प्रमुख समाचार

‘जो धेरै नाच्छ, ऊ धेरै बाँच्छ’

सुनीता साखकर्मी |
मंसिर २४, २०७७ बुधबार ७:२८ बजे

भक्तपुर : नृत्य गर्नु, धेरैको लागि रहरको विषय हो । केहीको लागि नृत्य मनोरञ्जनको साधन हो भने केहीको लागि मौसम र धार्मिक रितिरिवाज दर्शाउने माध्यम ।  तर, नृत्यको उद्देश्य पनि समयअनुसार फेरिँदै आइरहेको छ । अचेल थुप्रै मानिसहरु मनोरञ्जनको लागि नभई स्वस्थ रहनको लागि नाच्न थालेका छन् । भनाइ नै छ - जो धेरै नाच्छ, उ धेरै बाँच्छ ।

नाच्दै स्वस्थ रहन चाहनेहरुको लागि उपयुक्त माध्यम हो, ‘जुम्बा डान्स’ । अचेल शारीरिक तन्दुरुस्ती बढाउन जुम्बा डान्स गर्नेहरुको संख्या नेपालमा पनि बढ्दै गइरहेको छ । नाच्न नि पाइने, स्वस्थ नि हुने भएकाले जुम्बामा क्रेज बढेको जुम्बा प्रशिक्षक सृजना सूर्यवंशीले बताइन् । सृजनाले भक्तपुर, कमलबिनायक स्थित मूलढोकामा रहेको लुनिभाज फिटनेसमा बिहान बेलुकी जुम्बा सिकाउँछिन् ।


‘जुम्बा डान्सको फाइदा धेरै छ । जुम्बा डान्स गर्दा शरीरमा रहेका अनावश्यक बोसो घट्छ । स्ट्यामिना बढाउँछ,’ सृजना भन्छिन्, ‘जुम्बा डान्स गर्ने बेलामा ठूलो स्वरमा कराउने स्टेप गर्दा कफहरु सफा गर्ने लगायत फाइदाहरु हुने पनि तथ्य अगाडि आएको छ ।’

सन् १९९० को दशकमा कोलम्बियाली कोरियोग्राफर तथा साइक्लिस्ट अल्बेर्टो बेटो पेरेजले ‘जुम्बा डान्स’को सुरुआत सुरु गरेका थिए । एक घण्टा जुम्बा अभ्यास गर्दा एक जनाले झन्डै ३ सय क्यालोरी खर्च गर्छन् । अहिले बिहानीको समयमा मर्निङ वाक जाने गरेकाहरुले पनि जुम्बा अभ्यास थालेको सृजना बताउँछिन् । स्वास्थ्यको हिसाबले पनि बिहानीको समयमा मर्निङ वाक जानुभन्दा घरमै व्यायाम गर्दा फाइदा हुने प्रा.डा दिवाकर शर्मा बताउँछन् ।

‘अन्तराष्ट्रिय रुपमा गरिएका केही अध्ययनले बिहानको समयमा वातावरण प्रदुषण धेरै हुने उल्लेख गरेको छ । बिहानको हावामा धेरै प्रदुषण हुने पाइएकाले यसले स्वास्थ्यलाई फाइदाभन्दा धेरै हानी पुर्‍याइरहेको हुन्छ,’ उनी भन्छन्, ‘कहिल्यै मर्निङ वाकमा ननिस्किनेहरु जाडो महिनामा ‘ज्यान तताउनु पर्‍यो’ भन्दै मर्निङ वाक निस्किन्छन् । बिहान ८ बजे अगाडि सकेसम्म मर्निङ वाकमा ननिस्किनु राम्रो हुन्छ । साथै कोठा, छत र कम्पाउण्डभित्र पनि हिँडडुल वा व्यायम गर्दा राम्रो हुन्छ ।’

घरमै बसेर गर्न सकिने व्यायाम पनि हो , जुम्बा डान्स । सृजनाका अनुसार घरमै अनलाइन कक्षा जोइन गरेर भर्चुअल रुपमा पनि जुम्बा सिक्न सकिन्छ, नाच्न सकिन्छ । तर नेपालमा अनलाइनमार्फत् पैसा तिरेर सिक्ने नगन्य रुपमा छन् । बरु सृजनाले दुबईमा रहेकाहरुलाई भने अनलाइन कक्षा मार्फत् प्रशिक्षण दिएकी छन् । एक घण्टा जुम्बा अभ्यासमा वार्मअप देखि टोनिङ, कुलडाउन सम्मका सबै विधिहरु छन् ।

