प्रमुख समाचार

प्रधानमन्त्रीको विरोध, कुकुरमाथि अत्याचार

कानुनी बाटो खोज्दै पशु अधिकारकर्मी

सुनीता साखकर्मी |
पुस ११, २०७७ शनिबार १६:५५ बजे

काठमाडौं : त्यो कुकुर बौलाएको छैन । तर, उसको घाँटीमा डोरी बाँधिएको छ। छेउमा नारा घन्कीरहेको छ— केपी ओली आयो ! केपी ओली आयो !!

घाँटीमा झुन्डिएको डोरीमा कुकुर लत्रिरहेको छ। सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा कुकुरमाथि अत्याचार भएको प्रष्ट देखिन्छ त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै । 


‘केपी ओली आयो’ भन्दै अनेरास्ववियु दोलखाका कार्यकर्ताले कुकुरलाई लछारपछार गर्दै सडकमा डुलाएका छन् । कालो रंगको एक कुकुरको घाँटीमा प्रधानमन्त्री केपी ओलीको फोटो झुन्ड्याइएको छ । 

घाँटीमा बाँधिएको डोरी तानेर लछारपछार गर्दा कुकुर तड्पिएको देखिन्छ । नजिकै रहेका प्रहरी कुकुरलाई प्रदर्शनकारीबाट छुटाउन अगाडि गएका छन् ।
तर, प्रदर्शनकारीले प्रहरीहरुलाई पर धकेलेर झनै कुकुरलाई लछारपछार गरेको देखिन्छ । 

एनिमल नेपालकी अध्यक्ष प्रमोदा शाहले दोलखामा भएको यो घटनाप्रति दुःखी छिन् । ‘एक त कुकुरलाई राजनीतिक व्यक्तिहरुसँग तुलना गर्नुहुन्न । अर्काे कुकुर वफादार र भरपर्दाे प्राणी हो । कुकुरमाथि अमानवीय कार्य गर्नु गलत हो,’ उनी भन्छिन्, ‘भविश्यका कर्णधार मानिने युवाले कुकुरमाथि गरेको यो व्यवहारले अहिलेको युवापुस्ताको मानसिकता दर्शाउँछ ।’ 

कुकुरसँगको मानिसको सम्बन्ध निकै पुरानो छ । नेपालमा त तिहारको दोस्रो दिन कुकुरको पुजा नै गरिन्छ । एक दिन पुजिने कुकुरमाथि ३६४ दिन अमानवीय व्यवहार गरिने उनी बताउँछिन् । ‘धर्मको मर्म बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘जनावरलाई हेर्ने मानसिकता परिवर्तन हुन जरुरी छ । जनावरलाई दुःख दिन हुन्न ।’ 

यो घटनाका विरुद्धमा एनिमल नेपाल कानुनी प्रकृयामा जाने भएको छ । अध्यक्ष शाहका अनुसार नेपालले यो घटनाविरुद्ध उजुरी दर्ता गर्ने तयारी गरेको हो । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x