प्रमुख समाचार

‘मिसन’ सफल भएपछि कांग्रेस महामन्त्री पुगे किसुनजी आश्रम

‘अब कांग्रेस खरो रुपले नउत्रिए किसुनजी जस्ता महान् नेताहरूको सरापमा पर्छाैँ’

इकागज |
साउन ५, २०७८ मंगलबार १३:३८ बजे

काठमाडौँ - सुख मिल्दा होस्, या दुःख पर्दा, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराई कहाँ पुग्थे, त्यो पनि २०३७ सालदेखिकै कर्म थियो । फेरि कांग्रेसलाई ‘अकल्पनीय’ किसिमले सत्ता मिलेपछि मंगलबार बिहान खड्का भट्टराई आश्रम बाडे गाउँ पुगे ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने र विश्वासको मत दिलाउने ‘मिसन’मा खड्का सक्रिय थिए, कांग्रेस महामन्त्रीको रुपमा । त्यही ‘सफलता’ मिलेको खुसीसाली बाडे-गाउँ आश्रम पुगेका हुन् । खड्काका साथमा कांग्रेसका पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडा पनि थिए । बाडे गाउँको किसुनजी आश्रम माल्यार्पण गर्दै उहाँको चरणमा बत्ती बाल्दै दण्डवत् गर्दै प्रतिमाको अघिल्तिर दुई मिनेट ध्यान गरी फर्किए । 


‘भविष्यका लागि आर्शिवाद थाप्दै, आर्शिवाद प्राप्त गरेर फर्कियौँ । म किसुनजी बाँचुन्जेल मलाई सफलता मिल्दा वा दुःख पर्दा उहाँ कहाँ जाने गर्थे । मैले सुख पाएको वा दुःख पाएको जानकारी गराउँथे,’ खड्काले इकागजसँग भने, ‘दुःख परेको बेला किसुनजीले टाउकामा हात राख्दै बाबु अब दुःख हरण हुन्छ भन्नुहुन्थ्यो । कहीँ सफलता मिल्दा पनि उहाँ कहाँ जान्थे । उहाँ आर्शिवाद दिनुहुन्थ्यो, ‘ल बाबु सफलता प्राप्त भएको छ, धेर्य गर्नू, जनताको सेवामा लाग्नू, निष्ठामा लाग्नू, लोभ नगर्नू, डर-धम्कीमा नपर्र्नू, अनि मात्रै कल्याण-उन्नति हुन्छ ।’

किसुनजी बोल्दा हाम्रो शरीर तरंग आउँथ्यो । अझ किसुनजी मुठ्ठी कस्दै पञ्चायतसँगको लडाईमा हामी ढिलो-चाँडो जितेरै छाड्छौँ । धैर्य मात्र गर्नुस् ।

भट्टराईको स्वर्गवासपछि दुःख वा सुख पर्दा आश्रम जाने कर्म यथावत् राखेका छन् र किसुनजीको शालिकमा माल्यार्पण गर्ने, पाऊमा ढोग्ने र बत्ती बाल्ने गर्छन भने खड्काले दुःखबाट मुक्ति लिन आँखा चिम्लेर प्रार्थना गर्ने गर्छन् । अनि सफलता प्राप्त गर्दा पनि पनि आश्रम आउने त्यही कर्म गर्ने गर्छन् ।

यो कहिलेदेखिको कर्म हो ? जिज्ञासामा खड्का भन्छन्, ‘यो कर्म जनमत संग्रह सकिएपछि २०३७ बाट शुरु गरेको हुँ । पञ्चायतकालमा चाहिँ किसुनजीले के भन्नुहुन्थ्यो ?’ 

