प्रमुख समाचार

आर्काइभबाट

फेरिँदैछ जुजु धौको मुहार

सुनीता साखकर्मी |
मंसिर २६, २०७७ शुक्रबार ७:४३ बजे

भक्तपुर : ‘जुजु धौ’ शब्द सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ ? माटोको भाडामा जमाएको दही, होइन त ? तर अब जुजु धौको यति मात्रै रहेन । अचेल विवाह, व्रतबन्ध वा कुनै समारोहमा भेटिने जुजु धौ तपाईंको कल्पनाभन्दा फरक हुन सक्छ । किनकि समयसँगै फेरिँदैछ जुजु धौको मुहार पनि ।

जुजु धौको मुहार फेर्नेमध्येका एक हुन्, राधेश्याम कर्माचार्य । भक्तपुर वंशगोपालका उनी जुजु धौलाई सजाउनमा व्यस्त छन् । उनी कतिपय जुजु धौ ड्राइफ्रुटले सजाउँछन् त, कतिपय क्रिमले । राधेश्यामले यसरी जुजुधौ सजाउन थालेको नै पाँच वर्ष भइसक्यो ।


‘पहिले नरिवल, काजु, पेस्ता, बदाम, किसमिसलगायत ड्राइ फ्रुटहरुले सजाउँथे, अचेल क्रिमले पनि सजाउन थालेको छु,’ उनी भन्छन्, ‘जुजुधौको स्वाद उही छ, गुणस्तर उही छ , केबल मुहार फेरिएको मात्रै हो । बजारको माग नै यस्तै छ ।’

नेपाल भाषामा ‘जुजु’ भनेको ‘राजा’ हो, ‘धौ’ भनेको ‘दही’ । दहीहरुमध्ये पनि उत्कृष्ट दही नै ‘जुजु धौ’ हो । दही त संसारभर पाइन्छ, तर भक्तपुरमा विशेष तरिकाले बनाइने जुजु धौको स्वाद अन्यत्रभन्दा फरक छ । यसको स्वादको चर्चा नेपालमा मात्रै नभई विश्वमा फैलिएको छ । या भनौँ, नेपाललाई चिनाउने एउटा माध्यम जुजु धौ पनि हो ।

भक्तपुरमा अर्डर अनुसार नै जुजु धौलाई सजाउँछन् । मंसिर त जुजु धौको सिजन नै हो । विवाह, इङ्गेजमेन्टबाहेक, नयाँ वर्ष, व्रतबन्ध, जन्मदिन, औंसीलगायतमा यस्ता सजाइएका जुजु धौको उपयोग हुन थालेको छ ।

‘असली सुनलाई खोल हालिरहनु पर्दैन’ भने जस्तै जुजु धौलाई पनि कुनै साजसज्जाको आवश्यकता ठान्दैनन् राधेश्याम । ‘यसको स्वादले नै मानिसलाई आकर्षित गर्छ । सजाइरहन पर्दैन,’ उनी भन्छन्, ‘तर समय परिवर्तन भएको छ, अहिले मानिसहरु सजावटलाई धेरै ध्यान दिन थालेका छन् । माग अनुसार नै बनाउन थालियो ।’

४० वर्षीय राधेश्यामको पुख्र्यौली पेशा दही बनाउनु होइन । उनी त चित्र कोर्नमै रमाउँथे । दाइहरुले यो पेशा अंगालेको देखेपछि राधेश्यामले पनि २० वर्षअघि यो पेशामा हात हालेका थिए । बजारमा माग बढ्न थालेपछि पाँच वर्षदेखि उनले जुजु धौ सजाउन थालेका थिए ।

पहिले त उनी जुजु धौ सजाउन ‘केक सप’ लैजाने गर्थे । तर समय र रकम खर्च हुने भएपछि उनी आफैले जुजु धौ सजाउन सिके । ‘सँधै पुर्‍याउन जाने र लिन जाने झन्झटले गर्दा आफैले सजाउन सिकेँ,’ उनी भन्छन् । चित्रकार पनि भएकाले उनलाई केक सजाउन ठूलो समस्या पनि भएन ।

‘जुजुधौको स्वाद उही छ, गुणस्तर उही छ , केबल मुहार फेरिएको मात्रै हो । बजारको माग नै यस्तै छ ।’

उनीकहाँ फरक-फरक आकारका जुजु धौ पाइन्छन् । आकारअनुसार मूल्य पनि फरक । दुई सयदेखि ३५ सय रूपैँयासम्मका जुजु धौ छन् उनीकहाँ । राधेश्यामले एक सिजनमा मात्रै ठूलो साइजका झन्डै १ सय वटा जति र साना साइजको झन्डै २ सयको हाराहारीमा सजाइएका जुजु धौ विक्रि गर्छन् ।

