्षतामा समिति गठन गरिएको छ ।

जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले जीवनको उर्बर समयमा यहाँ आएर अनेक दुःख हण्डर खाए पनि आफूहरुले जीवन गुजारा गर्दै सामाजिक सेवाका कार्यलाई प्राथमिकता दिने गरेको  सुनाए । सिन्धुलीको बाँसकटेरी जन्मिएका थापा ११ वर्षको उमेरमा आफ्ना कान्छा मामा र दाइ नरविक्रम थापाका माध्यमबाट कोलकाता पुगेका थियो । सुरुमा औषधि पसलमा र पछि निजी विद्यालयमा सेवा गरेका बद्रीविक्रमको विवाह पश्चिम बंगालकै सपना थापासँग विवाह भयो । श्रीमती थापा यसबीचमा नेपाल आउने जाने गरेकाले नेपालको जनजीविका र संस्कारप्रति आकर्षित भएकाले बुढ्यौलीमा उहाँ नेपालमै बस्ने इच्छा रहेको बताउँछिन् ।

यस्तै समितिका महासचिव रामबहादुर कार्कीले आफ्ना पिताले काम गरेको भारतको श्रम मन्त्रालयमातको केन्द्रीय प्रशिक्षण संस्थानमा सेवा गर्दै आएका छन् । पुख्र्यौली घर संखुवासभाको पुपाङ्गु भएका कार्की अवकाशपछि सुनसरीको इटहरीमा फर्किएर बस्ने योजनामा छन् । पाल्पाको गल्याङमा जन्मिएका बाबुराम शर्मा बस्याल मध्यप्रदेशको पर्यटन विभागमा ‘कुक’ को अनुभव लिएर अवकाश लिइसकेका छन् । उनले दिल्ली, उडिसालगायतका सहरमा दुःखका साथ काम गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिएकाले उनीहरुले त्यस्तो दुःख नहुने विश्वास व्यक्त गरे ।

पछिल्ला वर्षमा भारतमा रहेका नेपाली र नेपालीभाषी भारतीयसँग सम्बन्ध सेतुको कार्य गर्दै आएका साहित्यकार धर्मराज बराल नेपाल सरकारले यहाँका नेपालीभाषी र नेपालीको सद्भावना वृद्धिका लागि ध्यान नदिएको बताउँछन् । उनले नेपाल सरकारका संयन्त्रको हार्दिकता बढेमा दुई देशबीचको सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक सम्बन्धमा ठूलो टेवा पुग्ने बताए ।

नेपालको एक पुरानो ‘मिसन’ कोलकोतास्थित नेपाली महावाणिज्यदूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको कोलकोतास्थित शाखाले दुई देशबीचको व्यापार, पारवहन र दुईपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको  छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले आफूहरु नेपाली र नेपालीभाषीकै हितका साथै दुईपक्षीय सम्बन्धका लागि कार्य गरिरहेको बताउँछन् । उनले तेस्रो मुलुकबाट सामान आयात र निर्यातका काम तथा यहाँ आएर कोही अलपत्र परेका वा हिरासतमा रहेका नेपाली महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार र पुनःस्थापना गर्ने कार्य गर्दै जानकारी दिए । 'हामीले नेपाली समुदायका नाममा रहेका विभिन्न सामाजिक संस्थालाई एकाकार गराउँदै नेपालका राष्ट्रिय दिवस र कार्यक्रममा जोड्दै आएका छौँ । नेपाली समुदायले गर्ने गरेका गतिविधिमा गक्षअनुसार सहयोग पनि गर्दै आएका छौँ ' तिमिल्सनाले भने । महावाणिज्यदूतावासले प्रवेशाज्ञा र राहदानीका कामका साथै नेपालमा लगानी र पर्यटक भित्र्याउने कार्यको प्रवद्र्धन पनि गर्दै आएको छ ।  यस्तै विद्यार्थीका लागि छात्रवृत्तिमा समन्वय र आपसी अन्तक्र्रिया गर्ने पनि गर्दै आएको छ । रासस


Author

थप समाचार
x