दल

नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागे : प्रचण्ड

इकागज |
भदौ ३०, २०७९ बिहीबार १४:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सच्चाएर आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाउने बताएका हुन् ।

माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आन्तरिक रूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध लाग्ने बताएका हुन् ।


उनले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  

माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको उनको भनाइ छ । प्रचण्डले माओवादी आन्दोलन पुनः एकपटक पुनर्जागृत भएर आउने सम्भावना रहेको जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागेको अनुभूत भएको उनको भनाइ छ ।

त्यस्तै उनले टिकटका बारेमा पार्टीले निर्णय गरिसकेपछि सम्पूर्ण पार्टीको प्रतिनिधित्व हुने भएकाले गम्भीरताका साथ लिन पनि आग्रह गरे । 


Author

थप समाचार
x