दल

प्यूठानमा जनमोर्चा भर्सेज एमाले : पौडेललाई हराएर संसद् छिर्ने दाउमा थापा

कमल विष्ट |
कात्तिक ७, २०७९ सोमबार १२:११ बजे

आगामी मंसिर ४ को चुनावमा प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा विभिन्न दल र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएका छन् । तर, यहाँ मुख्य प्रतिस्पर्धा भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाबीच हुने आँकलन गरिएको छ । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार पौडेल र थापाबीचको यो भिडन्तमा को विजयी होला भन्ने धेरैको चासो छ । 

यहाँ रोचक के छ भने २०७४ को निर्वाचनमा थापाले जसलाई जिताउन अहम् भूमिका खेलेका थिए, अहिले उनैलाई हराउन भरमग्दुर प्रयासमा छन् । अर्थात् थापा आफ्नी मुख्य प्रतिस्पर्धी पौडेललाई हराएर संसद् छिर्ने दाउमा छन् । यता पौडेल आफूले त्यतिबेला जुन पार्टीका उम्मेदवारलाई हराएकी थिइन्, अहिले त्यही पार्टीको सहयोगमा चुनाव जित्ने आशमा मैदानमा उत्रिएकी छन् । अर्थात् पौडेल यसपटक नेपाली कांग्रेसको मुख्य सहयोगमा तेस्रोपटक सांसद बन्ने कसरतमा छिन् । 


पौडेलले गत निर्वाचनमा कांग्रेसका डा. गोविन्दराज पोखरेललाई हराएकी थिइन् । उनले ४७ हजार ५ सय १४ मत पाएकी थिइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । उनले २०७० को निर्वाचनमा जनमोर्चाबाट समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेकी थिइन् । 

प्यूठान जनमोर्चाको आधार जिल्ला मानिन्छ । पछिल्ला पाँच निर्वाचनमध्ये जनमोर्चाले तीनटा जितेको छ । एमाले भने एकपटक मात्र विजयी भएको छ । एमाले २०७० को निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा विजयी भएको थियो । 

यस्तो छ स्थानीय निर्वाचनको मतपरिणाम
एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा ९ वटा स्थानीय तह छन् । तीमध्ये ऐरवती, गौमुखी, झिमरुक, नौवहिनी, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका हुन् भने प्यूठान र स्वर्गद्वारी चाहिँ नगरपालिका हुन् । गत वैशाख ३१ को स्थानीय तह निर्वाचनमा ९ पालिकामध्ये कांग्रेसले ३ को प्रमुख र ४ को उपप्रमुख जित्दै पहिलो दल बनेको छ । दोस्रो हुने माओवादी केन्द्रले ३ को प्रमुख र १ को उपप्रमुख जितेको छ ।  

त्यस्तै, एमालेले २ को प्रमुख र २ को उपप्रमुख जित्दै तेस्रो दल बनेको छ भने जनमोर्चा १ को प्रमुख र २ को उपप्रमुखमा विजयी हुँदै चौथो पार्टी हो । वडामा पनि कांग्रेस पहिलो दल हो । ९ पालिकाका कुल ६४ वटा वडामध्ये कांग्रेसले २० वडा जित्दै प्रथम पार्टी बनेको छ । एमाले १९ वडा जित्दै दोस्रो दल हो । त्यस्तै, माओवादी केन्द्र १३ र जनमोर्चा १० वटा वडामा मा विजयी हुँदै क्रमश: तेस्रो र चौथो स्थानमा छन् । यहाँ स्वतन्त्र उम्मेदवारले २ वटा जितेका छन् । 

वडागत मतमा भने एमाले पहिलो दल हो । एमालेले कुल ६४ वडाबाट ३९ हजार ८ सय ७७ मत पाएको छ । कांग्रेसले २१ हजार ३ सय ३१ मत ल्याएर दोस्रो पार्टी बनेको छ । त्यस्तै, माओवादी केन्द्र १७ हजार १ सय ६३ मतसहित तेस्रो र जनमोर्चा १३ हजार ६ सय १५ मतसहित चौथो दल हो । नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाएको छ । 

एमाले वडागत मतमा शीर्ष स्थानमा भए पनि सत्तारुढ गठबन्धनभन्दा पछाडि नै छ । पाँच दलीय गठबन्धनको ५३ हजार ५ सय २६ मत छ । जुन एमालेको भन्दा १३ हजार ६ सय ४९ मतले धेरै हो । एमाले एक्लै बलियो भए पनि गठबन्धनविरुद्ध जित निकाल्न चुनौती देखिन्छ । 

दुवैका आआफ्नै दाबी 
प्यूठानमा डा. पोखरेल दोहोरिन चाहेका थिए । त्यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवासँग अनुरोध पनि गरेका थिए । तर, देउवाले शेखर कोइराला प्यानलका उनलाई टिकट दिएनन् । यसै कारण प्यूठानमा केही नेता तथा कार्यकर्ता नेतृत्वप्रति असन्तुष्ट मात्र छैनन्, उनीहरूले सार्वजनिक रुपमै गठबन्धनको उम्मेदवारलाई सहयोग नगर्ने चेतावनीसमेत दिएका छन् । माओवादीले पनि आफ्नो उम्मेदवार नभएपछि पौडेललाई भोट नदिने अनुमान गरिएको छ । यसको प्रत्यक्ष–परोक्ष लाभ थापालाई पुग्ने देखिन्छ । 

