दल

युवा संघले घेर्‍यो यातायात व्यवस्था कार्यालय

इकागज |
असार २७, २०७९ सोमबार १४:५८ बजे

काठमाडौँ - नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । 

सोमवार संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो । 


कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा नचल्ने साइट बनाएको आरोप लगाए । 

उनले साइट नचल्दा पुनः नागरिकहरु विचौलियाकोमा पुगिरहेको दाबी गरे । अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थित गर्न कार्यालयको ध्यानाकर्षण गराए । 

उनले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेनको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताए । उनले देशका धेरै कार्यालयहरूमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रुपमा सवारी चालक अनुमति पत्र लगायतका कुराहरुमा ढिलासुस्ती गर्न नहुने बताए । 

उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाए । उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताए । युवा संघको आन्दोलनलाई चानचुने रुपमा नलिन पनि चेतावनी दिए । 

युवा संघका प्रदर्शनकारीले ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गरलगायतका ब्यानर र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x