प्रमुख समाचार

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

इकागज |
भदौ २७, २०७८ आइतबार १८:५५ बजे

काठमाडौँ - नेपाली महिला राष्ट्रिय फुटबल टिमले आइतबार पाहुना टिम बंगलादेशसँग बराबरी खेलेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशी टिमलाई हराएको नेपालले दोस्रो खेलमा गोल गर्न सकेन ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलका पर्याप्त मौका गुमाएपछि मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो ।


खेलमा अधिकांश समय नेपाल हाबी रह्यो । ५५ प्रतिशत बल पोसेसन राखेको नेपालका कयौँ आक्रमण बंगलादेशी रक्षापंक्तिले असफल पार्‍यो । नेपाली खेलाडीका चार प्रहार फ्रेममा परे पनि गोल भएन । उता बंगलादेशको नाममा पनि ‘दुई सट अन टार्गेट’ रह्यो । तर उसका फरवार्डका प्रहारले पनि गोलको दिशा लिन सकेनन् । 

२०२२ महिला एसियन कपको छनौटको तयारी स्वरुप नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् । भारतमा हुने महादेशीय प्रतियोगिताका लागि हुने छैनौट खेलहरुका लागि नेपाल उज्वेकिस्तान जाँदैछ ।

छनौटको समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्ध खेल्नेछ । समूहको दोस्रो खेलमा नेपाल र हङकङ सेप्टेम्बर २१ मा भिड्नेछन् । 
 


Author

थप समाचार
x