प्रमुख समाचार

माओवादी महाधिवेशनमा ओली र लिङ्देन गएनन्, पठाए प्रतिनिधि

इकागज |
पुस ११, २०७८ आइतबार १६:३९ बजे

काठमाडौँ – आजबाट सुरु भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नगएर पार्टीका प्रतिनिधि पठाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत दलका प्रमुख सहभागी हुँदा ओली र लिङ्देनले भने पार्टीका प्रतिनिधिलाई पठाएका हुन् ।  

ओलीले महासचिव शंकर पोखरेललाई पठाएका छन् भने लिङ्देनले महामन्त्री कुन्ती शाहीलाई पठाएका छन् । मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिनेक्रममा अध्यक्ष लिङ्देनले गाउँघरमा नेता आउँदा चोर आए भन्ने वातावरण भएको, राजनीतिक दलका नेताप्रति जनतामा वितृष्णा पैदा भएको बताएका थिए । लगत्तै उनको भनाइप्रति माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीले खण्डन गरेका थिए । 


कांग्रेस महाधिवेशनमा लिङ्देनले भनेका थिए, ‘सरकार सरकार जस्तो छैन संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन् । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उनको यो भनाइको खण्डन गर्ने मध्येका एक ओली पनि आज माओवादी केन्द्रको महाधिवेशनमा गएनन् । त्यसो त यसअघि चितवनमा भएको एमालेको महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफू नगएर नेता लिलामणि पोखरेललाई प्रतिनिधिको रुपमा पठाएका थिए ।     


Author

थप समाचार
x