जुम्बा अभ्यासका फाइदाहरु 
फुल बडी वर्क आउट 
जुम्बा साल्सा र एसोबिक्सको कम्बिनेशन हो । संगीतको बीट अनुसार स्टेप गरिन्छ । जुम्बा नाच्दा शरीरका हरेक पुर्जा चलायमान हुन्छन् । हात, कुम देखि खुट्टासम्म चल्छन् । जसले गर्दा पुरै शरीर स्वस्थ रहन मद्दत गर्छ ।

क्यालोरी खर्च गर्न मद्दत गर्छ । २०१२ मा गरिएको एउटा अध्ययनका अनुसार ३९ मिनेट जुम्बा अभ्यास गर्दा हरेक मिनेटमा ९.५ क्यालोरी खर्च गर्न सकिन्छ । एउटा जुम्बा कक्षाबाट झन्डै ३६९ क्यालोरी खर्च हुन्छ । द अमेरिकन काउन्सिल अन एक्सरसाइजका अनुसार तौल घटाउन र शरीरलाई स्वस्थ राख्न एक व्यक्तिले दैनिक ३०० क्यालोरी खर्च गर्नुपर्ने हुन्छ । यस हिसाबले हेर्दा जुम्बा उपयुक्त माध्यम हो ।

धेर्य गर्न सक्ने क्षमता बढ्छ 
एक अध्ययनका अनुसार १२ हप्ताको जुम्बा कक्षा लिएका सहभागीहरुको क्रमिक रुपमा धैर्य गर्ने शक्ति बढ्दै गएको छ । साथै सामान्य दुखाइको मात्रा सहन सक्ने क्षमता पनि अभिवृद्धि गराउँछ ।

रक्तचाप सन्तुलन गर्छ 
२०१६ मा गरिएको एक अध्ययन अनुसार जुम्बा अभ्यास गर्दा रक्तचाप सन्तुलन गर्छ । अध्ययनमा सहभागी महिलाहरुले १२ हप्ता जुम्बा अभ्यास गर्दा रक्तचाप घट्नुका साथसाथै तौल पनि घटेको महशुस गरे ।

यसले मानिसलाई सामाजिक बनाउँछ 
जुम्बा सामूहिक रुपमा गरिने क्रियाकलाप हो । मानिसहरुसँग घुलमिल हुँदै जुम्बा अभ्यास गर्दा रमाइलो हुनुका साथै फाइदा पनि पुर्‍याउँछ । धेरैको बानी हुन्छ, एक दुई दिन अभ्यास गरेर छोड्ने । सामूहिक रुपमा अभ्यास गर्दा एकले अर्कालाई अभ्यासमा निरन्रता दिन सघाउँछ । 

नक्कली जुम्बा प्रशिक्षक चिनौँ 
जुम्बा अभ्यासको धेरै लाभ भएपनि नेपालमा नक्कली प्रशिक्षकहरु पनि बढ्दै गएको प्रशिक्षक सृजनाले बताइन् । उनका अनुसार जुम्बा प्रशिक्षण गर्न पाउने लाइसेन्स नेपालबाट लिन पाइँदैन । लाइसेन्स लिनको लागि विदेशीनुपर्ने बाध्यता छ । तर नेपालमै लाइसेन्स दिलाइदिने भन्दै जुम्बा सिकाउनेहरु पनि रहेको उनले बताइन् ।

तीन वर्ष अघि सृजनाले भारतबाट लाइसेन्स निकालेकी  थिइन् । ‘लाइसेन्स निकाल्नको लागि मेरो अगाडि दुई अप्सन थियो, कि थाइल्याण्ड जाने, कि भारत । साथी भारतमा भएकोले म दिदीसँग भारतमा गएर लाइसेन्सको लागि परीक्षा दिएकी थिएँ ।’

जुम्बा अभ्यास गर्दा बजाइने संगीत पनि अन्य भन्दा फरक किसिमको हुन्छ । जो पायो त्यसले उक्त संगीत बजाउन पाउँदैनन् । जुम्बा प्रशिक्षणको लाइसेन्स पाएकाहरुले हरेक महिना जुम्बाको संगीत बजाएबापत जुम्बाका सुरुआत गरेका अल्बेर्टो बेटोलाई ३६ डलर तिर्नुपर्छ । ‘नक्कली प्रशिक्षकहरुले जस्तो पायो त्यस्तै संगीतमा जुम्बा सिकाइरहेका छन् । त्यसैले जुम्बा अभ्यास गर्न चाहनेले ख्याल गर्न अनुरोध गर्छु ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x