प्रमुख समाचार

एउटा अध्याय पूरा भयो, अब एमाले मिलाउन लाग्छु : माधव नेपाल

इकागज |
असार २८, २०७८ सोमबार २०:३५ बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा आफू अब नरहने बताएका छन् । आज साँझ कोटेश्‍वरमा बसेको गठबन्धनको बैठकमा नेपालले सरकारलाई विश्वासको मत दिने या नदिने टुंगो पनि सिंगो एमालेले गर्ने जानकारी गठबन्धनलाई दिए ।

उनले एउटा सहकार्यका अध्याय पूरा भएको र आगामी दिनमा आफ्नो भूमिका फरक हुने भन्दै गठबन्धनमा नरहने जानकारी दिए । नेपालले देउवालाई सहमतीय सरकार बनाउनसमेत सुझाए ।  


उनले आफ्नो बचन पूरा गरेको भन्‍ने शैलीमा त्यस्तो धारणा व्यक्त गरिरहँदा एमालेमा आइतबार भएको सहमति अनुरुप उनी एमालेभित्रै थप संघर्ष गरेर अघि बढ्न खोजेको देखिन्छ । सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको जानकारी उनले बैठकमा पटक-पटक दोहोर्‍याएका थिए । 

‘प्रतिनिधि सभा पुनःस्थापना भयो । यसले लोकतन्त्र र नागरिकको मेहनत बचेको छ । त्यसैले यो अध्याय अहिलेलाई सकिएको छ,’ उनलाई उद्धृत बैठकमा सहभागी एक नेताले भने, ‘संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएँ र यहाँसम्म साथ दिए । आवश्यक परे रहन्छु पनि । तर एउटा अध्याय पूरा भएको छ । हाम्रो पार्टीमा देखिएको विवाद पनि मिल्ने दिशामा गएको छ । अब मेरो ध्यान पार्टी मिलाएर लैजाने हुन्छ ।’ 

एमालेको झलनाथ खनाल र नेपाल समूह तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह सम्मिलित कार्यदलले सकारात्मक काम गरिरहेको जानकारी पनि नेपालले दिएका थिए । अब कार्यदलले गरेको सहमति अनुसार पार्टीलाई मिलाउनतर्फ आफू लाग्‍ने  आफू निकट नेताहरूलाई जानकारी दिइसकेको पनि बैठकमा नै बताएकाे अर्का नेताले जानकारी दिए ।  

उनले सरकारमा जाने-नजाने विषय नेपालको निर्णयले मात्र नहुँने बताए । त्यो विषय भनेको एमालेले निर्णय गर्ने उनको भनाइ थियो । त्यसमा स्पष्ट हुन गठबन्धनलाई नेपालले आग्रह नै गरे । पार्टी अध्यक्ष ओली,वरिष्ठ नेता झलनाथ खनाल र आफू (नेपाल) सहितका पार्टीका कमिटीहरूले गरेका निर्णयका आधारमा एमाले अघि बढ्ने उनको भनाइ थियो । 

नेपालले गठबन्धनलाई स्पष्ट रूपमा नै आफ्नो पार्टी एकताबद्ध गर्ने अभियानमा लाग्‍ने जानकारी दिएका हुन् । गठबन्धनले भने नेपाललाई राष्ट्रपतिमा अघि बढाउने तयारी गरिरहेको छ । वर्तमान राष्ट्रपतिको भूमिकालाई लिएर प्रश्‍न उठेको र दुई पटकसम्म अदालतले नै उनको ध्येय माथि प्रश्‍न उठाएर निर्णय उल्टाएको अवस्थामा गठबन्धनले राष्ट्रपति परिवर्तनको कुरा उठाएको हो । 

बैठकमा दाहालले त एमालेलाई नेतृत्व दिन सक्ने व्यक्ति भनेकै नेपाल हो भन्दै आफू इतरकालाई पनि पक्षधर बनाएर अघि बढेकामा आफूहरू खुसी हुने बताए । उनी पक्षधर भनेर चिनिएकाहरू नै स्थायी कमिटि बैठकमा सहभागी भएर अदालतको फैसलाबारे छलफल गरेका थिए । आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्‍नेमा पनि छलफल भएको थियो । यस्तो छलफल चलिरहँदा नेपाल स्वयं गठबन्धनमा बसेर सरकारमा जाने सम्भावना न्यून नै छ । 

छलफलमा उनले देउवालाई राष्ट्रिय सहमतिका साथ अघि बढ्न सुझाव दिँदै आगामी दिनको शुभकामनासमेत दिएका थिए । उनले देउवालाई पटक-पटक विगत सम्झाउँदै भने, ‘एकलौटी रूपमा अघि बढ्ने प्रयत्‍न नगर्नु होला । राष्ट्रका समस्या समाधान गर्ने बारेमा एमालेसँग समेत सहमति गरेर अघि बढ्नुहोला।’

बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । 'हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ र्छो । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो,' बैठकपछि सञ्‍चारकर्मीहरूसँग उनले भने । 

 


Author

थप समाचार
x