दल

चुनावमा सांसदको खर्च १ अर्बमाथि, जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने कुरा सपना भयो : प्रचण्ड

इकागज |
साउन ९, २०७९ सोमबार १०:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पुँजीपतीहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट दलाल, पुँजीपती र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै दलहरूमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए ।

उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए । स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी आफूले पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्बमाथि हुने उनको भनाइ छ । अध्यक्ष दाहालले श्रमजीवी जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने कुरा सपना झैँ भएको बताए । 


‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,' उनले भने, 'गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवी जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने भनेको सपना जस्तो हुने भयो । दलाल पुँजीपतिहरू आउने भए । भ्रष्टहरू आउने भए । यसलाई विषय बनाएर गहिरो गरी राजनीतिक दलहरूभित्र पनि छलफल गर्न आवश्यक छ ।'


Author

थप समाचार
x