प्रमुख समाचार

घट्यो काठमाडौँको वायु प्रदूषण

इकागज |
चैत २७, २०७७ शुक्रबार ८:५० बजे

काठमाडौँ : दुई हप्तादेखि काठमाडौँ उपत्यकामा भयावह बनेको वायु प्रदूषण केही घटेको छ । बिहीबार दिउँसोदेखि सुधार हुँदै गएको वायु प्रदूषण शुक्रबार बिहानसम्म धेरै हदसम्म कम भएको छ । तर यो सुधार केही दिनका लागि मात्रै रहने वातावरणविदको भनाइ छ ।

हावाको गुणस्तर मापन गर्ने वेब एजेन्सी ‘आईक्युएयर र्‍याङकिङ’अनुसार नेपाल विश्वकै प्रदूषित सहरको शीर्ष स्थानबाट झरेर ९३ औँ स्थानमा पुगेको छ । यो शुक्रबार बिहानको तथ्यांक हो । विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा यो समाचार तयार पार्दा चीन सेनयाङ सहर छ ।


यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर छ । यस्तै दुबई, ढाका, भारतको मुम्बई र दिल्ली पनि विश्वकै प्रदूषित सहरको सूचीमा छन् । काठमाडौमा मौसममा सुधार आएसँगै वायु प्रदूषण कम भएको हो । पछिल्लो समय वनमा आगलागी भएपछि काठमाडौँको वायु प्रदूषण खतराको तहमा पुग्नुका साथै आँखा पोल्ने समस्या बढेको थियो ।

बिहीबार उपत्यकामा हावा लागेका कारण मौसम सफा देखिनुका साथै प्रदूषण केही मात्रामा हटेको वातावरणविद भुषण तुलाधार बताउँछन् । हावा नलाग्नु, पानी नपर्नु, आगालागीका घटना धेरै हुनुले प्रदूषण बढेको हो । बिहीबार केही ठाउँमा पानी परेको र हावा पनि लागेको प्रदूषण हटेको उनको भनाई छ ।

‘केही ठाउँमा पानी परेको थियो । हल्का हावा पनि लागेपछि प्रदूषण केही कम भएको हो’ उनले इकागजसँग भने, ‘आगालागी नरोकिएकाले फेरि प्रदूषण बढ्न सक्छ ।’ उपत्यकामा गाडी, कलकारखानाका कारण प्रदूषण बढ्नुका साथै आगलागी नरोकिएकाले फेरि केही दिनमा नै प्रदूषण बढ्ने उनले बताए ।

वायु प्रदूषणका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदूषणको तत्कालिन असर नदेखिएपनि दीर्घकालिन असर भयानक हुने गरेको विज्ञहरुको भनाइ छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारको मौसम सफा छ । केही ठाउँमा बदलीको सम्भावना रहेपनि दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँमा बिहानैदेखि आकाश सफा देखिएको छ भने घाम पनि लागेको छ । 


 


Author

थप समाचार
x