दल

सात वर्षपछि प्रचण्ड-बाबुरामको पुनर्मिलन हुँदै : 'माओवादी' झिकेर 'समाजवादी' भित्र्याउने तयारी

कमल विष्ट |
पुस २४, २०७९ आइतबार १४:१० बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच छिट्टै एकता गर्ने गृहकार्य अगाडि बढेको छ । एकता पहलकै लागि माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । नेसपाले पनि समाजवादी ध्रुवीकरणका लागि वार्ता टोली बनाउँदै छ । त्यसका लागि नेसपा राजनीतिक समितिको बैठक जारी छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई पार्टी एकता सकेसम्म छिटो गर्ने योजनामा छन् । त्यसका लागि दुवै अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ । वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले दुई दलबीच छिट्टै एकता हुने इकागजलाई बताए । ‘टोलीका संयोजक कृष्णबहादुर महराजीको नेतृत्वमा छिट्टै बैठक बसेर कार्ययोजना बनाउने गृहकार्य हुँदैछ ।’


माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार भट्टराई एकता छिट्टै हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् । ‘चुनाव सकिएको दुई महिना बित्न लागिसक्यो । संघ र प्रदेशमा सरकार बनाउने काम पनि अगाडि बढिसक्यो । अब हामीले एकता गर्न थप ढिला गर्नु हुँदैन,’ भट्टराईलाई उद्धृत गर्दै ती नेताले भने ।

९ असोज २०७२ मा माओवादी परित्याग गरेका भट्टराई सात वर्षपछि ‘घर’ फर्किने क्रममा छन् । घर फर्कँदा उनको स्थान के हुन्छ भन्ने धेरैको चासो छ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार उनले वरिष्ठ नेता वा सम्मानित नेताको भूमिका पाउने छन् । वरीयताक्रममा भट्टराई दोस्रो स्थानमा रहने छन् ।

उनलाई दोस्रो वरीयता दिने विषयमा पार्टीमा असन्तुष्टि नरहेको पनि ती नेताले बताए । भट्टराईले यही पद पाउनुपर्छ भनेर दाबी नगरेको उनको भनाइ छ । ‘उहाँले यही पद पाउनुपर्छ भनेर शर्त राख्नुभएको छैन,’ एकताका विषयमा छलफल गर्न हालै बसेको बैठकमा सहभागी ती नेताले बताए ।

तर, भट्टराईले पार्टीको नाम परिवर्तन गर्नुपर्ने मत चाहिँ राखेका छन् । यद्यपि पार्टीको नामबाट ‘नेकपा’ नहटाउने कुरामा भने उनी सहमत छन् । ‘उहाँले नेकपा ठीकै छ, तर माओवादीको ठाउँमा चाहिँ समाजवादी वा अर्को केही राख्नुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ,’ ती नेताले भने ।

पार्टीको नामबाट ‘माओवादी ’झिक्ने कुरामा पार्टीमा असन्तुष्टि नरहेको ती पदाधिकारीको भनाइ छ । ‘समाजवादी राख्दा यसले अरुलाई पनि आकर्षित हुने भएकाले कसैले विरोध जनाएका छैनन्,’ उनले भने, ‘यसो हुँदा अन्य दलसँग एकता गर्न पनि सजिलो हुन्छ ।’

सात वर्षअघि ‘कम्युनिस्ट सिद्धान्त’ले नेपाललाई निकास दिन नसक्ने भन्दै भट्टराईले माओवादी परित्याग गरेका थिए ।

माओवादी केन्द्र र माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच पनि एकता प्रक्रिया अगाडि बढेको छ । ‘एकीकृत समाजवादीले जहिले चाह्यो, हामी एकता गर्न तयार छौँ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले इकागजसँग भनेका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताका लागि स्थानीय तहको निर्वाचनदेखि नै गृहकार्य भइरहेको थियो ।

यता, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा), नेपालबीच पनि एकता प्रक्रिया अगाडि बढेको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूबीच एकताका लागि छलफल भइरहेको बताएका थिए ।

वामपन्थी एकताको अगुवाइ गर्न एकीकृत समाजवादीले गत बिहीबार पार्टी महासचिव वेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । सिद्धान्त र विचार मिल्न विभिन्न पार्टीसँग सहकार्य गर्न र एकता गर्न जसपाले पनि बुधबार वार्ता टोली गठन गरेको छ । तीन सदस्यीय उक्त वार्ता टोलीको संयोजन राजेन्द्रप्रसाद श्रेष्ठले गरिरहेका छन् ।

माओवादी केन्द्र, नेसपा, एकीकृत समाजवादी र जसपा अन्तिममा एक ठाउँमा आउने चर्चा यतिबेला राजनीतिक वृत्तमा छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x