संसद्

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा जानकारी

इकागज |
जेठ १५, २०८० सोमबार २०:२४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

उनले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको जानकारी दिए । उनले व्यापार, पारवहन, लगानी प्रवर्द्धन, उर्जामा व्यापार, तथा अन्तर्देशीय विद्युत् प्रशारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने स्पष्ट पारे ।


प्रधानमन्त्री दाहालले हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरूलाई भारतसँग जोड्ने मोटरेबल र झाेलुंगे पुलको बारेमा छलफल हुने पनि बताए । उनले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हित सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय हाम्रो प्राथमिकताको विषय रहने बताए ।

उनले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत् निर्यातको विषय यो पटक ठोस कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डिपिआर टुंगोमा लैजानका लागि छलफल हुने बताए ।

प्रधानमन्त्री दाहालले भ्रमणमा सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्ने गरी छलफल हुने बताए ।


Author

थप समाचार
x