दल

कैलाली-३

दुई पूर्वसहकर्मीबीच रोचक भिडन्त

दीपक उपाध्याय |
कात्तिक २१, २०७९ सोमबार १२:५३ बजे

कैलाली - तत्कालीन नेकपा माओवादी गरेको १० वर्षे सशस्त्र जनयुद्धका क्रममा कृष्ण चौधरी ‘कुन्दन’ पार्टीको सांगठनिक र गौरीशंकर चौधरी सैन्य मोर्चामा थिए । पार्टीको फरक मोर्चामा भए पनि एउटै जिल्ला र क्षेत्रबासी उनीहरूबीच बेलाबेला भेटघाट भइरहन्थ्यो ।

माओवादी शान्ति प्रकृयामा आएपछि कुन्दन कैलालीको तत्कालीन क्षेत्र नम्बर ४ बाट २०६४ सालको संविधान सभा सदस्यको उम्मेदवार बने । उनलाई चुनाव जिताउन अग्र मोर्चामा खटिनेमध्ये एक थिए गौरीशंकर । कुनैबेला एउटै पार्टीका सहकर्मी उनीहरू यतिबेला भने प्रतिस्पर्धी बनेका छन् ।
 
कैलाली क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट कुन्दन र नेकपा एमालेबाट गौरीशंकर प्रतिस्पर्धमा छन् । कुनैबेला एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका यी दुई नेताबीच प्रतिस्पर्धा रोचक हुनेछ । 


नेकपा खारेज भएपछि गौरीशंकर माओवादी छोडेर एमालेतिर लागेका हुन् । संविधान जारी भएपछि बाबुराम भट्टराइसँगै माओवादी छोडेका कुन्दन केही महिनाअघिमात्रै पुरानै घर फर्केका हुन् । दुवै जना आ-आफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् ।

गौरीशंकर २०७० र २०७४ को चुनावमा माओवादीबाट यहीँ क्षेत्रबाट प्रतिनिधि सभामा विजयी भएका थिए । २०७४ मा वामगठबन्धनको सहारामा उनले पूर्वमन्त्री एवम् काँग्रेस नेता रामजनम चौधरीलाई पराजित गरेका थिए । 

नेकपाको नामसम्बन्धी मुद्दामा अदालतले एमाले र माओवादी ब्यूँताएपछि केही समय माओवादीमै रहेका उनी माओवादीसहितका दलले प्रतिनिधि सभा विघटनविरुद्ध त्यतिबेला गरेको आन्दोलनमा पनि केही समय देखिएका थिए । आन्दोलनमा सहभागी भएकै बेला उनी एमालेमा प्रवेश गरेका थिए । एमालेतिर लागेका चौधरीको सांसद पद गुमेको थियो ।

आफू विगतमा मन्त्री र सांसद हुँदा आफ्नो निर्वाचन क्षेत्रमा गरेका कामले जनताले आफूलाई विजयी गराउने गौरिशंकरको विश्वास छ । तीन दलको गठबन्धन भए पनि जनताले यो क्षेत्रको विकासका लागि आफूले खेलेको भूमिकाको मूल्यांकन गर्ने उनले बताए । 

आफू कृषि मन्त्री हुँदा प्रधानमन्त्री कृषि आधुनिकारण परियोजना कार्यक्रम यही क्षेत्रबाट सुरुवात गरेको बताउँदै गौरीले यहाँको सडक, बाटोघाटो, पुलपुलेसा निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेकोले मतदाताले आफूलाई मत दिएर विजयी गराउने बताए । 

कैलालीको क्षेत्र नम्बर ३ मा द्वन्द्वकालदेखिनै माओवादीको बलियो प्रभाव रहँदै आएको छ । २०६४ यताका हरेक चुनावमा यहाँबाट माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । २०७० को निर्वाचनमा सुदूरपश्चिमभरि प्रत्यक्षतर्फ माओवादीले यो क्षेत्रमामात्र चुनाव जितेको थियो । 

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने यहाँ माओवादीले अपेक्षित परिणाम ल्याउन सकेन । तीनै तहमा पालिकाको नेतृत्वमा माओवादी आएन । निर्वाचित जनप्रतिनिधिलाई दोहोर्‍याउँदा उनीहरूप्रतिको असन्तुष्टि यसपटक हारको कारण रहेको माओवादीको निष्कर्ष थियो । 

२०६४ को संविधान सभा निर्वाचनमा यहीँ क्षेत्रबाट निर्वाचित भएका कुन्दनलाई यसपालि माओवादीको विरासत फर्काउने चुनौती छ । माओवादीको आफ्नै बलियो प्रभाव हुनु र गठबन्धनसमेतको सहारामा उनको जीत सहज देखिन्छ । यद्यपि उम्मेदवारको व्यक्तित्व, पार्टीभित्रको असन्तुष्टि, चुनावी मुद्दा, जातीय, भेगीयजस्ता कारणले प्रभाव पर्ने भएकाले चुनावको परिणाम पूर्व आँकलनअनुसार नआउन सक्छ ।

जनप्रतिनिधि र राजनीतिकर्मीका रूपमा यो क्षेत्रको विकासमा आफूले खेलेको भूमिका, इमान्दार राजनीतिज्ञको रूपमा बनाएको छवि, पार्टीको संगठन र गठबन्धन आफ्नो जित्ने आधार भएको उनले बताए । ‘स्थानीय तहको चुनावको तथ्यांक हेर्ने हो भने हाम्रो प्रतिस्पर्धीनै कोही छैनन् । यो क्षेत्रका २६ मध्ये २० वटा वडामा गठबन्धनले जितेको छ । जसपाको एक वडाध्यक्षले पनि हामीलाई समर्थन गर्नु भएको छ,’ उनले भने, ‘यसबाहेक यहाँको विकासमा मेरो पनि केही योगदान छ ।’

त्यस्तै यो क्षेत्रमा केहि समयअघि मात्रै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीको पनि प्रभाव छ । उक्त पार्टीबाट गंगा चौधरी उम्मेदवार छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा काँग्रेसले १९ हजार ९९२, माओवादीले ११ हजार ७१६ र एमालेले ११ हजार २३९ मत पाएका थिए । त्यस्तै राप्रपाले छ हजार ६९९, नागरिक उन्मुक्तिले पाँच हजार २४७ र एकीकृत समाजवादीले दुई हजार ३८ मत पाएका थिए ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x