दल

मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : नेकपा एस

इकागज |
असार १०, २०७९ शुक्रबार १८:५३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्‍नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउँदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाए पनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् । उनले शनिबार बस्‍ने बैठकमा यस विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताए ।


मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले सपथ हुन नसकेको उनको भनाइ छ । बैठकमा पार्टी अध्यक्ष नेपालले अबको निर्वाचनमा गठबन्धनबीच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्‍न निर्देशन दिएको प्रवक्ता खतिवडाले बताए । उनले बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र परिमार्जनसहित केन्द्रीय कमिटीमा पेश गर्ने जानकारी दिए ।

पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्‍ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ । 


Author

थप समाचार
x