दल

मिनेन्द्रको प्रश्‍नमा गगनको जवाफ : बिदाका नाममा अराजकता अति भयो, ऐन बनाउन दबाब बढाऔँ

इकागज |
फागुन १, २०७९ सोमबार १४:८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसकामहामन्त्री गगन थापाले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन माग गरेका छन् । जनयुद्ध दिवसमा दिइएको सार्वजनिक बिदाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला महामन्त्री थापाले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको भन्दै ऐन बनाउन माग गरेका हुन् ।

प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण रहेको भन्दै यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज र सार्वजनिक बिदाका नाममा यो अराजकता भएको टिप्पणी गरेका छन् । 'यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ,' उनले लेखेका छन्, 'न्युजिल्यान्ड, जापानलगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदासम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।'


यसअघि कांग्रेस नेता मिनिनेद्र रिजालले वृहत् शान्ति सम्झौता र नेपालको संविधानको मर्मविपरीत सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको भन्दै कांग्रेसको धारणा माग गरेका थिए । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहित प्रवक्ता प्रकाशरण महतलाई मिनेन्द्रको प्रश्न थियो, 'एमालको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित "जनयुद्ध दिवस" बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।'

सरकरले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

 


Author

थप समाचार
x