उनी किसुनजीको उत्साहपूर्ण भनाई स्मरण गर्दै उनी थप्छन्, ‘ए बाबु, हामी जित्छौँ । तपाईँहरू ढुक्क हुनुहोस्, हामी पञ्चायती व्यवस्था जसरी पनि ढाल्छौँ । त्यसरी किसुनजी बोल्दा हाम्रो शरीर तरंग आउँथ्यो । अझ किसुनजी मुठ्ठी कस्दै पञ्चायतसँगको लडाईंमा हामी ढिलो-चाँडो जितेरै छाड्छौँ । धैर्य मात्र गर्नुस् ।’

अनि बहुदल आएपछि किसुनजी के भन्नुहुन्थ्यो ? जिज्ञासामा खड्का भन्छन्, ‘प्रजातन्त्रप्रति प्रतिबद्ध हुनुपर्छ । अनि इमान र निष्ठामा पनि प्रतिबद्ध हुनुपर्छ । कुनै पनि किसिमको डर र लोभबाट मुक्त हुनुपर्छ ।’  खड्का यतिखेर कांग्रेसको नेतृत्वमा सरकार बन्नुलाई किसुनजीकै प्रेरणा र आर्शिवाद प्राप्त भएको ठान्छन् ।

‘संविधान र लोकतन्त्रको सफलता प्राप्त गर्न अकल्पनीय शैलीमा सफलता मिलेको हो । म यो मिसनमा लागेपछि त्यो झ-झल्को पाइरहन्थे । सरकार निर्माण र विश्वासको मत प्राप्त गरेपछि र त्यो पनि कसैले कल्पना नगरेको विश्वास मत पायो । यो अकल्पनीय सफलता उहाँकै प्रेरणाबाट मिलेको हो ।’

कांग्रेसको नेतृत्वमा संविधानलाई समृद्ध गर्दै जाने नयाँ संकल्पसहित अघि बढ्ने जुन अवसर मिलेको र त्यसलाई पूर्ण रुपले सफल पार्नुपर्छ ।

‘किसनुजीको जुन लोभ-लालचबेगर त्यागी व्यवहार अबको कांग्रेसमा देखिन्छ कि देखिँदैन ?’ भन्ने प्रश्नमा खड्का भन्छन्, ‘हामी सबैको बुद्धि-सुद्धि फिर्नु जरुरी छ । जे-जति गल्तीका कारण देश-जनताले दुःख पाए, अब त्यस्तो काम दोहोर्‍याउने छूट छैन । त्यसरी दोहोर्‍याउने अनुमति छैन, अब ।’

उनी सबैले नयाँ संकल्प, नयाँ उत्साह, नयाँ निष्ठा-इमानसहित डर-लोभबाट मुक्त हुँदै नयाँ शैलीबाट अघि बढ्नुपर्ने बताउँछन् । भन्छन्, ‘विगतमा साढे तीन वर्षको शासनबाट जनतामा छाएको निराशा, कुशासन, अधिनायकवाद, लोकतन्त्र-संविधान मास्ने प्रवृत्तिको अन्त्य गर्र्नुपर्छ । अब जनतामा नयाँ विश्वासको सञ्चार गर्दै सबैलाई मिलाउँदै सबै राजनीतिक दललाई एकै ठाउँमा उभ्याउँदै संविधानको पूर्ण पालना गर्नुपर्छ ।’

कांग्रेस महामन्त्री खड्का ‘कांग्रेसको नेतृत्वमा संविधानलाई समृद्ध गर्दै जाने नयाँ संकल्पसहित अघि बढ्ने जुन अवसर मिलेको र त्यसलाई पूर्ण रुपले सफल पार्नुपर्ने’ बताउँछन् । ‘इतिहासले कांग्रेसलाई त्यो अवसर प्राप्तिका निम्ति नेतृत्व गर्ने जिम्मेवार दिएको छ । कांग्रेसलाई प्राप्त यो अर्काे अवसर हो’ उनी भन्छन्, ‘त्यसमा कांग्रेस खरो रुपले उत्रिनुपर्छ । जो खरो रुपमा नउत्रिई देश र जनतालाई धोका दियौँ भने किसुनजी जस्ता महान् नेताहरूको सरापमा पर्छाैँ ।’ 


Author

थप समाचार
x