समृद्ध जुजु धौ 
संस्कृतिविद् ओम धौभडेका अनुसार नेपालीहरुको दहीसँग सांस्कृतिक, सामाजिक, एवं आर्थिक सम्बन्ध नै जोडिएको छ । भोजभतेर, विवाह, ब्रतबन्धमा त दही हुन्छ नै, मानिसको जन्म र मृत्यु संस्कार पनि दही महत्वपूर्ण छ । नेवार समुदायमा त दही ‘सगुन’ को प्रतिक नै हो । नेवारी भोजको सान पनि हो जुजु धौ ।

दही निकै पहिलेदेखि नै बनाउन थालिए पनि यसले प्रख्याति भने मल्लकालमा पाएको संस्कृतिविद् धौभडेल बताउँछन् । यही समयमा दहीसँगै जोडिएर विभिन्न थरहरु समेत बनेको उनको तर्क छ । ‘मेरा पुर्खा पनि दही बनाउने काम गर्थे, मेरो ‘धौभडेल’ थर पनि यसैको प्रतीक हो,’ उनी भन्छन्, ‘यी बाहेक धौगोडा, धौमाकु, धौजल्यलगायत थरहरु पनि छन् ।’ 

यो समुदायले जुजु धौ नै बनाएर घरायसी गर्जो टार्थे । प्रत्यक्ष रुपमा आर्थिक रुपमा जोडिएको छ । कतै कोसेली लान पनि जुजु धौ प्रयोगमा आउँथे । जुजु धौ दरबारसम्म पनि पुग्ने गरेको धौभडेल बताउँछन् । तर समय परिवर्तन भएसँगै यसको बजारीकरण सुरु भयो ।

बजारीकरणको एउटा प्रभाव हो, जुजु धौमा हुन थालेको सजावट पनि । तर बजारीकरणको नाममा अखाद्य चिज प्रयोग नगर्न उनी आग्रह गर्छन् । भन्छन्, ‘स्वास्थ्यमा असर नपुग्ने गरी दही सिंगार्दा कुनै फरक पर्दैन ।’

शुद्ध जुजु धौ कसरी चिन्‍ने ?
भक्तपुरमा मात्रै नभई जुज धौ को नाममा थुप्रै प्रकारका दही पाइन्छन् । तर यो दहीहरुको भीडमा सबै दही शुद्ध जुजु धौ होइनन् । फ्रिजमा जमाएको दहीलाई पनि जुजु धौको नाममा बिक्री-वितरण गर्न थालिएको छ । त्यस्ता दहीले निमोनिया हुने, बच्चा तथा वृद्धलाई असर गर्छ । जबकि शुद्ध रुपमा बनाइएको दहीले निकै फाइदा पुर्‍याउँछ ।

त्यसो भए शुद्ध जुजु धौ चिन्‍ने कसरी त ? 
संस्कृतिविद् धौभडेलका अनुसार शुद्ध जुजु धौमा पानीको अंश हुन्न । उनी भन्छन्, ‘माटोको भाँडामा कसिकासाउ गरी जमेको हुन्छ । यसरी जमेको हुन्छ कि, भाँडा उल्टाल्उँदा समेत खस्दैन । चिउरासँग मुछ्दा समेत छिट्टै भिज्दैन । त्यो दही मात्रै शुद्ध जुजु धौ हो ।’

भक्तपुरमा जुजु धौ बनाउने परम्परागत विधि फरक छ । भक्तपुर वरिपरिका क्षेत्रमा रहेका किसानले उत्पादन गरेको दूधबाटै जुजु धौ बन्‍ने गरेको छ । दही बनाउँदा प्रयोग हुने भाडा पनि भक्तपुरकै प्रजापति समुदायले विशेष तरिकाले तयार पार्छन् ।

भक्तपुरको तापक्रम न धेरै चिसो छ, न धेरै तातो छ । दही जम्‍नको लागि भक्तपुरको यो वातावरण र हावापानीले पनि सहयोग गरिरहेको छ । कसरी बन्छ यस्तो दही ? भनेर सोचिरहनु भएको होला । त्यसको लागि दुधलाई तताउनुपर्छ ।

शुद्ध जुजु धौ गुलियो बनाउनको लागि चिनीको प्रयोग हुन्न । पहिले सखरखण्डको मुछेर दही गुलियो बनाइन्थ्यो । र त्यसमा ‘जोरण’ अर्थात् ‘धौ पुसा’ (दहीको बीउ) प्रयोग गरिन्छ । यति मिलाएर राखेर भुस माथि दूध राखिएको माटोको भाँडालाई तीनदेखि चार घण्टा छोपेर राख्दा दही बनेर तयार हुन्छ । यसको स्वाद पनि मिठो हुन्छ ।


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x