प्रमुख समाचार

बाढी-पहिरोले पुर्‍याएको क्षति हेर्न देउवाको सुदूरपश्‍चिम भ्रमण

अधिकांश ठाउँमा राहत र सहयोगको आश्‍वासन दिँदै प्रधानमन्त्री देउवा

दीपक उपाध्याय |
कात्तिक ५, २०७८ शुक्रबार १६:३१ बजे

कैलाली - प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढी उपमहानगरपलिका –१३को बाढीप्रभाबित क्षेत्र श्रीलंका पुगेर स्थलगत अनुगमन गरेका छन् । धनगढीमा बिहान पत्रकार सम्मेलन लगत्तै प्रधानमन्त्री देउवा उपमानगरपलिकाको १३ नम्बर वडा पुगेका थिए । प्रधानमन्त्री देउवालाई मोहना नदीले बर्षेनी बाढीका कारण क्षति हुने गरेकोले सो स्थानको अनुगमन गर्न अनुरोध गरेको धनगढी उपमहानगरपलिकाकी उपमेयर शुशीला मिश्र भट्टले जानकारी दिइन् ।

श्रीलंकाका स्थानीयबासीले मोहना नदीले बर्षेनी खेतीपाती पुरै बगाउने गरेको प्रधानमन्त्रीलाई गुनासो गरेका थिए । कैलाली कञ्चनपुर भएर वहने मोहना नदीले हरेक वर्ष श्रीलंका क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । सो क्षेत्रका जनताले तत्काल तटबन्ध गरेर बाढी कटान र डुबान नियन्त्रण गर्न अनुरोध गरे ।


श्रीलंकाको भ्रमणपछि कन्‍चनपुरको महाकाली नदिले पुर्‍याएको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा कन्चनपुर पुगेका थिए । निरीक्षणको क्रममा भीमदत्तनगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लाल बहादुर शाहीले प्रम देउवालाई तटिय क्षेत्रमा नदिले पुर्‍याएको क्षति र ६ लेन सडक कटानीबारे जानकारी गराएका थिए ।

कन्चनपुरबाट पुन: कैलालीको कैलारी गाउँपालिकाका पुगेका देउवाले बाढी पीडित किसानहरूको गाउँमै गएर समस्या बुझेका थिए । प्रधानमन्त्री देउवाले किसानहरूको समस्या बुझ्न कैलारी गाउपालिका वडा नम्बर ७ रामपुर गाउँ पुगेका थिए । बाढी पहिरो पीडितहरूका समस्या बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले कैलारीका किसानहरूका पनि समस्या बुझेका हुन् ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कैलारीका बाढी पीडित किसानहरूका समस्या तथा पीडा प्रधानमन्त्री समक्ष दर्शाएका थिए । अध्यक्ष चौधरीले यहाँका किसानहरू कटैनी र मोहना नदिबाट धेरै नै प्रभावित भएकाले उक्त नदिकाबाट हुने क्षति नियन्त्रणका लागि सरकारको ध्यानाकार्षण गराएका थिए ।

लगत्तै प्रधानमन्त्री देउवाको टोली कैलालीकै भजनी नगरपालिका ७ पुगेका थिए । त्यहाँ उनले अरुको कुरा नसुनी आफैँ मात्रै बोलेर टिकापुरतर्फ लागे ।  

टिकापुर पुगेर प्रधानमन्त्री देउवाले बाढीपीडितका समस्याको दीर्घकालीन समस्या समाधान गर्न र क्षतिबारे विवरण पेश गर्न नगरपालिकालाई निर्देशन दिएका थिए । 

टिकापुरपछि नजिकै रहेको जानकी गाउँपालिकाको खैरीफाट पुगेका देउवा त्यहाँबाट बर्दियाको राजापुर हुँदै नेपालगन्ज गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । प्रधानमन्त्री देउवा आजै काठमाडौ फर्कने कार्यक्रम छ । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x