प्रमुख समाचार

भण्डारी र सीबीच टेलिफोन वार्ता

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने

भारतीय राष्ट्रपतिलाई पनि खोप उपलब्ध गराउन पत्र

चन्द्रशेखर अधिकारी |
जेठ १२, २०७८ बुधबार १८:३८ बजे

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई कोभिड-१९ विरुद्धको १० लाख डाेज खाेप दिने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन संवादमा सीले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल १० लाख डोज खोप सहयोग गर्ने बताएका हुन् । 

संवादमा सीले कोभिड-१९ को महामारीमा नेपालले अहिले भोगिरहेको समस्यालाई सम्बोधन गर्न आवश्यक खोप तथा स्वास्‍थ्‍य सामग्री चीनले उपलब्ध गराउने बताएका हुन् ।


टेलिफोन संवादमा नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । भण्डारीले आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले त्यस्तो आश्‍वासन दिएका हुन् । नेपाल-चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता संवादमा सीले व्यक्त गरेका थिए । 

भण्डारीले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा चीन सरकारले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै थप खोप र स्वास्‍थ्‍य सामग्री उपलब्ध गराउन आग्रह गरेकी हुन् ।भण्डारीले नेपाललाई तत्काल खोप चाहिएकाले त्यसको खरिदका लागि सहजीकरण गरिदिन सीलाई आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ ।  चीनले नेपाललाई खोप उपलब्ध गराउने भने पनि नेपालको स्थानीय एजेन्ट नहुने भनेपछि सरकारले नै खोप लिन आनकानी गरिरहेको अवस्थामा राष्ट्रपतिले यस्तो आग्रह  गरेकी हुन् ।

चिनियाँ सरकारी विचाैलियामार्फत नै खोप आउने र नेपालकाे विचौलिया कमिसन नहुने भएपछि सरकारका प्रतिनिधिहरू स्थानीय विचौलिया तय गर्न लाग्दा चीनबाट खोप आउन नसकेको दूतावासनिकट एक अधिकारीले इकागजसँग खुलासा गरेका थिए । तर, अहिले राष्ट्रपति भण्डारीको तहबाट नै खोपको विषय उठेको हुनाले चीनले १० लाख डोज थप खोप अनुदानमा दिने घोषणा गरेको हो । 

छलफलमा चीनले नेपालले खरिद गर्ने खोपमा पनि सहजीकरण गर्ने बताएको छ । बुधबार दिउँसो पौने घण्टा दुई राष्टपतिबीच संवाद भएको हो । सीले संवादको क्रममा नेपाललाई पर्ने सबै खाले सहयोग गर्न चीन तयार रहेको बताएका थिए । उनीहरूबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यावन्यनको विषय र सहयोगबारेमा पनि छलफल भएको थियो । 

यो पनि...

चीनबाट १० लाख खोप नेपाल ल्याइँदै

चिनियाँ राष्टपतिले नेपालले पछिल्लो राजनीतिक विषयमा पनि चासो राखेको स्रोतले बतायो । नेपालको राजनीति अवस्थाबारे पनि छलफल भएको र सबै मिलेर समधान निकाल्न सीले आग्रह गरेका थिए । यतिबेला नेपाली जनताको जीवन बचाउन लागि खोप अत्यावश्यक रहेको भन्दै सीले अनुदान सहयोगमा खोप उपलब्ध गराउने बताएका हुन् । 

अहिलेको अवस्थामा कोभिड-१९ विरुद्धको खोप नेपाललाई आवश्यक रहेको भन्दै त्यसमा सहयोग गर्न राष्टपति भण्डारीले आग्रह गरेकी थिइन् । 'नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’ राष्ट्रपति भण्डारीले सीलाई भनेको उनको सचिवालयले जनाएको छ । 

चीनले नेपाललाई कोभिड रोकथाम र नियन्त्रणको लागि हालसम्म स्वास्थ्य सामग्रीसहित ८ लाख सिनोफार्मको भेरोसेल खोप अनुदान सहयोग गरेको छ । थप १० लाख खोप चीनले तत्काल खरिदको प्रक्रियामा पनि लैजाने भएको छ । अहिले चीनमा सिंगल डोज खोपसमेत प्रयोगमा आएको छ । त्यस विषयमा पनि छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् । भारतसँग खोप खरिद गरेर पनि भारतले अझै खोप उपलब्ध नगराएको कारण पनि उनले आफ्नो तर्फबाट खोपको पहल गरेकी हुन । भारतसँग खोप खरिद गरेपछि नेपालले पहिले उपलब्ध खोप लगाएको तर दोस्रो डोज लगाउन खोप नभएर अलमलमा परेको अवस्था छ । त्यसको कारण पनि राष्टपतिले यो प्रकारको पहल गरेकी हुन् । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x