प्रमुख समाचार

सुर्खेत विमानस्थल विस्तारमा स्थानीयको विरोध

लक्ष्मी भण्डारी |
पुस ११, २०७७ शनिबार १७:४४ बजे

सुर्खेत : सुर्खेत विमानस्थल विस्तार गर्न करिब ३० विगाह जमिन अधिग्रहण गर्ने विषयमा स्थानीयहरूले विरोध गरेका छन् । प्रभावित क्षेत्रका स्थानीयहरूले सरकारले विमानस्थल विस्तारको लागि दिगो सोच नराखेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । जग्गा अधिग्रहणमा उचित मुआब्जा पाउनेमा पनि उनीहरू सशंकित देखिन्छन् । 

विमानस्थल विस्तार गर्न लागिएको क्षेत्र विरेन्द्रनगर नगरपालिका, वडा नं ११ र १२ का करिब पाँच सय घरधुरीको पर्छ । विस्तार गर्न लागिएको जमिन डेढ सय बढी व्यक्तिको नाममा छ । त्यो क्षेत्रभित्र अमरज्योती माध्यमिक विद्यालय र हस्तवीर प्राथमिक विद्यालय पनि पर्छन । विमानस्थल विस्तार गर्दा यी विद्यालय पनि प्रभावित हुन्छन् । 


अहिलेकै अवस्थामा विमानस्थल विस्तार गर्दा दीर्घकालीन समाधान हुन नसक्ने स्थानीयहरू बताउँछन् । विमानस्थल विस्तारको सट्टा अर्को ठाउँमा नयाँ विमानस्थल बनाउन स्थानीयले माग गरेका छन् । प्रभावित क्षेत्रका स्थानीयबासीहरूले नागरिक सरोकार समिति गठन गरेर विमानस्थल विस्तारको विकल्प खोज्न माग गरेका छन् । समितिका  अध्यक्ष टिकाराम  आचार्यले दीर्घकालीन सोच राखेर विमानस्थल विस्तारको काम अगाडी बढाइनुपर्ने बताए । 

आचार्यले आँफूहरू किकासको विरोधी नभइ दिर्घकालिन र दिगो विकासको पक्षमा रहेको बताए । ‘हामी विकास जनपक्षीय र जनताको सहभागितामा आधारित होस् भन्ने चाहन्छौं,’ आचार्यले भने, ‘पटक–पटक गरिएको विमानस्थल विस्तारबाट सुर्खेत र कर्णालीका जनताले फाइदा केही पनि पाएनन् त्यसैले यसको दीर्घकालिन समाधान हुनेगरी अन्यत्र यसको खोजी गरियोस् ।’

वीरेन्द्रनगर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले विमानस्थल विस्तारको विकल्प खोज्न र तत्काल विस्तार कार्य रोक्न जनताको माग रहेको उल्लेख गर्दै त्यसै अनुरुप अघि बढ्ने निर्णंय भएको बताए । ‘पुनस्थाथापनाको विकल्प नै नदिएर जग्गा रोक्का गरिएपछि स्थानीयले विस्तार हुन नदिने निर्णय गरेका छन्,’ अध्यक्ष चालिसेले भने, ‘यसका लागि सरकारले नै उपयुक्त विकल्प खोज्नु पर्छ ।’

संघीय राजधानी काठमाडौंसँग सिधा हवाइ उडान हुँदै आएको कर्णालीको एकमात्र सुर्खेत विमानस्थलको विस्तारका लागि पछिल्लो पटक संघीय सरकार र प्रदेश सरकारबीच ३० बिघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तार गर्ने सम्झौतामा भएको छ । सरकारले हालको विमानस्थलको उत्तरतर्फ ६०० मिटर, दक्षिणतर्फ ४०० मिटर, पूर्वतर्फ ५० मिटर र पश्‍चिमतर्फ २०० मिटर विस्तारका लागि नागरिक उड्डयन कार्यालयमार्फत नगरपालिकालाई जग्गा रोक्काको पत्राचार गरिसकेको छ । विमानस्थल विस्तार भए ठूला जहाज अवतरण गराउन र रात्रीकालिन उडान सञ्चालन गर्न सकिनेछ ।

हाल १२ सय ५५ मिटर लम्वाइ रहेकोे धावनमार्ग विस्तार गरी १५ सय ५५ मिटर बनाइने छ । विमानस्थल विस्तारमा संघ र प्रदेश सरकारले ५०/५० प्रतिशत खर्च व्यहोर्ने छन् । कर्णाली प्रदेश सरकारले विमनस्थल विस्तारका लागि चालू आर्थिक वर्षमा ५० करोड बजेट छुट्याएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवंम भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले स्थानीयको माग सम्बोधन गरेर विमानस्थल विस्तार गरिने बताइन् । मन्त्री केसीले स्थानीय र विद्यालयलाई पुर्नस्थापित गरेर मात्र विमानस्थल विस्तार गरिने बताइन् । 


 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x