प्रमुख समाचार

कोभिडले परिवार नै उजाड्यो

अस्‍पतालको शैय्‍यामा बुहारी, जसलाई परिवारकै तीन जना बितेको थाहै छैन

बिक्रम खड्का |
जेठ १३, २०७८ बिहीबार १३:२४ बजे

सांकेतिक तस्बिर

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा नौ दिनभित्र कोभिड १९ का कारण एकै घरका तीन जनाको मृत्यु भएको छ । यीमध्ये एक जनाको होम आइसोलेसनमा र दुई जनाको उपचारका क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा मृत्यु भएको आफन्त जेवी गुरुङले जानकारीदिए । 

उनकाअनुसार मृत्यु हुनेमा नरबहादुर गुरुङ (७०), उनकी श्रीमती मनसुवा(६३) र छोरा प्रेम(३८) छन् । संक्रमित भई घरमै बसेकी मनसुवाको नौ दिनअघि ५ जेठमा मृत्यु भएको थिय‍ो। सोही वडाका वडाध्यक्ष पदम थापाकाअनुसार २ जेठमा मनसुवाको कोभिड रिपोर्ट पोजिटिभ आएको थियो । उनको श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजनको व्यवस्थापन मिलाइएको थियो । संक्रमणले च्याप्दै गएपछि ५ गते मृत्यु भयो ।


घरमा श्रीमतीलाई कोभिड पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमको परीक्षण गर्दा दुवै जनामा संक्रमण देखियो । सास फेर्न गाह्रो हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भए। उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा मृत्यु भयो । नरबहादुर गुरुङले १२ जेठमा अस्पतालमै ज्यान गएको हो । उनीहरूको मृत्यु भएपनि बुहारी (३२) अहिले उपचारकै क्रममा अस्पतालमा छिन् । 

उनलाई परिवारका सदस्यको मृत्युको खखर समेत दिएका छैनन् । आफन्त जेवी गुरुङले कोभिडले परिवार नै उजाड बनाएको बताए । 'हाम्रो परिवार कोभिडले उजाड बनायो, यसलाई कसैले कमजोरीका रूपमा कसैले नलिऔं,' उनले भने । गुरुङका दुई छोरी र एक छोरा हुन् । छोराको कोभिडका कारण ज्‍यान गइसकेको छ भने एक जना सानो नाति छन् । बाँकी दुई छोरी भने सकुसल रहेको आफन्‍तले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x