दल

एसपीपी गर्नु नेपाली सेनाको तेजोवध गर्नु हो : परी थापा

इकागज |
असार २, २०७९ बिहीबार १९:१५ बजे

काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी)का नेता परी थापाले अमेरिकी सेनासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्नु नेपाली सेनाको तेजोवध गर्नु भएका बताएका छन् । 

बिहीबार दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय अगाडि नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध जसस/मोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा आयोजना गरेको अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्रामको विरोध प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । 


नेता थापाले नेपालको राष्ट्रिय सेनासँग अमेरिकाको कुनै एक राज्यको सेनाको पार्टनरसीप गर्नु नेपाली सेनाको अवमूल्यन गर्नु भएको पनि बताए । उनले अमेरिकाको मित्र हुनु खतरा भएको टिप्पणी गरे । उनले भने, ‘एसपीपी को सँग गर्ने रे भने हाम्रो नेपालको राष्ट्रिय सेनासँग । नेपाली सेना राष्ट्रिय व्यवसायिक सेना हो । उताको नेशनल गार्ड त्यहाँको राज्यको रहेछ । एउटा अमेरिकाको राज्यको सैनिक । त्यो एकप्रकारको अर्धसैनिक जस्तो पनि बुझिन्छ । हाम्रो सशस्त्र प्रहरीजस्तो । भन्नलाई अमेरिकी आर्मीको कम्पोनेन्ट पनि भनेको छ । एउटा देशको राष्ट्रिय सेनासँग राज्यको सेनालाई ल्याएर स्टेट पार्टनरसीप बनाउने भनेको त नेपाली सेनाको तेजोवध गर्नु हो नि । नेपाली सेनाको अवमूल्यन गर्नु हो नि ।’


क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिए नेपालको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो । विरोधको क्रममा एमसिए नेपाल
खारेज गर राष्ट्रघाती दलालहरु खबरदार, एसपीपी–एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराबाजीसमेत गरेका थिए ।


Author

थप समाचार
x