संसद्

विपद्को व्यवस्थापन तीनै तहबीच समन्वयमा गर्न गृहमन्त्रालयलाई निर्देशन

इकागज |
साउन ७, २०७८ बिहीबार १९:४२ बजे

काठमाडौँ - राज्य व्यवस्था तथा सुशासन समितिले विपद्को व्यवस्थापन तीनै तहका सरकारको आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकमा विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।


समितिले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपद् एवं जोखिमका सूचनाको पूर्वानुमान गर्न सक्ने यथार्थ तथ्यांक, सूचना,एवं जानकारी पारदर्शी रूपमा सबै नागरिकहरूले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रवन्ध गर्न गृह मन्त्रालयलाई समितिले निर्देनशन दिएकोछ ।  

समितिले विपद् व्यवस्थापनको कार्यक्रम सञ्‍चालन गर्दा सरकारी एवं गैह्रसरकारी पक्ष लगायत नागरिकहरूबीचको सहकार्य साझेदारी कायम गर्दै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन श्रोत, प्रविधिक एवं जनशक्तिको प्रवन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताइन् ।

बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपद्ग्रस्त क्षेत्रहरुलाई विपद् व्यवस्थापनको नमूना क्षेत्रको रुपमा विकास गर्न पनि निर्देशन दिएको छ ।  

अहिलेको विपद्‍बाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुलालगायत अन्य जिल्ला तथा क्षेत्रहरूमा अबरुद्ध भएका स्थानीय पूर्वाधारहरू शीघ्र मर्मत तथा सुचारु गरी सम्बद्ध निकायहरूबीच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा  बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदारुकताका साथ विपद् जोखिम न्यूनिकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशनहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताइन् । 


Author

थप समाचार
x