प्रमुख समाचार

मोरङमा पहिलो फाइनआर्ट विद्यालय, काठमाडौँ धाउनुपर्ने बाध्यता रहेन

सुनीता साखकर्मी |
चैत १४, २०७७ शनिबार ९:२ बजे

मोरङ : ललितकला पढ्नकै लागि विद्यार्थीहरू देशका कुनाकाप्चाबाट काठमाडौँ धाउनुपर्ने बाध्यता पुरानै हो । अब प्रदेश १ मा भने यो समस्या केही हदसम्म कम भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा यसैवर्षदेखि कक्षा ११ मा ललितकला (फाइन आर्ट) संकाय पनि थपिएको छ । 


अब प्रदेश १ का कक्षा १० पार गरेपछि ललितकला पढ्न चाहने विद्यार्थीहरू काठमाडौँ नै धाउनुपर्दैन । यसैवर्षको मंसीरदेखि यहाँ कक्षा ११ मा ललितकलाका विषयहरू पठनपाठन सुरु भएको छ । अहिले यहाँ तेह्रथुम, विर्तामोड लगायत ठाउँका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ति मध्ये केही छात्रबृत्तिमा पढिरहेका छन् । 

विद्यालयमा ललितकलाको संकाय थप्ने कार्यको सूत्रपात भने चित्रकार सरोजा खड्गी हुन् । कला पढ्नको लागि विद्यार्थीहरू काठमाडौँ धाउनुपर्ने समस्या उनले पनि भोग्न प¥यो । आफुले जे भोगिन्, आफ्ना विद्यार्थीहरूले त्यस्तो भोग्न नपरोस् भनी विद्यालयमा औपचारिक अध्ययन गर्ने व्यवस्था मिलाउन लागि परेको खड्गी सुनाउँछिन् । उनी भन्छिन्, ‘सिमरिया–६ सुनसरीमा जन्मिएकी म ललितकला पढ्न काठमाडौँ धाउनु पर्यो । त्यतिबेला मलाई धेरै गाह्रो भएको थियो । मलाई जस्तै समस्या अन्य विद्यार्थीलाई नहोस् भनेर विद्यालयमा औपचारिक अध्ययन गर्ने व्यवस्था मिलाउन विद्यालयसँग छलफल गर्न थालेँ ।’ 

निजी विद्यालयमा पढाउनु भन्दा सामुदायिक विद्यालयमा पढाउनु सस्तो पर्न जाने भएकाले उनले यो विद्यालय छनौट गरेकी थिइन् । त्यसपछि उनले विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीसँग सल्लाह गरिन् । मेयर दिलिप कुमार राईसँग पनि सल्लाह गरिन् । दुबैले मञ्जुरी दिए । त्यसपछि फाइनआर्टको कोर्स अनुसार नै पठनपाठन सूरु गर्ने तयारी थालियो । तर यो काम त्यति सजिलो भएन । पाठ्यक्रम अनुसार सामग्री जुटाउन र अध्ययन अध्यापन गर्न सहज बातावरण मिलाउन सरोजा लागि परिन् । 

ललितकलाको कक्षा सञ्चालनको लागि २०७६ देखि नै पहल भइरहेको थियो । तर कोभिड–१९का कारण समयमा कक्षा सुरू हुन सकेको थिएन । लकडाउनको समयमा कक्षा सञ्चालनका विषयमा छलफल गरी लकडाउन हट्ने वित्तिकै अन्य संकायसँगै कक्षा सञ्चालनका लागि तयारी थालियो । 

यसै वर्षको असोज २३ गते प्रवेश परीक्षा सञ्चालन भएको थियो । सो परीक्षाबाट ११ जना विद्यार्थीहरू छनौट भए । शिक्षक ३ जना राखेर मंसीर देखि उनीहरूले नियमित कक्षा लिइरहेका छन् । 

अहिले नेपाली र अंग्रेजी विषय अनिवार्य छ भने ललितकलातर्फ चित्रकला, मूर्तिकला र ग्राफिक डिजाइनिङ विषय छ । कलाको इतिहासको विषय पनि थप्नको लागि सल्लाह भइरहेको छ । 

अहिले यस विद्यालयमा आवश्यक पर्ने पूर्वाधार जुटाउन सरोजा लागि परेकी छन् । भन्छिन्, ‘कोर्सका किताब जुटाउने देखि, सिक्न र सिकाउन आवश्यक कुराहरू सबैको व्यवस्थापन गरिरहेकी छु । विद्यार्थीहरू पनि उत्साहित भएर कला सिकिरहेका छन् ।’ 

उनले नेपालका प्रोफेसनल दिग्गज कलाकारहरूलाई पनि विद्यालयमा निमन्त्रण दिन्छिन् । उनीहरूले पनि विद्यालयमा गई विद्यार्थीहरूलाई प्रोत्साहन दिनुका साथै आफ्ना कलाबारेका ज्ञान र सीप बाँड्छन् । 

कतिपय विद्यार्थीका अभिभावकहरू छोराछोरीले विज्ञान, व्यवस्थापन लगायत विषय पढिदिओस् भन्ने सोच्छन् । तिनलाई पनि सरोजाले सम्झाउँदै गइरहेकी छन् । उनी भन्छिन्, ‘कला भन्ने कुरा जस्ले पायो त्यसले गर्न सक्दैन । र जसले राम्रो कला गर्न सक्छ, उसलाई रोकियो भने राम्रा कला सिर्जना हुन सक्दैनन् । राम्रो कला गर्ने मानिसको नाम पनि छ र दाम पनि छ । त्यसैले हामी अभिभावकलाई पनि सम्झाउँछौँ ।’


 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x