तर, पौडेल भने गठबन्धनका सम्पूर्ण घटकको मत आफूले पाउनेमा विश्वस्त छिन् । उनी अहिले त्यो असन्तुष्टि नरहेको र सबैले आफ्ना लागि भोटसमेत मागिरहेको बताउँछिन् । ‘टिकटका लागि हरेक पार्टीमा विद्रोह हुन्छ । टिकट जसैगरी पनि आफूले पाउनुपर्छ भन्दै असन्तुष्टिहरू पोखिन्छन् । लोकतन्त्रमा यसलाई अन्यथा मान्नु हुँदैन,’ पौडेलले भनिन्, ‘तर, टिकट वितरण भइसकेपछि त्यो असन्तुष्टि थेग्रिएर जान्छ । पार्टी र गठबन्धनको अस्तित्वका लागि सबैले साझा उम्मेदवारलाई भोट माग्न थाल्छन् ।’

चुनावी अंकगणितमा जनमोर्चा एमालेभन्दा पछाडि भए पनि गठबन्धनको साथ भएकाले जितमा विश्वस्त छ । ‘जनमोर्चाले यहाँ एक्लै चुनाव लडिरहेको हुन्थ्यो भने चुनावी अंकगणितलाई मान्न सकिन्थ्यो । तर, म पाँच दल सम्मिलित गठबन्धनकी साझा उम्मेदवार हुँ । मैले पाँच दलको भोट पाउँछु,’ उनले भनिन्, ‘नागरिकहरूले पनि मलाई स्वीकारिसक्नुभएको छ ।’

आफू महिला उम्मेदवार भएकाले पनि प्यूठानीहरूको साथ र सद्भाव आफूलाई रहेको उनले जिकिर गरिन् । उनले कोभिड, बाढी–पहिरो, आगलागी लगायत विपद्मा आफू सधैँ प्यूठानी नागरिकको साथमा रहेको र यो कुरा प्यूठानीहरूले राम्रोसँग बुझेको उनको भनाइ छ । सांसद् हुँदा जिल्लाका लागि आफूले सकेको गरेको पनि उनले बताइन् । थापालाई कम्तिमा पनि १२ हजार मतान्तरले जित्ने उनको दाबी छ । 

यता थापालाई पनि थुप्रै चुनौती छन् । उनका लागि सबैभन्दा ठूलो चुनौती भनेको गठबन्धन नै हो । गठबन्धन एमालेभन्दा १३ हजार बढी मतले अगाडि छ । थापाले जित्नका लागि उक्त निर्वाचनमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र तटस्थ मतदातालाई रिझाउन सक्नुपर्ने छ । पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टि थापाका लागि अर्को मुख्य चुनौती हो । 

तर, थापा भने आफूले यी चुनौती सजिलै चिर्ने बताउँछन् । पौडेलले पटकपटक अवसर पाउँदा पनि प्यूठानका लागि केही नगरेकाले नागरिकहरू उनको विकल्प खोजिरहेको थापा बताउँछन् । यतिमात्र होइन, पौडेलसँग कमरेड मोहनविक्रम सिंहकी पत्नी हुनुबाहेक अरु कुनै क्षमता तथा योग्यता नभएको थापाको भनाइ छ । गत निर्वाचनमा पनि पौडेलले एमालेको मत पाएर जितेको उनले जिकिर गरे । 

‘यसपालि उहाँले न एमालेको मत पाउनुहुन्छ, न त कांग्रेस र माओवादीको । उहाँलाई भोट हालेर जिताउनु कांग्रेसका लागि आत्मघाती हुनेछ भन्ने कांग्रेसका साथीहरूले बुझिसक्नुभएको छ । माओवादीले पनि उहाँलाई खुलेरै सहयोग गर्ने देखिँदैन,’ थापाले भने । 

थापाले अगाडि भने, ‘हामीले स्थानीय तह निर्वाचनमा दुई वडा माओवादीलाई छाडिदिएका थियौँ । यसो हुँदा हामी गठबन्धनभन्दा वास्तविक रुपमा ९ हजार ४३ मतले मात्र पछाडि छौँ । यो अन्तरलाई घटाउन हामी चुनाव सकिएलगत्तै लागिसकेको छौँ ।’

प्यूठानमा २३ हजार तटस्थ मत भएको र त्यसलाई आकर्षित गर्न आफूहरू व्यवस्थित रुपमा नागरिकमाझ गएको उनको भनाइ छ । उनले एमालेभित्र अहिले कुनै पनि किसिमको असन्तुष्टि र विवाद नभएको प्रष्ट्याए । ‘चुनावयता प्यूठानको स्थिति धेरै बदलिसकेको छ । आन्तरिक विवाद र बागी उम्मेदवारलगायत समस्या अहिले सुल्झिसकेका छन्,’ उनले भने । नागरिकले आफूलाई विकल्पका रुपमा समेत हेरेको उनले दाबी गरे । पौडेलेलाई आफूले प्रतिस्पर्धी नै नमानेको र उनलाई राम्रो मतका साथ जित्ने थापाले बताए ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x