दल

उदयपुर–२ मा नेकपा एसका उपमहासचिव खतिवडाको दाबी

इकागज |
भदौ २२, २०७९ बुधबार ११:५९ बजे

विराटनगर - नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिनिधिसभामा उदयपुरको क्षेत्र नम्बर २ मा आफ्नो बलियो दाबी रहेको बताएका छन् । उनले गठबन्धनको सिट बाँडफाँट कार्यदलमा पार्टीको हाल कायम रहेको २४ सिटभन्दा माथि एकीकृत समाजवादीले दाबी प्रस्तुत गरेको र त्यसको आधारमा प्रदेश १ मा ६ वटा प्रतिनिधिसभा क्षेत्र पाउने समेत बताए ।

विराटनगरमा बुधबार संचारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले जित्नेगरी र गुणात्मक रुपमा चुनाव लड्ने तयारी गरिरहेकोले त्यसका लागि आफु सक्षम रहेको बताए । उदयपुरको क्षेत्र नम्बर २ मा आफु चुनाव लड्ने र त्यसका लागि गठबन्धनमा रहेका अन्य पार्टीहरूबीच सम्वाद भइरहेको उनले बताए ।


अघिल्लो निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुरेश राईका विरुद्ध उम्मेदवारी दिएका खतिवडा त्यतिबेला एमाले पोलिट्व्यूरो सदस्य थिए । पार्टीले कारबाही गर्ने भएपछि उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

‘पहिले जितेका क्षेत्रहरुमा हाम्रो त्यसै दाबी छँदैछ, हामीले प्रदेश १ का ६ वटा क्षेत्रमा मेहनत गरिरहेका छौं’ खतिवडाले भने, ‘उदयपुरको २ नम्बर हो मेरो निर्वाचन क्षेत्र, अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रका सुरेश कुमार राईलाई मैले सहयोग गरें, राम्रोसँग जित्नु भएको थियो, यो पटक उहाँहरूले मलाई सहयोग गर्नुहुन्छ भन्ने वातावरण बनिरहेको छ ।’

खतिवडाले गत स्थानीय निर्वाचनमा गठबन्धन त्यति प्रिय नभएको गुनासो गरे । माओवादी केन्द्र र नेपाली कांग्रेसले आफूहरूमाथि राम्रो व्यवहार नगरेपछि त्यसमा पार्टीले आपत्ति जनाएको बताए ।

अहिले भने गठबन्धनबाट धोका नहुनेमा विश्वस्त रहेको बताए । गठबन्धनबीच विश्वास बढेकोले आगामी निर्वाचनपछिको ५ वर्षसम्मै गठबन्धन अघि बढाउने गरी आफूहरू लागिपरेको बताए ।

खतिवडाले कांग्रेसभित्र सबैभन्दा धेरै समूह रहेका कारण त्यसलाई समेत मिलाएर लैजान कोसिस गरिरहेको दाबी गरे । उनले एकीकृत समाजवादी पार्टी नै गठबन्धनको रचनाकार भएको र एमाले बाहेकका सत्ता गठबन्धनभित्र र बाहिरका अन्य कम्यूनिष्ट पार्टीहरूबीचको बाम एकताका पक्षमा आफूहरू सकारात्मक रुपमा अघि बढेको बताए ।


Author

थप समाचार
x