प्रमुख समाचार

कर्णालीका पदमुक्त सांसद भन्छन् : अब उपनिर्वाचन लड्ने हो

लक्ष्मी भण्डारी |
साउन १९, २०७८ मंगलबार १५:४७ बजे

सुर्खेत - पदमुक्त भएका कर्णाली एमालेका पूर्वसांसदहरूले सर्वाेच्च अदालतको फैसला स्वीकार्य रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुर्मराज शाहीले वैशाख ३ गते फ्लोर क्रस गरेर नै जवाफ दिएको बताएका छन् । सर्वाेच्च अदालतको फैसलाको विषयमा सोध्दा उनी भन्छन् ‘मैले मेरो प्रतिक्रिया त वैशाख तीन गते दिइसकेँ,' उनले भने, 'अब उपनिर्वाचन लड्ने हो ।' लोकतन्त्र, विधि र प्रक्रिया जोगाउनका लागि नै फ्लोर क्रस गरेको उनको भनाइ थियो ।

पदमुक्त भएका एमालेकै अर्का पूर्वसांसद एंव भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापा सर्वाैच्च अदालतको फैसला स्वीकार गर्ने बताउँन् । ‘सर्वाेच्च अदालतले फैसला गरेको मान्नै पर्छ,’ मन्त्री थापाले भने, ‘हामीलाई कारबाही भएको होइन यसअघिको अन्तरिम आदेशको फैसला मात्र हो ।’ पार्टी अध्यक्ष  केपी ओलीले अन्तरिम आदेश बदर गरी पाउँ भनि दिएको निवेदनको माग सदर गरेको थापाले बताए  । मुद्दामा टुंगो लाग्न अर्काे पेशीमा जानुपर्ने उनको भनाइ छ । 


यता नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने ह्वीप उल्लंघन गर्ने चार जनालाई पदमुक्त गर्ने गरी आएको फैसला स्वागतयोग्य भएको बताए । ‘संसदीय मर्यादा र परम्परामा दलीय व्यवस्थामा दलले गरेको निर्णयलाई सर्वाैच्चले गरेको फैसला हो,’ शाहले भने, ‘यो नौलो र अनौठो  कुरा पनि होइन ।’ सर्वाेच्चको निर्णयले  दलीय आचरणभन्दा बाहिर रहन मिल्दैन र आफैं सहभागी भएको दलको ह्वीप उल्लंघन गर्ने अधिकार कुनै पनि सांसदमा छैन भन्ने सन्देश दिएको बताए । 

सर्वाेच्चको आदेशसँगै  एमालेका चारै सांसद फेरि पदमुक्त भएका थिए । फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाएका चार सांसदहरूलाई १४ बैशाखमा प्रदेशसभा सचिवालयले पदमुक्त भएको सूचना दिएको थियो । तर केन्द्रीय कमिटीको सट्टा दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही नमिलेको भन्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २७ जेठमा पदमुक्त भएका चार सांसदलाई पुनर्वहाली गर्न आदेश दिए पनि उक्त अन्तरिम आदेश सर्वाेच्चले सोमबार खारेज गरेको छ । सर्वोच्चले एमालेका चार सांसदलाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेपछि अब प्रदेशसभामा ३५  सांसदहरू रहेका छन् । 


Author

थप समाचार
x