संसद्

कृषि समिति बैठक

देशभर करिब ५ सय सहकारी संस्थामा समस्या

इकागज |
माघ ७, २०८० आइतबार १६:४२ बजे

काठमाडौँ- ​समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन नसकेका कारण करिब ५ सय सहकारीमा समस्या देखिएको बताएका हुन् । उनले देशैभरमा करिब १ प्रतिशत सहकारी संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत सहकारी पालीका अन्तर्गत सञ्चालन भइरहेको जानकारी दिए ।


अध्यक्ष दाहालले सहकारीको सञ्चालकहरूले नियमअनुसार सञ्चालन गर्न नसक्दा र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए । सहकारी सञ्चालनमा पारिवारिक एकाधिकारका कारण पनि बेथिति देखिएको उनको भनाइ छ । उनले अहिलेको सहकारी समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको वर्गीकरण गर्नुपर्ने र रेड जोनमा रहेका सहकारी सञ्चालनलाई कानुन बनाएर कारबाही गर्न सुझाव दिए । अन्य सहकारीलाई कार्ययोजना बनाएर समस्या समाधानतर्फ उन्मुख गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाए पनि आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा काम गर्न समस्या भएको गुनासो गरे । समितिले प्रहरी निरीक्षकसहितको टोलीको माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरूले सहकारी पीडितहरुको संख्या बढ्दा पनि समस्या समाधानका लागि कुनै प्रयास हुन नसकेको बताएका थिए । समिति सभापति आरजु राणाले सहकारी क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी समस्या समाधान हुन नसके आगामी दिनमा थप भयावह रूप लिने बताइन् । 


Author

थप समाचार
x