प्रमुख समाचार

'सरकारले वैदेशिक ऋण बोक्न सक्ने क्षमताका परियोजना मात्र ल्याउँछ'

कर असुलीबारे हुने द्वन्द्व अन्त्य गर्नुपर्नेमा मन्त्रीकाे जाेड

इकागज |
बैशाख १९, २०७९ सोमबार १६:५१ बजे

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीचमा  कर बढाउने र घटाउनको लागि हुने द्वन्द्व अन्त्य गर्नुपर्ने बताए।


उनले यस्तो द्वन्द्वको तत्काल अन्त्य गरेर करको विषयलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । अर्थमन्त्री शर्माले सरकार र निजी क्षेत्रबीचको करको विवादलाई अन्त्य गरिने बताए। मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको भएकाले अर्थमन्त्रालय निजी क्षेत्रकै भएको अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री शर्माले भने,‘ मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने नीजि क्षेत्र कै भएको हुनाले अर्थमन्त्रालय पनि नीजि क्षेत्र कै हो । किन भने ७० र ३० प्रतिशत मिलेर नै अर्थमन्त्रालय र अर्थतन्त्र बन्ने हो । तपाईहरुको पूरै हक छ । अर्थ मन्त्रालय राजश्व उठाउन रोइकराई गर्ने व्यवसायीहरु घटाउन रोइकाई गर्ने दुई वटै कुरा छाडि दिउ । अब यता नलागौंँ हामी । यता लागेर देशको प्रगति हुँदैन । मन्त्रालयले कसरी बढाउने, कसरी बाध्ने, कसरी कस्ने कुरा गर्ने व्यवसायीले कसरी कम गर्ने,कसरी छुट गर्ने, कसरी नतिर्ने भन्ने कुराबाट हामी मुक्त हैँ । दुई वटै कुरा बेठिक छन् । कहाँ कहाँ कानूनी नीतिगत समस्याहरु छन । ती समस्या एक दुई तीन गरेर सुझाव दिनुस् ।’

त्यस्तै, अर्थमन्त्री शर्माले सरकारले वैदेशिक ऋण बोक्न सक्ने क्षमताका परियोजना मात्र ल्याउने बताए । उनले व्यवसायिक क्षेत्रमा लगानी ल्याउन प्रयासका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

सरकारले निजी क्षेत्रले उद्योगमा ल्याएको वैदेशिक लगानीको लागि नीतिगत ऐन तथा नीतिमा सरकारले सहजिकरण गर्ने बताए। सरकारले उद्योग स्थापनाको लागि व्यवसायीको माग अनुसार ५० वर्षको लागि जग्गा दिन तयार रहेको बताए । अर्थमन्त्री शर्माले अहिलेको विश्व अर्थतन्त्र र मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको समाधान उत्पादनमुखी अर्थतन्त्र भएको बताए ।

उनले अब हामीले कृषिलाई प्रविधिसहित आधुनिकीकरणमा रुपान्तरण गरेर कृषिलाई उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको बताए । अर्थमन्त्री शर्माले कृषिलाई आधुनिकीकरण गरेर कृषिलाई उद्योगसँग जोड्न सके विश्व परिस्थिती र आन्तरिक समस्याको सामधान गर्न सकिने बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले उद्योगहरुमा पछिल्लो समय देखिएको विद्युतको समस्या तत्काल समाधान गरिने बताए । उनले प्रधानमन्त्रीलाई समेत उद्योगहरुको विद्युत समस्या रहेको जानकारी गराएकाले छिटै समाधान हुने विश्वास व्यक्त गरे ।  अहिले लोडसेडिङ हुने दुर्भाग्य भएको भन्दै मन्त्री शर्माले समयमा नै विद्युत आयोजना सम्पन्न नहुनु र उत्पादन भएको विद्युत मुख्य प्रसारण लाइनमा जोड्न नसक्नु भएको बताए । सरकारले अहिलेको विद्युत संकट टार्न तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

त्यस्तै, अर्थमन्त्रीले अब बजेट निर्माण अन्तिम चरणमा पुगेकाले लामो–लामो सुझाव सुन्न नसकिने बताए । उनले कुन उद्योगमा के–कस्तो सुविधा दिँदा आत्मनिर्भर हुन्छ त्यो बुँदागत रुपमा लेखेर तीन दिन भित्र सुझाव दिन व्यवसायीहरुलाई आग्रह गरे । मन्त्री शर्माले जनताले नियुक्ति गरेका सचिव अर्थ मन्त्रालयमा रहेकाले निजी क्षेत्रका माग सम्बोधन हुने विश्वास रहेको बताए ।

त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले करको दर होइन दायरा बढ्ने सरकारको नीति रहेको बताए । उनले सरकारले यो वर्षको बजेटमा करको दर भन्दापनि करको दायरा बढाउने योजना रहेको बताए । सचिव मरासिनीले अब निजी क्षेत्र हरेक कुरामा सरकारप्रति परनिर्भर बन्न नहुने बताए ।

सचिव मरासिनीले निजी क्षेत्र आफैंले नयाँ नयाँ कामको थालनी गरे नीतिगत र कानुनी विषयमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । 


Author

थप समाचार
x