दल

सामाजिक सुरक्षा लागुका लागि रोजगारदाता इमान्दार बन्नुपर्छ- वरिष्ठ उपाध्यक्ष यादव

इकागज |
भदौ २२, २०७९ बुधबार १६:३४ बजे

काठमाडौँ  - नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी लागू गर्न रोजगारदाता इमान्दार बन्नुपर्ने बताएका छन् । युनियनले बुधबार आयोजना गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयनको वर्तमान अवस्थाबारे गोष्ठीमा उनले यस्तो विचार राखेका हुन् । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना नयाँ व्यवस्था भएकोले शुरूमा केही चुनौती आए पनि कार्यान्वयनकालागि सबै पक्षले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । 


यसैगरी श्रम विभागका महानिर्देशक कृष्ण प्रसाद ज्ञवालीले शुरूमा संचय कोषले बचत गर्ने उद्देश्यले आएको स्मरण गराउनु हुँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोषले शुरुमै धेरै राम्रो योजना ल्याएको बताए । ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुँदा सुमधुर औद्योगिक सम्बन्ध स्थापित भई उत्पादकत्व वृद्धिमा समेत टेवा पुर्‍याउने बताए । 

आईएलओ नेपालका निमित्त निर्देशक फ्रेडीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले प्रभावकारी कार्यान्वयन भए नेपाली श्रमिक लाभान्वित हुने बताए । सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिल ज्ञवालीले कोषले अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा समेत योजना लागू गर्न कार्यविधि बनाई छलफलमा रहेको र विराटनगर , सिमरामा कोषको कार्यालय स्थापना गरी सकेको एवं अन्य स्थानहरूमा पनि कार्यालय स्थापना गर्दै जाने बताए । 

ज्ञवालीले कोषको योजना समय सापेक्ष परिमार्जित हुँदै जाने र विषेश सापटी योजना ल्याईसकेको जानकारी दिए । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्की , उपाध्यक्ष एवं आईएलओ गभर्निङ बडि सदस्य आसा सिंह राठोरले सबै श्रमिककालागि योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्नेमा जोड दिए । 

उद्योग  वाणिज्य महासंघका विज्ञ सल्लाहकार हंसराम पाण्डेले सामाजिक सुरक्षाबारे एकले अर्कालाई दोष दिनु भन्दा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताए । ट्रेड युनियन कांग्रेसका शिर्षस्त पदाधिकारीहरु, केन्द्रीय सदस्यहरू, महिला समितिका अध्यक्ष, प्रदेश समिति अध्यक्षहरु एवं आबद्ध संघका अध्यक्षहरु सहभागी रहेको कार्यक्रममा अन्तराष्ट्रिय सामाजिक सुरक्षाबारे विज्ञ आन्द्रे, योगदानमा आधारित सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारी र संचय कोषका पुर्व कार्यकारी अधिकृत विषय विज्ञ  अर्जुन प्रसाद गौतमले सामाजिक सुरक्षाको वर्तमान अवस्था र कार्यदिशाकोबारे कार्यपत्र प्रस्तुत गरेको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए । 


Author

थप समाचार
x