दल

कांग्रेस सधैं मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता महत

इकागज |
फागुन ८, २०७९ सोमबार १४:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैं मजदुरको पक्षमा उभिने बताएका छन् । नेपाल यातायात मजदुर संघसँग आबद्ध रहेको नेपाल पर्यटन श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैं मजदुरको पक्षमा उभिने बताएका हुन् ।

'कांग्रेसले सधैं मजदुरको पक्षमा काम गर्छ, अरु दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, कांग्रेस सधैं मजदुरको पक्षमा छ, काम गर्छ,' उनले भने । प्रवक्ता डा महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए ।


उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि कांग्रेसले काम गर्ने उल्लेख गरे ।

मजदुरको पक्षमा कांग्रेस सधैं अगाडि बढ्ने उनको भनाइ थियो । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग कांग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गरे । पर्यटन मजदुरको समस्या समाधान गर्न बागमती प्रदेशले भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल यातायात मजदुर संघका पूर्वअध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । 'नेपाल ट्रेड युनियन कांग्रेसले अगाडि सारेको अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल थाल्नुपर्छ,' उनले भने ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पार्टी र सरकारले भूमिका खेल्नुपर्ने बताए । विसं २०६६ मा स्थापना भएको नेपाल पर्यटन श्रमिक संघमा हाल देशभर एक हजार ४०० पदयात्रा, आरोहण, जलयात्रा, ‘टुर’, जङ्गल सफारी गाईडलगायत आबद्ध रहेको संघका अध्यक्ष कपिल पाण्डेले जानकारी दिए ।


Author

थप समाचार
x