समाज

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बलको चौथो स्कुल सञ्‍चालन

इकागज |
बैशाख २५, २०८१ मंगलबार २१:५२ बजे

कञ्चनपुर- सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल सञ्चालन ल्याएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको वैशाख २४ गते उद्घाटन गरेका हुन् । शैक्षिक सत्र २०८१ देखि संचालनमा ल्याइएको नेपाल एपीएफ स्कुल झलारीमा हाल कक्षा ४ र ५ मा पठनपाठन शुरु गरिएको छ ।


सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततीहरू गरी १ सय ५ जना छात्रछात्राहरू भर्ना गरिएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रूपमा काठमाडौँको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवासीय सुविधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर सञ्चालनमा ल्याएको थियो । त्यसैगरी दोस्रो २०७७ वैशाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेस्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी  सञ्चालन ल्याइएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पद बहाली भएसँगै सबै प्रदेशमा नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्वजनिक गरेका थिए । अब अन्य प्रदेशमा समेत स्कुल विस्तार गर्दै लगिने संगठनको लक्ष्य छ । हाल सबै प्रदेशमा  सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।


Author

थप समाचार
x