प्रमुख समाचार

निषेधाज्ञा खुकुलो भएकै दिन उपत्यकामा कोभिड संक्रमण बढ्यो

व्यवसायीलाई सटर भाडाकै चिन्ता

अतिन आचार्य |
असार ८, २०७८ मंगलबार २०:० बजे

काठमाडौँ : मुलुकमा कोभिड संक्रमणको दोस्रो लहर चलिरहेको छ । केही दिनयता संक्रमण र मृत्युदर पनि कम हुँदै गएको छ । जनजीवन सहज बनाउँदै काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाएका छन् ।

तर, निषेधाज्ञा खुकुलो भएको पहिलो दिन चार हजार ५२२ जनामा कोभिड देखिएको छ । अघिल्लो दिनको तुलनामा आज संक्रमण बढेको हो । सोमबार २ हजार २९७ जनामा संक्रमण देखिएको थियो । यसले अझै पनि मुलुकमा संक्रमण जोखिम नघटेको पुष्‍टि गरेको छ । उपत्यकामा ४७६ जनामा संक्रमण देखियो ।


संक्रमण बढ्यो तर, मानिसको सडक र बजारमा मानिसको चहलपहल सुरु भएको छ । काठमाडौँको न्युरोड खिचापोखरीलाई व्यस्त बजारको रुपमा लिइन्छ । सडकका दायाँबायाँ भागमा केही संख्यामा मोटरसाइकल पार्किङ गरिएको छ । निषेधाज्ञा खुकुलो भएको पहिलो दिन मानिसको आवतजावतमा पनि कम छ ।अधिकांश सटर बन्द छन् केही व्यापारी भने आधा सटर तानेर सफाई गर्दै थिए ।

कर संकलन गर्न निषेधाज्ञा ?

सुबास पराजुली आफ्नै फेन्सी पसलमा ५५ दिनपछि आएका छन् । पसलमा ग्राहक आएका छैनन् । उनको पसल खोल्ने दिन बुधबार हो । जिल्ला प्रशासन कार्यालयले बार तोकेर पसल खोल्ने अनुमति दिएको छ । पसल खोल्न नपाए पनि उनी सफाइ गर्न आएका हुन् ।

करिब दुई महिना पसल बन्द गर्नुपरेकाले उनको मुहारबाट खुसी भागेको छ । 'निषेधाज्ञाअघि दैनिक १५ देखि २० हजार रुपैयाँको व्यापार हुन्थ्यो,' उनी भन्छन,' अहिले महामारीकै बीचमा पनि बार तोकेर पसल खुल्ने भएको छ । पसल खोलेर के गर्नु कोही ग्राहक आउँदैनन् ।' 

खिचापोखरी व्यापारीक क्षेत्र भएकाले यहाँ सटर भाडा मँहगो छ । यस क्षेत्रका अधिकांश सटर व्यापार गर्नका लागि पूर्ण रुपमा भरिभराउ छ  पराजुलीले मासिक सटरको भाडा ४० हजार बुझाउने गरेका छन् । महामारीले व्यापार बन्दै भए पनि भाडा भने उनले तिरिरहनु परेको छ । उनलाई अहिले सटरभाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । 'सरकारले निषेधाज्ञा खोलिदियो तर सटर भाडा कसरी तिर्नु,' पराजुली भन्छन् ।

गत वर्षदेखि कोभिड सुरु भएपछि व्यापार खस्कँदै गएको उनी बताउँछन् । गत वर्षको दशैँ तिहारपछि थलिएको व्यापारमा केही राहत थपिए पनि दोस्रो लहरले पुन थला पारेको छ । दोस्रो लहरको कोभिड सुरु हुनु भन्दाअघि लय समाउँदै गरेको व्यापारले पुनः थला पारेको उनी बताउँछन् ।

'निषेधाज्ञा खुकुलो भए पनि ग्राहक आएनन भने पसल खोलेर बस्नु भनेको कोभिडको जोखिम बढनु हो,' सुवास भन्छन्,' सरकारले कर संकलन गर्न मात्र निषेधाज्ञा लुज गरेको हो ।'

न्युरोडकै ताम्राकार हाउसलाई मोबाइल हब बजारको रुपमा लिइन्छ । अरुबेला सुनसान रहने त्यस क्षेत्र आज भने फरक दृश्‍य देखिएको थियो । मोबाइल खरिद तथा बिक्री गर्नका लागि मानिसहरूको त्यस क्षेत्रमा भिड लाग्ने गर्छ ।

मोबाइल पसलमा भने भिड

रोनिक्स मोबाइल पसलका सेल्स म्यान आशिष राणा निषेधाज्ञा खुलेको पहिलो दिन भएकाले धेरै मानिस मोबाइल खरिद गर्न आएको बताउँछन् । निषेधाज्ञा खुलेको पहिलो दिन भएकाले पनि ग्राहकको कमी भएको उनले बताए ।

पसलमा सामाजिक दूरी कायम गरी खरिद बिक्रीको काम भइरहेको राणाको भनाइ छ । 'पसलभित्र मास्क र सामाजिक दूरी अनिवार्य कायम गरिएको छ,' उनी भन्छन्,' बिहानीको समयमा ग्राहकको संख्यामा कमी भए पनि अहिले मध्यान्हमा ग्राहकको संख्या बढेको हो ।' सरकारले निषेधाज्ञा खुकुलो गरी कर संकलन गर्न खोजेको उनले आरोप लगाए ।

राणाले अनलाइन कक्षाका लागि बढी प्रयोग गर्नेगरी मोबाइल खरिद गर्न आएको जानकारी दिए । विद्यालयस्तरका बालबालिकालाई पढाउन अभिभावक मोबाइल खरिद गर्न आइरहेको उनले बताए ।

'बजार अनुगमन तीव्रता बनाइन्छ'

निषेधाज्ञालाई खुकुलो बनाए पनि नागरिकलाई सहजै आवतजावत गर्न नदिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल बताउँछन् । प्रशासनले तोकेको मापदण्ड भन्दा बाहिर गए कारबाही गरिने उनको भनाइ छ । प्रहरीलाई जिल्लाभित्रका विभिन्‍न स्थानमा व्यापक रूपमा परिचालन गरिएको उनले जानकारी दिए ।

'प्रशासनले तोकेको समय भन्दाअघि कुनै पनि पसल खोल्न नदिने तयारी गरी सुरक्षाकर्मी परिचालन गरिन्छ,' पराजुली भन्छन्,'प्रशासनको निर्देशन पालना नगरेमा कारबाही गरिन्छ ।' बजार अनुगमनलाई तीव्रता दिइने उनको भनाइ छ ।

बजार अनुगमनका गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा एक समिति बनाइएको पराजुलीले जानकारी दिए । निषेधाज्ञा गरी कोभिड नियन्त्रणमा आएको उनको दाबी छ । प्रशासनको निर्देशन उल्लंघन गरेको जस्तो भएमा पुनः निषेधाज्ञा गरिने उनले सुनाए । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x