प्रमुख समाचार

बालबालिकाको हातबाट शिवरात्रिमा प्रसाद

सुनीता साखकर्मी |
फागुन २८, २०७७ शुक्रबार ७:३५ बजे

काठमाडौँ : टेबुलभरि भोकाएका मानिस छन् । अगाडि प्लेटमा राखिएका खानेकुरा धमाधम खाँदै छन् । प्लेट खाली हुने वित्तिकै रनक जैन दौडिँदै आउँछिन् । मिठो मुस्कानसहित कहिले रोटि त कहिले अचार, तरकारी थपिदिन्छिन् ।


बिहीबार शिवरात्रिको अवसरमा श्री शिवम् सेवा मण्डलले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको थियो । पशुपति दर्शन गर्न आएका भोका दर्शनार्थीलाई खाना खुवाउनमै रनक पनि ब्यस्त थिइन् । मर्निङ ग्लोरी हाइस्कुलको कक्षा ६ मा पढ्ने रनकको मुहारको खुसी देखेर खाने मानिसहरु पनि खुसी देखिन्थे ।

पहिले थुप्रैपटक दर्शन गर्न पशुपति आएकी उनी यसवर्ष पहिलोपटक काममा सघाउन पशुपति आएकी हुन् । ‘भगवानले यो दिन सेवा गर्नकै लागि बनाउनु भएको हो । हिजो विद्यालयमा पनि भोका, नहुने मानिसलाई सेवा गर्नुपर्छ भनेर स्कुल (विद्यालय)मा टिचर (शिक्षक)ले भन्नुभयो, अनि छुट्टी दिनुभयो,’ उनी भन्छिन्, ‘बाबा हरेक वर्ष यहाँ आउनुहुन्छ । सेवा गर्नुहुन्छ । म पनि त्यसैले यहीँ आएर सेवा गर्छु भनेपछि बाबाले ल्याउनुभएको हो ।’ काम गर्न गाह्रो लागेको छैन उनलाई । भन्छिन्, ‘काम गर्न गाह्रो भएको छैन । काम गर्दागर्दै अलिअलि गाह्रो भए बस्‍न मिल्छ । अनि फेरि गर्न मिल्छ ।’

सानैदेखि उनलाई बुवाले ‘सेवा गर्नुपर्छ है नानी’ भनेर भनिरहन्छन् । ठूलो भएर पनि सेवा नै गर्ने मनसाय छ उनको । भन्छिन्, ‘प्रहरी बनेर देशको सेवा गर्छु ।’ रनकसँगै ९ वर्षे बसन्त धामी पनि खटिरहेका थिए । बसन्तपुरको शान्ति निकेतनमा कक्षा तीनमा पढ्ने उनी घरी मास्क बाँढ्न बस्थे, त घरी खाना खान आउने दर्शनार्थीको हातमा स्यानिटाइजर छर्किन्थे ।

बुवाको साथमा आएका थिए उनी पनि । उनलाई काम गर्न कसैले दबाब दिएको थिएन । तर अरुले गरेको देख्दा उनलाई पनि काम गर्न मन लाग्यो । उनलाई पनि काम गर्न खुसी लागिरहेको थियो ।  उनी भन्छन्, ‘कसैले काम गर्न भनेको छैन । आफैलाई काम गर्न मन लाग्यो त्यसैले गरिरहेको हो ।’

तुलसी श्रेष्ठका अनुसार श्री शिवम् सेवा मण्डल विशुद्ध सेवा गर्ने टोली हो । मण्डलकै साथीहरूसँग पैसा उठाएर शिवरात्रिमा यसले तीन दिन निःशुल्क खाना खुवाउने गर्छ । मण्डलकै साथीहरूका छोराछोरी यहाँ आइ काम गरिरहेका हुन् । उनी भन्छन्, ‘भोको पेटलाई खुवाउन पाइन्छ । धर्म कमाउने अवसर पनि हो । हामीले जे गर्छौँ, त्यो बच्चाहरूलाई पनि सिकाउन पर्छ भनेर ल्याएका हौँ । उनीहरूले स्वतस्फूर्त रुपमा काम गरिरहेका छन् ।’

त्यस्तै भुवन श्रेष्ठका अनुसार बच्चाहरूले खुसी भएर काम गरिरहेका छन् । उनी भन्छन्, ‘खाना खुवाउन पाउँदा बच्चाहरु खुसी छन् । मानिसहरुलाई बोलाउँदै खाना खुवाएका छन् । यस्ता बच्चाले भविश्यमा पनि राम्रो काम गर्छन् । त्यसको लागि सानैदेखि सेवाभाव सिकाउनुपर्छ ।'


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x