प्रमुख समाचार

लुम्बिनीमा एमालेका थप दुई सांसद नेपाल समूहमा खुले

बिक्रम खड्का |
साउन ३१, २०७८ आइतबार ९:२६ बजे

बुटवल - लुम्बिनी प्रदेशमा एमालेको सत्ता ढलेपछि पार्टीका दुई सांसद वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा खुलेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा खुलेका हुन् । 

उनीहरू विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् । एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरू नेपाल समूहमा खुलेका हुन् । 


नेपाल निकट एमाले रुपन्देहीको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् । 

सांसद पन्थीले आफू सूरुदेखि नै नेपाल समूहमै रहेको बताए । उनले भने-  ‘म त निरन्तर नेपाल समूहमै छु ।' नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको छ । 

दुई पटक प्रतिनिधि सभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x