संसद्

'सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव'

इकागज |
जेठ २२, २०८० सोमबार १७:५८ बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारलाई सो सुझाव दिएका हुन् । नेता कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिए मुलुक १० वर्षमै एशीयाकै सम्पन्न राष्ट्रमा परिणत हुने दावी समेत गरे । 


उनले सरकारले ल्याएको बजेट सन्तुलित, यथार्थपरक रहेकाले यसबाट मुलुकको निजी क्षेत्रसमेत उत्साहित भएको दावी समेत गरे । कमजोर आर्थिक वृद्धि, बढ्दो मुद्रास्फिति र उपभोग्य वस्तुको बढदो आयात अहिलेको मुख्य समस्या रहेको औंल्याउँदै नेता कार्कीले यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ लैजाने बजेटको लक्ष्य रहेको बताए । 

उनले भने, ‘कृषि, उर्जा र पर्यटनलाई बजेटले महत्व दिएको छ । म अर्थमन्त्रीजी र सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु–यो तीन वटा भन्दा अर्को आईटी र कम्प्युटर साइन्सलाई, यसको विकासमा पनि सरकारको ध्यान पुगोस् भन्ने म आग्रह गर्न चाहन्छु । यो बजेट ग्राउण्ड रियालिटीमा उभिएको बजेट छ । यो यथार्थपरक छ । सन्तुलित छ । र, यो सरकार निर्माण भईसकेपछि अर्थमन्त्रीजीले यो प्रथम बजेट ल्याउनु भएको छ । र, यो बजेटले ५ वर्षको मार्गचित्र निर्धारण गरेको छ । ५ वर्षमा मुलुक कहाँ पुग्छ ? त्यसको बारेमा बजेटले एउटा तस्वीर प्रस्तुत गरेको छ । र, यो बजेटले आम नेपाली नागरिकको भरोसालाई वृद्धि गर्ने काम गरेको छ । यो बजेटले निजी क्षेत्रलाई जो अहिले सशंकित छ । चरम निराशामा छ । तिनीहरूको शंकालाई निवारण गरेको छ । र, उनीहरूलाई उत्साहित बनाएको छ । त्यसैले म यो बजेटको समर्थन गर्न चाहन्छु । यो बजेटले अहिले मुलुकले मेरो विचारमा तीन वटा गम्भीर समस्या भोगी रहेको छ मुलुकको अर्थतन्त्रले । कमजोर आर्थिक वृद्धि, बढ्दो मुद्रास्फिति र उपभोग्य वस्तुको बढ्दो आयात । यी तीन वटा जुन अहिले समस्याको रुपमा रहेका छन । यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ आकर्षण गराउने बजेटको लक्ष्य रहेको छ । नेपालमा २००८ सालदेखि बजेट ल्याउने प्रचलन रहेको छ । आइटी र पर्यटनलाई हामीले प्रमुख विकासको केन्द्रमा राख्यौं भनेदेखि हाम्रो देश हामीले आशा गरे अनुसार दश वर्षमा एसियाको सम्पन्न देशको रुपमा हामी विकास गर्न सक्छौँ ।

नेता कार्कीले बजेटलाई आफ्नो पार्टीले समर्थन गर्ने पनि बताए । 


Author

थप समाचार
x