दल

मोरङ-१ : हारजितको लुकामारीमा डिकबहादुरले मारे बाजी

बाबुराम भण्डारी |
मंसिर ११, २०७९ आइतबार ७:१९ बजे

विराटनगर - २०७० को दोस्रो संविधानसभा निर्वाचनयता तीनपटक आमनेसामने भए डिकबहादुर र घनश्याम । तत्कालीन मोरङ क्षेत्र नम्बर ९ पर्ने निर्वाचन क्षेत्रबाट डिकबहादुरले एमालेका नेता घनश्याम खतिवडालाई पराजित गर्दै संविधानसभा सदस्य बने ।

अहिले नेपाली कांग्रेस मोरङको सभापति रहेका डिकबहादुर लिम्बुलाई २०७४ को आमनिर्वाचनसम्म आफ्नो क्षेत्रमा साख जोगाइराख्न सजिलो भएन । उनी खतिवडासँगकै दोस्रो चुनावी भेटमा ६ हजार ८८ मतले पराजित हुन पुगे ।


शिक्षण पेशाबाट राजनीतिमा उदाएका दुवैजनाले संसदीय राजनीतिमा पालैपालो हारजितको स्वाद चाखे । तर उनीहरूबीच नयाँ प्रतिस्पर्धी ननिस्किँदा यो निर्वाचन दुवैलाई जाँचिने तेस्रो अवसर बन्यो ।

मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट उनीहरू एकअर्कासँगको दोस्रो जितको खोजिमा निस्किए । निर्वाचन अधिकृतको कार्यालयले चार दिन लगाएर परिणाम निकाल्दा एमालेका घनश्याम गणनाको अन्तिमतिरमात्रै पछि परे ।

कांग्रेसका डिक बहादुरले अघिल्लो पटकको आफ्नो हारको स्वाद ४३० मत बढी ल्याएर यो पटक घनश्यामलाई चखाएका छन् । डिक बहादुरले २७ हजार २९७ मत प्राप्त गरेका छन् । खतिवडाले २६ हजार ८६७ मत पाएका हुन् । डिकबहादुरको जितसँगै मोरङका ६ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । अन्तिम परिणाम अनुसार मोरङमा कांग्रेसले प्रतिनिधिसभाका तीन र प्रदेशसभाको पाँच सिट सुरक्षित गरेको छ ।

कांग्रेसबाट मोरङ–१ मा डिकबहादुर लिम्बुसहित मोरङ–३ मा सुनिल शर्मा र मोरङ–६ मा डा.शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ मान बहादुर लिम्बु ३ (१), भीम पराजुली ४ (२), गयानन्द मण्डल गनगाई ५ (१) र अमृत कुमार अर्याल ५ (२) निर्वाचन क्षेत्रमा निर्वाचित भएका छन् । एमालेले प्रतिनिधिसभातर्फ मोरङ–२ मा जित दर्ता गरेको छ । एमाले मोरङका अध्यक्ष समेत रहेको ऋषिकेश पोखरेल त्यहाँबाट निर्वाचित भएका हुन् । प्रदेशसभामा उमाकान्त गौतम १ (१), खड्ग बहादुर बस्नेत १ (२), लिलाबल्लभ अधिकारी २ (२), ज्ञानेन्द्र सुवेदी ३ (२) र जयप्रकाश चौधरी ४ (१) मा एमालेबाट निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ अमनलाल मोदी र प्रदेशसभामा गणेश उप्रेती २ (१) र जीवन आचार्य ६ (१) मा निर्वाचित भएका छन् । प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ–५ बाट चुनिएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x