प्रमुख समाचार

कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित

इकागज |
मंसिर २८, २०७७ आइतबार ११:४ बजे

काठमाडौं : संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आइतबार बस्‍ने भनिएको बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित भएको बताइएको छ । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्‍को बैठक बस्‍न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ । उपसभामुख पद रिक्त भएकाले एक जना मात्रै उपस्थित नभए पनि बैठक स्थगित हुन्छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने जानकारी गराएका थिए । देउवाका तर्फबाट कांग्रेस नेता रमेश लेखकले २९ गते पार्टीको आन्दोलन तय गरिएको अवस्थामा त्यसको अघिल्लो दिन बोलाइएको परिषद् बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । त्यसोत संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान कानुनमा छ । 


देउवाले स‌वैधानिक परिषद् बैठकमा जाने कि नजाने भन्‍ने विषयमा केही नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस नेताहरूले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पूर्वसन्ध्यामा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेकोले बैठकमा नजान सुझाएपछि देउवाले बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन् ।

केही समय अगाडि देउवा र प्रधानमन्त्री ओलीबीच भएको छलफलमा रिक्त संवैधानिक निकायमा नियुक्तिमा सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट नेता लेखकलाई जिम्मेवारी दिइएको थियो । लेखकले बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी शनिबार प्रधानमन्त्री ओलीलाई गराएका हुन् । 

त्यस्तै आज १४ औं संघीय संसद सेवा दिवसमा सभामुख अग्‍निप्रसाद सापकोटा व्यस्त छन् । संसद सचिवालयको सचिवालय, सञ्चालन तथा व्यवस्थापन समितिको जारी बैठकमा सापकोटा छन् । त्यसो त नेकपाभित्र चर्को अन्तरसंघर्ष छ । ओलीले संवैधानिक आयोगमा एकलौटी गर्न खोजेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल रुष्ट छन् । पूर्वमाओवादी समूहबाट सभामुख भएका सापकोटा दाहालको विश्वास पात्र हुन् । ओली र दाहालको चर्को विवाद चलिरहेको बेला राखिएको परिषद्‍को बैठकमा उपस्थित हुन् नसक्‍ने उनले शनिबार साँझ बालुवाटारलाई जानकारी दिएका थिए ।

१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्‍न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।

र, यो पनि
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?


Author

थप समाचार
x